जाऊ तिमी तृप्त हौ, म ५५ डिग्रीमै ठिक छु

रमन भण्डारी

५५ डिग्रीको चोटिलो सुर्यसँगै
कर्मको थालनी
रुप्पी झै शिर भिजेर
शरीर हुँदै पैताला चिसो हुँदासम्म
तप्प तप्प ओठबाट मुखमा पस्दै गरेका
अमिला-नुनिला पसिनाका दाना
र, तिमीले गर्ने तिनको मूल्याङ्कन !
अनि बीच बीचमा आउने
शिथिलता प्रदायक तिम्रा ती यादका बलिन्द्र धाराहरू
खै किन हो कुन्नि ?
हिजोआज औँसी अनि पूर्णीमाको रात आउने पर्खाइमा रहन्छन् ।

काउकुत्ती लाउन खप्पिस
तिम्रो त्यो मन्द मुस्कानको झल्कोले
सम्म बाटो बिराएको भास हुँदैछ ।

निस्वार्थ माया गर्छु भनी खाएको वाचा
अनि कसमको आफू त ऋणी भयौ भयौ
अब मलाई सम्म गलत्याउँदै
त्यो भारी थुपार्न पछि परेनौ ।

आखिराँ
नतमस्तक भई- त्यो तिम्रो रणनैतिक ताण्डवको डमरु
(खाडीमै बसेर) बजाउन अब मलाई सैह्य भएन ।

जाऊ तिमी
तृप्त हौ
सुखसयल अनि आरामदायी जीवनको
परिकल्पनालाई साकार पार !

सकारात्मक साथसहयोग
माया अनि अनेकौ आशिस
सधैं तिमीलाई, सधैं तिमीलाई ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button