प्रेम, परिश्रम र प्रगतिको कहानी

मायाको कथा

गौरीशंकर भण्डारी

एक विकट गाउँमा एउटा परिवारको घर थियो । परिवारमा दुइ छोरा, तीन छोरी, बाबुआमा गरी ७ जना थिए । बाबुआमा आफ्ना सन्ततिको चिन्ता गरिरहन्थे । छोराछोरीको पढाइलेखाइमा सहयोग गरी उनीहरुलाई शिक्षित र सक्षम बनाउन प्रयत्नशील भैरहन्थे । घरको काम सबै आफै गर्दथे । छोराछोरी पनि पढाइमा असाध्य लगनशील थिए ।

उनीहरुको नाम यस प्रकार थियोः
१. छोराः दिपक (२४)
२. छोरीःशारदा (२१)
३. छोरीः सुमित्रा (१६)
४. छोराः सुमन (१२)
५. छोरीः गायत्री (९, शारीरिक अपाङ्ग छिन्)

पहाडको ठाउँ । स्कुल टाढा थियो । दिपकले गाउँबाट एसएलसी पास गरेर काठमाडौमा कलेज पढिरहेका छन् । प्राइभेटमा नोकरी पनि गर्दछन् । शारदा, सुमित्रा र सुमन गाउँमै पढ्दछन् । गायत्रीको एउटा खुट्टा छैन । उनी टाढाको स्कुलमा जान सक्दिनन् । अन्य ४ जना छोराछोरी गाउँकै स्कुलमा राम्रै पढ्दै छन् ।

आमाबाबुलाई गायत्रीको चिन्ता धेरै छ । एक दिन जेठो छोरा दिपक काठमाडौबाट घर आएका थिए । आमाबाबु काममा ब्यस्त । घरमा गायत्री मात्र थिइन् । दाजु काठमाडौबाट आका बेला गायत्री भन्छिन्, दाजु म कसरी पढ्नु ? मलाई पढन मन छ । बेलुका भयो ३ जना भाइबैनी स्कुल र कलेजबाट आए, आमाबाबु मेलाबाट ।

घरमा पारिवाका सबै सदस्य भेला भए । बेलुका परिवारको मिटिङ भयो । सबैले गायत्रीको बारेमा चिन्ता गरे । दिपकले भने, ‘गायत्रीलाई म काठमाडौ लगेर पढाउँछु ।’ दिदीदाजु खुसी भए । आमाबाबुले भने, ‘खेतीबाट आएको धानको चामलले हामीलाई खान पुग्छ । गायत्रीलाई काठमाडौ लगेर पढाउछौ भने घरमा हामी दुख गरेर मकै कोदोको हलुवा बनएर खाएर भए पनि चामल तिमीहरु दुईलाई पठाउँछौ । त्यति गर्दा बैनी पढाउन सक्छ भने काठमान्डौ लैजा ।’

परिवारको सहमति अनुसार गायत्रीलाई दिपकले काठमाडौ संगै लिएर आए अनि नजिकैको एउटा बोर्डिङ्ग स्कुलमा पढाउने विचार गरी गायत्रीको नाम लेखाइ दिए । गायत्रीको पढाई राम्रो छ भनेर स्कुलका शिक्षकहरुले दिपकलाई सुनाउन थाले । दिपक बैनीको राम्रो खबर पाउँदा खुसी भए । उता घरमा शारदाले १२ पास गरिन् । उनी पनि काठमाडौ गएर नर्सिङ बिषय पढ्छु भनेर आमाबाबुसँग भन्थिन् । आमाबाबु पनि छोराछोरीको भविष्यको लागि नुनको ढिक्का चुसेर भए पनि पढाउन तयार । छोराछोरी पनि सज्जन । पढ्नमा ट्यालेन्ट पनि । नर्सिङ पढने सोचले शारदा काठमाडौ गइन् ।

काठमाडौमा पहिलो बर्षमै शारदाले नर्सिङ क्याम्पस टप गरिन् । र, कलेजले फिस मिनाहा गरिदियो । उता गाउँमा सुमित्राको १२ कक्षाको रिजल्ट आउँन बाँकी । काठमाडौमा गायत्रीले नौ कक्षा पास गरिन् । गायत्रीले पनि स्कुल टप गरेर आफ्नो रेकर्ड बनाई ।

अपांगलाई सहयोग चाहिन्छ भनेर घर नजिकैको बस्ने युवकले सधै गायत्रीलाई स्कुल जाँदा स्कुलको गेटसम्म नै जान आउन सहयोग गर्छन् । त्यो मान्छे कस्तो हो थाहा छैन भनेर एक दिन दाजु दिपकसँग गायत्रीले कुरा गरिन् । तर उनको कुरालाई दिपकले त्यति महत्व दिएनन् । गायत्रीकी ठुली दिदीले नर्सिङ सकेर दिदी बैनी घरैमा थिए ।

गाउँमा सापकोटा बाजेका छोराछोरीको चर्चा परिचर्चा हुन्छ । सापकोटा बाजेका छोराछोरीले राम्रै उच्च शिक्षा अध्ययन गरेर गाउँकै नाम राखे भनेर गाउँलेहरु पनि उनीहरुको धेरै प्रसंसा गर्दछन् । गाउँलेका कुरा सुनेर सापकोटा दम्पती ज्यादै प्रफुल्ल भै छोराछोरीको सरनी गाउँथे, हामी छोराछोरीबाट सारै सफल भएछौ । किनकि छोराछोरी शिक्षित भएकोमा कुन अभिभावक खुसी नहोला ?

उनीहरु सबैको राम्रो हुने भयो । गायत्रीको चै चिन्ता धेरै छ । सापकोटा परिवार कान्छी छोरीको धेरै चिन्ता गर्दछन् । किनभने उनी अपांग छिन् । तर, पढाइ राम्रो छ । उनलाई पनि उच्चशिक्षा हाँसिल गराउन सके धेरै राम्रै हुने थियोे ।

काठमाडौमा गायत्रीलाई एउटा युवकले मन पराएको कुरा दाजु दिपकलाई थाहा भैसकेको छ । यस बिषयमा दिपकले पितामातालाई सुनाएको थिएन । एक दिन गायत्रीको बिषयमा सुनाउँदा आमाबाबु खुसी भए । कान्छी राम्री छन् तर के गर्नु उनी कमजोर हुँदा हामीलाई चिन्ता उनैको छ । दिपक भन्छन्, ‘कान्छीलाई मन पराउने युवक म पनि चिन्छु ।’

शारदालाई नि असल र राम्रो घरबाट कुरा आउदै छ भन्दै हुनुहुन्थ्यो आमा । त्यहि मौकामा गैरघरे ठुल्दाइ शारदाको विवाह गर्ने होइन भनेर सोध्दै घरमा आए । दिपकले भने, ‘काका राम्रो आए विचार गर्नु पर्छ । अध्ययन गरिसकिन् । विवाहको कुरा सोधौला अनि विचार गर्नु पर्छ ।’

छिमेकी काका भन्छन्, ‘दिपक बाबुको विवाह गरेको थाहा नै नपाइ दुइटा भुरा भैसके छन् । यो के हो दिपक बाबु <‘

‘काका, मेरो विवाह काठमाडौबाटै भए पनि भाइबहिनीको विवाह घरैबाट हुन्छ अनि रमाइलो गरौला हुन्न र !’

छिमेकीहरु पनि असल छन् । कुरै कुरामा ठुली छोरी शारदाको बारेमा कुरा गर्न कुटुम्बले काठमाडौबाट खबर पठाए । उमेर पुगेर अध्ययन पनि सकेर घरमा बसिरहेककी छोरीलाई विवाहको कुरा आयो ठिकै छ भनी दिपक र सापकोटा बाजे शहर जाने भए ।

कुटुम्बले महाराजगञ्जको एउटा रेष्टुरेन्टमा बसेर चिया कफि खाउन भने ।

दिपक, उनकी श्रीमती र सापकोटा बाजे महाराजगञ्ज गए । कुटुम्बसँग भेटघाट भयो । कुटुम्ब त चिनेकै पो रहेछ । सजिलो भयो । विवाहका कुरा अगाडि बढाउन दुवै पक्ष राजी भएपछि कुरा छिनियो । विवाहको तिथिमिति तोकियो । शारदाको विवाह धुमधामसाथ सम्पन्न भयो । विद्यार्थी भिसा लागेर आउने महिनाको अन्तिम साता शारदा र ज्वाईंसाप १० बर्षको लागि अमेरिका जाने भए । बैनी सुमित्राको अस्ट्रेलिया र भाइ सुमन क्यानडाको भिसा लाग्यो ।

अब आयो कुरा गायत्रीको । घरसल्लाह अनुसार पल्लोघरमा बस्ने भाइ खासा ब्यापार गर्दा रहेछन् । उनले गायत्रीलाई मनपराएकै हुन् । उनी माग्न आए भने छोरी दिने बिषयमा घरायसी छलफल भयो । उक्त कुरा गायत्रीलाई मनपराउने युबाको कानमा गायत्रीले नै पुर्याइ छन् । उनी माग्न आए ।

केही महिनामा विवाह सम्पन्न भयो । एक बर्षमै बच्चा भयो । बच्चा १ बर्ष को भएपछि घरमा खटपट सुरु भयो । सासु, ससुरा, नन्द, आमाजुले गायत्रीलाई मन पराउन छाडे । गायत्री एक्लै बस्न थालिन् । गायत्रीको कोखबाट जन्मेको छोरा पनि घरकाले नै लगे ।

गायत्रीसँग कला थियो । त्यसैलाइ युज गरेर जिविकोपार्जन गर्न थालिन् । अदालतमा डिभोर्सको मुद्दा चल्यो ।

अमेरिकामा दिदीको आर्थिक अवस्था अत्यन्त राम्रो । दिदी शारदाका छोराछोरी भइसकेर उनीहरु पनि साना साना कक्षामा पढ्ने भइसके ।

अष्ट्रेलियामा सुमित्राले आफै विवाह गर्न आमाबाबुलाई उतै बोलाइन् । सापकोटा दम्पती माइली छोरीको विवाह सम्पन्न गराउन अष्ट्रेलिया जाने भए । दिपकका परिवारले पनि आमाबाबु अष्ट्रेलिया जान पाउँदा खुसी भए ।

दिदी शारदा र भिनाजु अमेरिका र भाइ सुमन क्यानडाबाट साथै आमाबाबु नेपालबाट सुमित्राको विवाहमा अष्ट्रेलिया जम्मा भए । सुमित्राको विवाह अष्ट्रेलियामा धुमधामसँग सम्पन्न भयो । आमाबुवा क्यानडा, अमेरिका हुँदै एक बर्षमा काठमाडौ आइपुगे । दिपकले काठमाडौमा घर बनाइसकेको थियो ।

गायत्रीको छोडपत्र फैसला भइसकेको थियो । आआफ्नो गरी खाने गरी अदालतको फैसला आइसकेको थियो । गायत्रीले आफ्नै किसिमको जीवन जिउन थालिसकेकी छिन् । उनीसँग कला र गला साथै अभियान क्षमता थियो । त्यहि क्षमतालाई निरन्तरता दिएर अगाडि बढिन् । र, आफ्नो जीवनलाई आर्थिक उन्नतिको मार्गमा पुर्याएर नै अगाडि बढिन् । उता सासु, ससुरा र नन्द आमाजु साथै छोडपत्र गरेर बसेका श्रीमानको आर्थिक अवस्था बिग्रेर सडकमा छन् । गायत्री र उनका माइती परिवारको आर्थिक अवस्था माथि उठेर महलमा छन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button