जेठी मरी, साली ल्याएँ, ऊ पनि मरी

लघुकथाः अभाग

लता पौड्याल

‘मलाई ठिकै छ, गाडीमा दोखुका साहिँला बाआमा हुनुहुन्छ, चिन्ता लिनुपर्दैन, मोबाइलमा ब्यालेन्स् छैन, ब्याट्रि पनि थोरै छ, बिहान भेट भइहाल्छ’, उनले यति भनेर फोन राखेकी थिईन् ।

बिहान उनलाई लिनजान हतारिएको म मनमा कुरा खेल्दाखेल्दै कतिबेला निदाएछु थाहा पाइन ।

लक्ष्मी मेरी कान्छी श्रीमती र साली हुन् । चार वर्षअघि उनीसँग मेरो दोस्रो विवाह भएको थियो । सासुससुराका सन्तान भन्नु नै दुई छोरीहरु । छोरीछोरी मात्र भएको भनी दाजुभाईले अपुत्रो भन्दा रहेछन् । सीतासँग मेरो विवाह भएपछि उहाँहरु कोखमा हामीलाई छोरो लेखेको नभए पनि कर्ममा लेखेको रहेछ भनेर खुशी हुनुभएको थियो । पाँच वर्ष अअघि दुईटा छोराहरु हजुरको जिम्मा भन्दै काखमा राखिदिएर सीताले सधैको लागि छोडेर गईन् । नातीहरुको मुख हेरेर उहाँहरुले नै मलाई लक्ष्मीसँग विवाह गरिदिनुभएको थियो ।

वर्षाको समय सुकेटार विमानस्थल बन्द थियो । एक हप्ताबाट ज्वरो आएकी लक्ष्मी नाङ्खोल्याङकै स्वास्थ्य चौकीमा जँचाएर औषधी खाँदैथिइन् । बिसेक हुँनेछाँट नदेखेपछि उनले मलाई फोन गरिन् । घरतिरको चाँजोपाँजो मिलाएर काठमाडौं आउन मैले सल्लाह दिएको थिएँ । छिमेकीलाई एक महिनाको लागि घर रेखदेख गर्न दिएर उनी हिंजो दिउँसो ताप्लेजुङबाट काठमाडौं आउने बस चढेकी थिइन् । साथमा दुई वर्षकी छोरी थिइन् । उनी बर्दिबास आइपुग्दासम्म हाम्रो फोन सम्पर्क थियो ।

बिहानको नौ बजिसकेको रहेछ, फोनको घन्टीले बिउँझायो । ‘सधैं सात बजेतिरै आइपुग्थ्यो गाडी, किन ढिलो भएछ ?’, मनमा कुरा खेल्दैथियो, ‘हेलो’, उताबाट पुरुषको आवाज आयो, फोनं लक्ष्मीकै थियो ।

‘हेलो’, मैले फोन उठाएँ ।

‘तपाइँ लक्ष्मी दिदीको श्रीमान् हुँनुहुँदो रहेछ, उहाँलाई गाडीमा बान्ता भयो, शिथिल जस्तो हुनुहुन्छ, बोल्न गाह्रो भइरहेको छ, हामी बसपार्कमा छौं, लिन आउँनुहोस्’, उसले फोन काट्यो, गाडीको स्टाफ रहेछ ।

म सुतेकै लुगामा ट्याक्सी लिएर गोङ्गबु पुगें । लक्ष्मीलाई हताहतार टिचिङ हस्पिटल ल्याएँ, एमरजेन्सी वार्डमा छिराएँ । डाक्टरले एक घन्टाअघि नै उहाँको प्राण गइसकेको भन्दै मृतक घोषणा गर्यो ।

‘न कोखका छोरीहरु रहे, न कर्मको छोरो सुखी भयो, टुहुरा नातिनातीनाहरु, कसरी मनबुझाउन् ती बाआमाले ? कस्तो अभाग ? मुल्याहा रहेछ’, कोही वृद्धवृद्धाको आवाज आयो ।

‘मै त होइन मुल्याहा ?’, मैले हजुरबाले भनेको सम्झिएँ, ‘मुल्याहाले आफ्ना शाखा सन्तानमा पिर्छन् ।’

मैले आवाज आएतिर हेरेँ, दोखुका साहिँला बाआमा हुनुहुँदो रहेछ । साहिँली आमा हाम्रीछोरी च्यापेर गहभरि आँशु पारेर उभिरहनु भएको ।

मैले लक्ष्मीलाई मात्र लिएर आएको रहेछु, छोरी देख्दा थाहा पाएँ ।

‘कस्तो अभाग’, मैले लक्ष्मीलाई हेरें, उनका नचिम्लिएका आँखाले प्रश्न गरेझैँ लाग्यो, ‘काखको बच्चा ?’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button