‘त्यस्ता मत्तुको पनि कुरा पत्याउनु हो ?’

कथा

प्रहलाद दवाडी
लिङ्गमो पेप्थाङ्ग, दक्षिण सिक्किम, भारत ।

छिमेकी गाँउको चिनाजाना मान्छे । उमेरमा मभन्दा जेठो, अग्लो सलक्क परेको जीउडाल, मधुर आवाज, ठट्टा रमाइलो गरिरहने । सरल स्वभाव, सहयोगी ब्यवहार, हासेर बोल्ने, बोलाईमा आकर्षण, उसले भनेको कुरा साँच्चै हो जस्तो लाग्छ । साईनो नभएर म ‘सर’ भनेर सम्बोधन गर्छु ।

केही साल एउटै गाउँमा नोकरी गरियो । उसको कमरा र मेरो कमरा छेउ छेउको घरमा किराईमा थियो । नजिकको आफन्त जस्तो भईयो । म एक्लो मान्छे । उसकी स्वास्नीले मिठो मिठो खाना पकाउँथिन्, दाल भात हरेक कुरा साटासाट गरिन्छ । बिदाको दिन मेरो बाईकमा घुम्न जाईन्छ ।

सरले बेलाबेला बिहानै या त मौका मिलाएर कसैले चाल नपाई सुटुक्क माछीको दोकानमा गएर बन काँईला नाममा रक्सी धोक्नु हुँदोरहेछ । बुढी पनि सर ड्यूटी गएको बेला सिगरेट, बियर तान्न त्यही दोकानमा पस्ती रान् । बुढीले रक्सीको कुरा चाल पाउनु नहुने ।

रक्सीको निऊमा बुढा बुढी झगडा भईरहन्छ ।

सरलाई मैले धेरै सम्झाएँ तर लागेको बानी न हो । सरले रक्सी नखाएको, नगन्हाएको दिन चै उसकी बुढी आएर मलाई सोध्नुहुन्छ, ‘आज हाम्रो बुढो मातेको छ कि क्याहो ? आज हाम्रो सरले रक्सी खायो ? अँ ?’

‘मैले चाल पाईन ।’

‘न ढाँट्नु होस त, नखानेले त छिटो चाल पाउछ त ?’

‘होइन, मात्नु भएको छैन ।’

त्यही दिन ठुलो झगडा हुँदोरहेछ । सरलाई लात्तले, बेलना, झर्के थाल, गागरी जेले पायो तेहीले पिटेर घरबाट निकाली दिन्छिन् अनि सर राती मेरो दैलो ढक्ढक्याउँछन् । सुत्न दिन्छु । कोई बेला ओछ्यान बिगार्दा रान् । फेरि बिहान त बुढा बुढी मिलीराका हुन् ।

सर गुरामा बोलबम गए । अब कहिल्यै नखाने बाचा गरेर रक्सी उतै चढाएर आएका रे । मलाई शिवजीको लकेट दिए ।

मैले बाईक छोडेर गाडी किनेँ । सरले कुदाउन सिकाई दिनु भयो । लगभग दुई महिनापछि यसै क्रममा एक दिन बजार गयौं, सरको सौदा पात, मासु किन्न भनेर । सौदा गरी सकेर गाडी अघि बढाएँ । हाटको दिन, भिडभाड भएकाले बिस्तारी जाँदै गर्दा बजार बीच सडकमा सरको एकजना पुरानो साथी भेट भयो ।

‘अहो, कता हौ साथी ? के छ हौ ? धेरै दिनबाद भेट भयो ।’

‘ठिकै छ। याँ सरसँग बजार आएको थिएँ, फर्किदै गरेको ।’

‘अन्त बसौ न एकछिन । यसो चिसो तातो पिऊँ ।’

‘मैले छोडेँ नि पिउन । अस्ती दुई तीन महिना भयो ।’

‘हो र ? कसरी ?’

‘बोलबम गएर ।’

‘त्यसो हो भने त्यही छोडेको खुशीयालीमा आज पिउँन ।’

‘ल त लू’ भन्दै सर दैलो खोलेर उत्रिनु भयो ।

मैले कराएँ, ‘हन कस्तो मान्छे हौ तपाईँ ?’

‘पुरानो साथी, बल्ल भेट भा’को, भनि हाल्यो, यसो मन राखीदिनु पर्यो । तपाईँ गाडी साइड गरेर पर्खिदै गर्नु होस् न, आइ हाल्छु ।’

मेरो अर्कै गाउँमा सरूवा भयो । आ-आफ्नै व्यस्ततामा मस्त भईयो । फोन नम्बर भएर पनि गफ नभएको, हालचाल नबुझेको दुई साल भए छ । एक दिन म घर जाने क्रममा अचानक सिङ्गताम बजारमा सरलाई सिमसिम पानीमा भिज्दै हिन्दै गरेको देखेर गाडीबाटै बोलाएँ ।

‘सर … कहाँ जानु भएको ?’

मलाई देखेर आउनु भयो । चिन्नु भएन कि जस्तो लाग्यो ।

‘धन्न तिमीलाई भेटें । मलाई पाँच हजार रूपए देऊ न ।’

‘किन ? के आपत पर्यो ?’

‘बुढी बिमार भएर हॉस्पिटल राखेको छ, क्यास पैसा नभएर दवाई किन्न पाएको छैन । कसैले पत्याउँदैनन् ।’

‘ला हौ, के भयो गुरामालाई ? तेत्रो पैसा त छैन नि ।’

‘जति छ, त्यती देऊ न ।’

मेरो पर्समा पाँच सय रहेछ । घर जान रात परेकोले बिमारी हेर्न चैं गईन ।

‘म पर्सि आउँछु ल, आज घर जान हतार ।’

‘धन्यवाद ।’

पर्सिपल्ट सिंगताम बजार गएर बिमारीलाई लान फलफूल, जुस इत्यादी किनें । सर त्यही अस्तिकै लुगामा बजारमै आईपुग्नु भयो ।

‘सर, म गुरामा हेर्न हिँडेको ।’

‘गुरामा त माइतीहरुले लगेका छन् ।’

‘अनि तपाईँ कता ?’

‘मेरो त बाबा अस्ति पश्चिम सिक्किम दाजुकोमा जानु भएको थियो, आज अचानक मर्नु भएछ र म ड्यूटीबाटै हिँडेको । गाडी पनि छैन, भाडा पनि छैन, तिन हजार जति देऊ न, म फर्काईहाल्छु ।’

‘तलब त चार हजार आठ सय मात्र पाउँछु, त्यो पनि एकाउन्टमा आउँछ । ब्याङ्क जान भ्याएको छैन, चेकले हुँदैन होला ?’

‘चेक होइन, पाँच सय, तीन सय जति भए पनि देऊ न । पुग्न भाडा चाहिएको ।’

‘तिन सय रूपिया मात्र रहेछ ।’

‘धन्यवाद’ भन्दै हातैबाट पैसा तानेर लग्यो ।

मलाई उसको अवस्था सम्झेर माया लाग्यो । मनमनै सोचें, ‘कस्तो दसा लागेको विचरालाई एकै चोटी । भने जस्तो सहयोग गर्न पनि सकिन ।’

अर्को हप्तातिर त्यही सरको बाउको मराउ अन्त्येष्ठीमा जान भनेर घर आएँ । त्यही गाँउको एकजना भाइलाई फोनमा सोधें, ‘हल्लो बिजे भाइ, त्याँ मास्तिर बाबै मरेको कति दिन भयो हौ ?’

‘हौ एलजे दाजु, कसले भन्यो हौ बाबै मरे भनेर ?’

‘त्यो सरले भनेको बाउ मरे भनेर ।’

‘त्यस्ता मत्तुको पनि कुरा पत्याउनु हो ? तेल्ले त के के बहाना बनाउँछ बनाउँछ नि। याँ बाबै घरमै के के काम गरिराका छन् । दोकान चलाउँछन, कहिलेई केही बिमार पनि भाका छैनन् । मार्छन है तपाईँलाई जिउँदै मान्छेलाई मरे भन्दा ।’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button