
म त घरको न घाटको
गैरनागरिक म
सुनिलबाबु स्याङ्तान
पुस्तौंदेखि लादिएको
चलनको चपेटामा परेँ म ।
अस्तित्वले खाँदिएको
चार कुनामा बाँधिएँ म
न दाजु सरह शिक्षा दिइयो
न त भाइ सरह तालिम नै ?
दिइयो त केवल हातमा लगाउने चुरा
अनि घर गरी खाने सुझावका कुरा
वाटुली जिउडालकी गिद्धे दृष्टिमा परेँ म
आफ्नै पर्नेको शिकार भएँ म
थाहा भो मलाई म त छोरी पो रहेछु
अर्काको घरमा जाने जात पो भएछु ।
इज्जतको डरले विदाइमा पेरँ म
जवरजस्ति डोलीको चढाइमा परेँ म
चुलो चौकोको लडाईइमा परेँ म
लोग्नेको रूमाइसमा परेँ म
सानी फुच्ची एकाएक तरुनी भएँ म
थाहा भो मलाइ म त बुहारी पो रहेछु
पतिब्रता पत्नी पो भएछु ।
एकाएक बेचैनी बढ्न थाल्यो
शरीर थाक्न थाल्यो
वाकवाकी लाग्न थाल्यो
शरिरका हरेक भाग बढ्न थाल्यो
समयले नेटो काट्न थाल्यो
थाहा भो मलार्इ म त आमा पो रहेछु
वर्षेनीका बच्चाहरूको जननी पो भएछु ।
मेरो भाग्य भनम् वा दुर्भाग्य,
रङ्गिचङ्गी जिन्दगी सफेद साडीमा लपेटिन पुगे
हातका चुरा फुटी सिउदोको सिन्दुर पुछिन पुगे
घर अनि समाजमा कुरा काटिन पुगे
बोक्सीको आरोपमा डामिन पुगे
न घरको छत पाए न माइतको आँगन
थाहा भो मलाई म त विधुवै पो रहेछु
आफ्नै लोग्ने टोक्ने डंकिनी पो भएछु ।
यतिमै सकिएन मेरा दुःखका दिन
दैव पनि हाँसी बसेका छिनका छिन
अलच्छिना भन्न थाले समाज
मलाई दिनका दिन ।
मलाइ हेर्ने नजर अझै उस्तै छन्
यौवनका प्यासीहरू त्यस्तै छन्
दासी बनाउनेको ताती यतै छन्
एक्ली हुँदाको फाइदा लुट्ने जताततै छन्
थाहा भो मलाई म त घरको न घाटको पो रहेछु,
आफनै देशमा पनि म गैरनागरिक पो भएछु ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



