
गाड्न नपाउने र पाेल्न पनि नपाउने बेग्लाबेग्लै घाेषणा
लघुकथा: विनिर्माण
डा. विदुर चालिसे
गुठी थियाे ! भित्रभित्रै गलक्क मन पाकेकाे थियाे । उनीहरूकाे सायद सुहागकाे लिला सकिएकाे थियाे । झकासमा बाैरेर गीत गाए, ‘मेराेजस्तै तिम्राे पनि एउटा सानाे कथा हाेला ! बाहिर जति हाँसे पनि मुटुभित्र व्यथा हाेला !!’
तिनकाे आफ्नै कुलका सदस्यकाे व्यक्तिगत आरिसले संस्कार, संस्कृति, परम्परा, मूल्य र मान्यताहरू धरापियाे । पछिपछि त फासफुसमै व्यथा खुइलियाे । जबर्जस्ती कराए, मलाई चिन्दैनाै ?’
‘के भनेर चिन्ने ?’
‘तान्त्रिक रक्षक !’
नेपथ्यमा प्रश्नहरू थुप्रेर मधुराे स्वरले गुठीयारहरूकाे आवाज आयाे । उनीहरूकाे बैभवकाे रङ्ग खुइलिएकाे थियाे । मान्छेले चिन्न छाेडे ।
‘सैध्दान्तिक खाका !’
विस्तारै कागजकाे पन्ना भरिए पनि अस्तित्व सकिएकाे थियाे । उनीहरू गुठीकाे सट्टा गुट भन्न थाले । त्यसपछि यहीँबाट छाेइ छुटाेले घिनिन थाले ।
‘षड्यन्त्रकारी !’
‘बरू तैँ स्वैच्छाचारी !’
‘एकलकाँटे जिराहा !’
‘नकच्चराे !’
यस्तै दाउपेचले सजिएका उनीहरूमा बेग्लाबेग्लै आशले बेग्लाबेग्लै काजक्रिया र अन्य संस्कार गर्न थाले । पछिका गुठीबाट भकाभक बुढा सदस्यहरू मर्न थाले । बाँचेकाहरू बीच विवाद बढ्न थाल्याे ।
‘अबदेखि लास पाेल्न पाइँदैन !’
‘हैन, बरू गाड्न नै पाइँदैन !’
गाड्न पनि नपाउने र पाेल्न पनि नपाउने विधिलाई उनीहरूले बेग्लाबेग्लै घाेषणा गरे ।
‘दाउपेचका कथा बनाउनेहरूका कथा !’
त्यसपछि उनीहरूले आफुहरूलाई अकथा, किस्सा, उपकथा लघुकथा र छाेटाकथा मात्र मान्न थाले ।
‘कथैकथाका कथाहरू !’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



