
बुहारी ! मेरी छोरी ! आऊ, अल्लि यता आऊ !
कथाः ! बोक्सिनी आमा
गुरुदत्त ज्ञवाली
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट स्नातक गरेपछि दिनेश घर फर्के । उनको घर गुल्मी जिल्लाको ग्वादी हो । दिनेश एउटै छोरो, एउटै सन्तान बाउ–आमाको । पढेपछि कतै नोकरी नपाउञ्जेल गाउँकै सामाजिक काममा लागेका । माओवादी जनयुद्धले चरमोत्कर्षमा थियो । पढे लेखेको युवा, यताउति गर्दागर्दै माओवादी नेताको सम्पर्कमा पुगे । सङ्गतै त हो, खेलखेलैमा सबैले उनलाई माओवादी भन्न थाले । कतिबेला कसरी माओवादी भए, दिनेशले पत्तै पाएनन् । क्रमशः उनी युवा नेतामा गनिए ।
तत्कालीन ब्यवस्थाका सुरक्षाकर्मीले, माओवादीको अन्त्य गर्न बिभिन्न प्रपञ्चका साथ गाउँ गाउँमा गस्ती गर्न थालका थिए । कहिले रिडी बजार, कहिले थोर्गा, याडुङ, कोलौदी आदि । सुरक्षाकर्मीले छापा मार्दै घर खानतलासी गर्दै हिँड्न थाले । पार्टीको काममा नजिकै कालीगण्डकी पारिको स्याङजाको कोटाकोटबाट कार्यक्रम सकेर दिनेश घर फर्केका थिए । घर आउँदा झमक्कै साँझ परेको थियो । दिनभरिको घरतिरको हाल खबरबाट उनी बञ्चित थिए । घर पसेर भात खाइवरी उनी सुते । थाकेको हुनाले मस्त निद्रामा परे ।
मध्येराततिर कसैले ढोका हान्यो र दिनेशलाई बोलायो । मस्त निद्राबाट ब्युँझेर दिनेश बाहिर निस्के । उनलाई लाग्यो, कोही साथीभाइ भेट्न आएका होलान् । दलान आँगन र बाटोमा सुरक्षाकर्मी थिए । “दिनेश भन्ने तपाइँ हो ?” प्रश्न गरे । दिनेश यही हो भन्ने भएपछि पक्डेर लगे । दिनेशका बाबु जसको नाम दधिराम हो । पण्डित र सामान्य ज्योतिष पनि हुन् । बाबु आमा डराउँदै बाहिर निस्के । “तपाईँको छोरालाई केही गर्दैनौँ, नआत्तिनुस् ।” भनेका थिए । तर पनि बाउ–आमाको मन न हो, सिरिङ्ग भैहाल्यो ।
रिडीमा बन्दुक पड्केको ग्वादीमा सुनिन्छ । भोलिपल्ट बिहान ४ बजेतिर रिडीको विष्णुपञ्जरमा ४–५ राउण्ड गोली चलेको सुनियो । दिउँसो मात्र हल्ला भयो, ४ जना युवालाई सुरक्षाकर्मीले गोली हानेर कालीगण्डकीमा बगायो भन्ने । हो न हो, दधिरामका बुढाबुढी एवं गाउँलेहरुलाई दिनेशको हत्या भएको भन्ने भयो । गाउँमा कोलाहल मच्चियो । अरु को को परे होलान् अन्दाज भएन ।
दिनेशको मृत्यू प्रमाणित भएन । ४ जना युवालाई गोली हानेको र गण्डकीमा बगाएको कुरा सत्य थियो । लास नभेटिएको र मृत्यू प्रमाणित नभएकोले काज किरिया भएन । तर पनि बाबु आमा र आफन्तलाई दिनेश ज्युँदो भएको हुन सक्ने कुरामा आशा थिएन ।
घटना घट्दै गए भन्ने कि बढ्दै गए भन्ने ? समय बित्दै गयो । कैयौँ ठाउँमा युद्ध भयो । हजारौँ नागरिक मरे, मारिए । माओवादी मरे । सेना प्रहरी मरे । क्रसफायरमा निर्दोष नागरिक मरे । कसैलाई मारेर नदीमा वा खोलामा फालिन्थ्यो । कसैलाई पुरपार पारेर छोडिन्थ्यो ।
पाल्पा हुँगीको तल कालीगण्डकीको किनारमा जसलाई हुँगीघाट भन्दछन्, दूईटा लास नदी किनारमा देखिए । गाउँलेहरुको घुइँचो लागेको थियो हेर्नका लागि । नजिक जान डराए । एकजना सुरो युवकले नजिकै गएर हेरे । छामे र पल्टाए । एउटा लास लासै थियो, अर्को चाहिँको ढुकढुकी बाँकी भएको अनुमान भयो । हेर्न गएका मान्छे उत्सुकताका साथ नजिक गए । राम्ररी हेर्दा ऊ ज्यँुदो रहेछ तर बेहोस् । धेरै चहलपहल गर्न हुन्नथ्यो त्यो बेला । मरेको लासलाई नदीमै धकेलिदिए । बाँचेको मान्छेलाई सामान्य प्राथमिक उपचार गरियो । त्यो मान्छे ३–४ घण्टा पछि होसमा भनुँ वा अर्धचेतनामा आयो । त्यसपछि दर्शकहरु आ–आफ्नो गन्तब्यतर्फ लागे ।
हुँगीघाटमा रहेको कृष्ण मन्दिरका भक्तिनीहरुले सामूहिक जीवन बिताउँछन् त्यहाँ । ती भक्तिनीले त्यस मान्छेको स्याहार–सुसारको जिम्मा लिए । मान्छे युवकै थिए, पूर्ण चेतनामा आए । हिँडडुल गर्न सक्ने भए । अनि केही दिनपछि त्यहाँबाट हिँडे, भक्तिनी आमाहरुलाई पछि भेट्न आउने बाचा गरेर ।
भक्तिनीहरु मध्ये ढकाल्नी आँबैले ती युवकलाई राम्ररी स्याहार गरिछन् । बिदाई हुने बेलामा गहभरि आँसु गराइन् । ती युवकलाई यो पनि भन्न भ्याइन् कि सुस्मिता मेरो देवरकी छोरी हो, बाबुसँग जोडा मिल्ने, के गर्ने दैवले सँगै पारिदिए हुने थियो । युवकले ढकाल्नी आँबैसँग आफ्ना कुरा मोटामोटी गरेका थिए । ती युवक दिनेश थिए । ग्वादी घर । ढकाल्नी आँबैको घर पाल्पा डम्मक, छोरा छोरी नभएको, पतिको देहान्त भइसकेको, भक्तिनीको रुपमा कालीगण्डकीको किनार हुँगीघाटमा बसेकी । जिल्लाले स्याङ्जातर्फ ।
दिनेशलगायत चार जना युवालाई रिडी, विष्णुपञ्जरमा सुरक्षाकर्मीले गोली हाने र नदीमा धकेले । दिनेशको खुट्टामा गोली लाग्यो, छातीमा ताकेको गोली छलिएछ । अरु साथीको लासको सहाराले बग्दै–बग्दै हुँगीघाट पुगे र किनारा लागे । कालीगण्डकीको घुम्तिको हिसाबले हुँगीघाटमा पुग्नु धेरै टाढा हो । त्यस्तो अवस्थामा पनि संयोगले उनी बाँचेका हुन् ।
दिनेश त्यहाँबाट हिँडेर गल्याङ बजार पुगे । उनको सहयोगी कोही साथी थिए । गल्याङमा एउटी किशोरीले जिम्मा लिइन् र बुटवल जाने बसमा चढेर पाल्पा बर्तुङ झरे । बर्तुङमा गस्ती गरेका शाही सेनासँग बच्नु थियो । संयोग लु १ च ०००० नं को सेतो कार बर्तुङमा रोकिएको थियो । किशोरी भनुँ, ती युवतीले कारवालासँग कुरा गरिन् । कार बुटवलतिर झर्दै रहेछ । तानसेनबाट फर्केको । बिरामी छन् अवस्था नाजुक छ, समय ठीक छैन भन्दै आफूहरु माओवादी भएको सामान्य सङ्केत गरिन् । कारवालाले स्वीकार गरे । कार रुपन्देही शङ्करनगरको रहेछ । बाटामा पुरै कुरा भए ।
शंकरनगर पुगेर कार रोकियो । दिनेश घाइते अवस्थामै थिए । एक महिना कुनै सेल्टरमा आराम गरे । त्यस परिवारबाट समेत पूर्णरुपमा मानवीय सहयोग मिल्यो । युवक तन्दुरुस्त भए । अनि कहाँ गए थाहा भएन । साथमा छोड्न आएकी युवती, नाम सुस्मिता ढकाल बेला–बेलामा आउँथिन् र दिनेशको उपचारमा सहयोग गथिनर्् । उनी पनि आफ्नो कार्यक्रम तर्फ लागिन् ।
दिनेश, पार्टी सम्पर्कमा आए । सुस्मितासँग फेरि भेट भयो त्यहाँ । हुँगीघाटमा ढकाल्नी आँबैले भनेको कुरा दिनेशले झल्याँस्स सम्झे र भने, “तपाईँको खास नाम सुस्मिता ढकाल हो ?”
“हो, कसरी जान्नु भो ?”
“तपाईको घर डम्मक हो ?”
“हो ।”
“अनि तपाईकी ठूलीआमा हुँगीघाटको राधाकृण मन्दिरको आश्रममा हुनुहुन्छ भक्तिनीको रुपमा ?”
हो, सुस्मिता दङ्ग परिन् र बुझिन्, ठूलीआमाले सबै कुरा भन्नुभएको रहेछ । त्यसै दिनबाट पार्टी मर्यादाभित्र रहेर दिनेश र सुस्मिताको हिमचिम बढ्यो । केही महिना पछि पार्टीले अलग–अलग जिम्मेवारी हेर्ने गरी दुबैजनालाई काठमाण्डुतिर खटायो । साथमा अरु थुप्रै साथी थिए । दिनेश र सुस्मिता त थिए नै, जनयुद्ध सकिएको थिएन ।
छोरो दिनेश हराएको एकवर्ष नाघिसकेको थियो । बाबु दधिराम छोराको खोजीनीतिमा निकै दौडधुप गरे । हुँगीघाटमा एउटा युवक झण्डै मृत अवस्थामा भेटिएको पनि थाहा पाए उनले । त्यहाँ गएर बुझ्दा हुलिया त लगभग मिल्यो तर यकिन भएन । ढकाल्नी आँबैलाई बाहेक दिनेशको बिषयमा धेरैलाई थाहा थिएन । संयोग, ढकाल्नी आँबैको पनि केही महिना पहिले देहान्त भएको रहेछ । दधिराम, छोराको खोजीमा निकै धाए । अहँ, केही मेसो आएन । बूढा, बूढा त के भन्ने ५५–६० उमेरका हुन् , अर्धपागल जस्तो भए । भनिन्छ आमा बाबु मरेको पीडाभन्दा छोराछोरीको पीडा कष्टकर हुन्छ । त्यसमा पनि ठरठेगान नभएको तर मृत्यूको सम्भावना भएको दिनेशको बारेमा बाबुआमालाई कति पीडाबोध भयो होला ? त्यो कुुरा त मुटु भएको मान्छे सबैले बुझ्दछ ।
दधिराम भौँतारिँदै बुटवल पुगे । शाही सेना, जन सेना, तथा माओवादी पार्टी सबै तिर बुझे । अहँ, कतै पत्तो लागेन । उनी आफै ज्योतिष हुन् । झारफुक, टुनामुना आखत सबै हेर्न जानेका मान्छे हुन् । तर, ती सबै बिद्या आफूलाई पर्दा निकम्मा भए । बूढा प्रायः सिल्लीजस्ता भए । कसैले दिनेश नामको मान्छे त केही महिना पहिले यतै थिए भन्थे । अचेल देखिएका छैनन् शायद काठमाण्डुतिर गए कि ? यस्तो हल्ला पनि चल्यो । बुढा झनै झसङ्ग भए । उनलाई दिनेश ज्युँदै छ भन्नुभन्दा पनि म¥यो अरे भन्ने समाचार बढी पत्यारिलो लाग्दथ्यो सायद । तर पनि दिनेश नाम सुन्दा नमरेको आशा लाग्यो । दिनेश नामका मान्छे कति हुन्छन् कति । भाउँ हो भाउँ होइन भन्दै उनी बिना योजना काठमाण्डुतिर भष्मै सित लागे ।
काठमाण्डु सहरमा दिनेश नामको मान्छे खोजेर भेटिने वा साध्य लाग्ने कुरो थिएन । दधिराम यसै भौँतारिँदै हिँडे । यसरी केही दिन बिते । एकदिन पुरानो बसपार्कतिर पुगेका मात्र के थिए, एउटा बस गोदावरी तर्फ जान तयार थियो । के मन चलेछ कुन्नि ? उनी त्यस बसमा चढे । ललितपुरको हात्तीवन, कर्मनाशा पुल नजिकै पुग्दा कण्डक्टरले पैसा माग्यो । उनले मेसो नपाइकनै यहीँसम्म हो भन्दै त्यहीँ झरे । उनको यात्रा न गोदावरीसम्म थियो न त हात्तीवनसम्म नै ।
दधिरामसँग धेरै पैसा थिएन, बिखर्चीको समस्या आउँदै थियो । उनको पूरा होश हवाश उडेको थियो । र, पनि बेहोशै भने थिएनन् । दिनेश छोराको बिषयमा भने कुरा राख्न बिराउन्नथे । एकोहोरिएका उनका आँखा यज्ञप्रसादको आँखामा झ्याप्प जुधे । यज्ञप्रसाद, अर्घाखाँची ढिकुरा घर भइ पिपरा कपिलवस्तुमा बसोबास गर्दथे । हात्तीवनमा समेत घर छ उनको । उनी खेमराज पिता हुन् ।, नाति नातिनीलाई भेट गर्न हिँडेका । पिपराबाट हात्तीवन जाँदा संयोगले गोदावरीको गाडी एउटै परेछ दधिरामसँग । सँगै झरे । प्रशङ्गवश कुराकानी भयो । यज्ञप्रसादलाई टिठ लागेछ । सँगै आफ्नो घरमा लगे । दधिरामको मन हलुङ्गो भयो ।
ज्योतिष विद्या र झारफुक आदि जानेका दधिरामले हात्तीवनको सडक छेउमा आफ्नो पेशा शुरु गरे । यज्ञप्रसादको घरमा सानो कोठा सस्तो भाडामा तह प¥यो । दिन भरिको सडक ज्योतिषी रोजगारबाट २–४ सयको जोहो पनि भयो । तत्काललाई उनले ग्वादीको घर, श्रीमती, दिनेश आदिलाई मनमा च्याँप्दै पीडा निलेर बसे ।
उता छोरो हराएको । छोराको खोजीका लागि हिँडेका पति पनि हराएका । घरमा एक्लै भएकीले मन बुझाउने ठाउँ नभएको अवस्थामा दिनेशकी आमाको । उनको हालत कस्तो भएको होला ? मन भएका मान्छेले मात्र बुझ्ने कुरो हो । दिनेशकी आमालाई छिमेकीले मन बुझाइदिने ठाउँ सकिएको थियो । हुँदाहुँदा उनको मानसिक बिचलन समेत भयो । दुनियाँको नजरमा पागल भईन् । घरमा भएको एउटा भैँसी छिमेकीले बेचिदिए । उनको मन बुझाउन शिक्षक नारायणले सकेसम्म प्रयत्न गरेका हुन् । तर सकेनन् ।
दिनेशकी आमा उमेरले ५० वर्ष हाराहारीकी हुन् । त्यो दिन एकाबिहानै उठेर उनी घरबाट हिँडिन् छोरो खोज्न भनेर । होशहवास ठीक ठाउँमा थिएन । मेरो दिनेश खोई ? यति मात्र प्रश्न गर्थिन् सबैसँग । उनी रिडी बजारमा पुगिन् । रिडी पुग्न घरबाट लगभग एकघण्टाको बाटो हो ओरालो । कति समयमा त्यहाँ पुगिन् र कति दिन रिडीमा कसरी बिताईन् । एवंरितले उनी त्यसै हालत तथा हविगतमा तानसेन पुगिन् । तानसेनमा केही महिना त्यतै बरालिईन् । सडक पेटीमा सुतेर रात काटिन् । पछि कसरी बुटवल झरिन्, केही महिना बुटवलको बसपार्कमा देखिन्थिन् ।
दिनेशको मावल अर्थात् आमाको माइत पाल्पाको लघुवा हो । नेपाल थरका माइती हुन् । बुटवलमा आमालाई कसैले चिनेछ वा लख काटेछ । एकजना युवाले न्युइरा होटलमा पु¥याइदिए । त्यस होटलका धनी माधव नेपाल लघुवाका हुन् । माधव नेपालले ती महिलालाई चिनेनन् सायद । भुल्ली, फोहोरी, बहुलाही, कुरुप, यस्तै यस्तै । आमाले भने माधवलाई चिनिन् । “माधव हौ ? मेरो दिनेशलाई देख्यौ ?” माधव अलमल्लमा परे । माधवले कुनै समयमा ग्वादी बसेर पढेका थिए । र, दिनेशलाई चिनेका पनि थिए । दिनेश काठमाण्डुमा छ भन्ने सुनेको अनुमानमा माधवले ती महिला अथवा दिनेशकी आमालाई काठमाण्डु सम्मकोे टिकट काटिदिएर बसमा चढाउन समेत सहयोग गरे । उनले गर्न सक्ने पनि त्यत्ती थियो ।
काठमाण्डु पुगेर पनि दिनेशकी आमा केही महिना सडकका पेटीमा सुत्दै जुठो पुरो खाएर बाँचिन् । बाईस चौबीसको युवक देख्यो कि मेरो दिनेश भनेर झ्वाम्मै समात्ने समस्याले उनी डरलाग्दो किसिमको चर्चामा त आईन् । सो उमेरको सेरोफेरोका युवाहरुलाई भने नजिकबाट हिँड्न धौ धौ परेको थियो । तर पनि उनलाई बुझ्ने चेष्टा कसैले गरेनन् ।
दिनेशको घरजम भयो । समय बितेकै थियो । सुस्मितासँग जनवादी शैलीमा बिवाह भएको थियो । पार्टीको काम र आफ्नो पार्टटाइम काम समेतको चाँजो मिलाउने प्रयत्न गरे । संयोगले हरि चौधरीँंग भेट भयो । हरि चौधरी अर्थात् हरि सर पहिले रुपन्देहीको शंकरनगरस्थित प्यारामाउण्ट बोर्डिङ्ग स्कुलमा पढाउँथे । त्यहाँ हुँदा दिनेशसँग परिचय भएको थियो । त्यतिबेला हरि सर इमाडोल गाबिसमा पर्ने हात्तीवन ललितपुर स्थित लिटिल एञ्जेल्स स्कुलमा पढाउँथे । दिनेश पनि हात्तीवनको कर्मनाशा पुलपारी हरि सर बस्ने घरमै डेरा गरी बसे । बिहानको पार्टटाइम जागिर लिटिल एञ्जेल्समै पाइयो शिक्षकमा । हरि सरले दिनेशलाई सक्दो सहयोग गरे ।
दिनेश दम्पत्तीमा पुत्री लाभ भैसकेको थियो । छोरी पाएका थिए भनाँै । छोरी छ महिनाकी भैसकेकी थिइन् । सुस्मिता कोठामै भुल्थिन् तर दिउँसो दुवैजनाको काम पार्टीले खटाएअनुसार जनताकोे सेवामा हुन्थ्यो । दिनेश, मान्छे त्यस्तै हुन् कि ब्यस्तताले हो वा के कारणले हो थाहा भएन । घरपरिवार तथा बाबु आमाको सम्झना हुँदाहुँदै पनि खबर गर्न मेसो पाएको देखिएन । यो पनि हुनसक्थ्यो सुराकीको भयको कारणले घरमा खबर गरेनन् । तर, कसोकसो भुमिगत अवस्थामै पनि स्कुलमा जागिर चाहिँ पाए ।
लगनखेल बसपार्कमा एउटी देख्दै डरलाग्दी, डरलाग्दो किसिमले हेर्ने, कुरुप पागल महिलाले धेरैलाई हैरान पारिन् । त्यो देखेर स्थानीय ब्यापारीहरुले उनलाई गोदावरी लगेर छोड्न बसमा चढाइदिए । बिना भाडाको पेसेञ्जरलाई खलाँसीले अलि पर लगेर झरालिदियो । ठाउँ हात्तीवनको आसपास जस्तो लाग्छ । बुढीमान्छे २÷४ दिन त्यतै भौँतारिइन् । डुल्दै जाँदा कर्मनाशा पुलपारि एउटा मन्दिर र पार्टी पौवा फेला प¥यो । मन्दिर शिवजीको थियो । भक्तजनले दिएको जुठो पुरो खाएर उनले दिन गुजार्दै गइन् । ओढ्ने बिछ्रयाउनेमा भुल्ला लुगा थिए जो अन्य पागलले जस्तै बोकेरै हिँडेकी ।
हरिसरकी श्रीमती र सुस्मिताले काखमा छोरी बोकेर नजिकैको शिव मन्दिरमा गए । हरिसरकी श्रीमतीलाई मन्दिर जाने, तीर्थ ब्रत गर्ने र पूजाआजा गर्ने जस्ता कुरामा आनन्द लाग्छ । साथीको रुपमा सुस्मिता पनि सँगै गएकी । सोही मन्दिरको गेटैनेर ती पागल बूढी थिइन् । देख्दै डरलाग्दी, काला गहिरा आँखा, जगल्टै जगल्टा परेको कपाल, केही हराए जस्ती, केही खोजे जस्ती । त्यो रुप देखेर सुस्मिता तर्सिन् । उनी तर्सँदा काखकी छोरी झनै झस्की ।
मन्दिरबाट फर्केर कोठामा आउँदा सुस्मिताकी छोरीलाई बेस्सरी ज्वरो आयो । सायद सातो गएछ । ज्वरो बढ्दै गयो । ती बूढीलाई देखेर सातो गएको हो, त्यो बोक्सिनी जस्ती छ हेराउनु पर्छ भनेर हरिसरकी श्रीमतीले राय दिइन् । नपत्याउँदा नपत्याउँदै पनि सुस्मिताले स्वीकारिन् । एकैछिनमा हरिसर स्कुलबाट घर आए भात खान । बच्चीलाई ज्वरो आएको, झस्केको, सातो गएको, बोक्सी लागेको जस्ता कुराले हरिसर पनि प्रभावित भए । हुन त बिएससी पढेका सर । र पनि समाजसंगै हिँडे उनले विश्लेषण सिस्लेष्ण केही गरेनन् ।
भातै नखाइकन फनक्क फर्केर हरिसर एकजना झारफुक गर्ने मान्छे लिन गए । कर्मनाशा पुल नजिकै उनै दधिराम सडक ज्योतिषको पेशामा थिए । हरिसरले जाउँ भनेपछि च्यात्तै छोडेर हिँडे । गएर उनले सातो फुके । नारी हेरे, आखत हेरे र बोक्सी नै लागेको रहेछ सञ्चो हुन्छ भने । एकैछिनमा बच्चीको ज्वरो पनि घटेको महसुस भयो । गुनै त हो ! सुस्मिता प्रशन्न भइन् र बूढा बाजेलाई भात खान आग्रह गरिन् । बूढालाई पनि आनन्दै भयो । खाएरै जाने निधो गरे । हरिसर सँगैथिए, उनकी श्रीमती र सुस्मिता, सुिस्मताकै कोठामा ।
मन्दिरकी पागल बूढीलाई किन हो किन अघि आएकी युवती र काखकी छोरीप्रति निकै माया जाग्यो । एकैछिन उनको होस फक्र्यो । प्रायः पूरै चेतनशील महिलाको रुपमा आइन् । मनमनै सोँचिन्, मेरो छोरो दिनेश यहाँ भएको भए ! ती युवती बुहारी र काखकी बच्ची नातिनी भएकी भए ! धेरै बेरसम्म कुरा खेलाइन् मनमा । र, बरररर आँसुु झारिन् । मनले मानेन र उनी ती युवती बस्ने घर तिर लागिन् जो मन्दिरबाट नजिकै थियो । अनि टुस्स पेटीमा बसिन् । सुस्मिता ती बूढीलाई देखेर फेरि झस्किन् र प्याच्च आवाज निकालिन् । “उ बोक्सिनी आई ।” हरिसर र उनकी श्रीमतीले समेत आँखा तानेर हेरे । दधिराम बाजेले खोइ केको लागि पात्रो हेर्दै थिए । त्यति वास्ता गरेनन् ।
घुर्र एउटा मोटरसाइकल आयो र त्यसै घरको अगाडि रोकियो । मोटरसाइकल कुनै साथीको थियो र अहिले दिनेश चढेर आएका थिए । उनी स्कुलमा क्लाश सकेर भात खान कोठामा आएका । उता सबैले बोक्सिनीलाई लाम लागेर हेरेका थिए । तबसम्म वल्ला पल्ला घरका छिमेकीको समेत भीड लागेको थियो । बोक्सिनी भन्ने कस्ति रहिछ भन्ने उत्सुकता जाग्यो सबैमा ।
दिनेश मोटरसाइकलबाट झर्दै हेलमेट उतारेर मोटरसाइकलमै अड्याए । बूढी मान्छेले मोटरसाइकल वालालाई एकटकले हेरेकी थिइन्– कतै मेरै दिनेश त होइन ? बूढी आँबैमा एकाएक एकखालको अलौकिक शक्ति उत्पन्न भयो र जुरुक्क उठेर झ्वाम्म दिनेशमाथि झम्टिन् । चिनेर पनि होइन, मनोरोगले । दिनेश…., मेरो छोरा….! दिनेश अक्क न बक्क भए एकछिन् । भीड पनि अचम्मै भयो । दिनेशले सम्हालिँदै बूढी महिलालाई हेरे । आमा……! आश्चर्य ! साँच्चै नै आमा छोराको संयोग भयो । आमा चिच्याएर रोइन् । दिनेशले आमाको अँगालो हालेर रोए । उता बाहिरको यो हल्ला सुनेपछि दधिराम बाजे भित्रबाट आए । हेर्छन् त आफ्नै श्रीमती, आफ्नै छोरो । बूढा पनि भावुक भए । र, झ्वाम्म दिनेशलाई समात्दै भने , मेरो छोरा…..!
सडक नाटक त होइन ? धेरेका मनमा शङ्का जाग्यो । फिल्मजस्तै भयो । दिनेशले सम्हालिँदै सुस्मितालाई परिचय गराए बाउ आमाको । अब भने सुस्मिता रोइन्, हरिसरकी श्रीमती रोइन् र पूरा दर्शक रोए । मान्छे यति रोए कि सायद साउने झरी त्यसरी पर्दैन । लगभग एकसय जना महिला पुरुषको जमघट भैसकेको थियो । सबै रोए, निकै रोए । हर्षले आँसुका धारा बगाएर रोए । थामिनै नसकिने गरि रोए । नारी रोदन त यसरी भक्कानो छोडेर रोयो । धरती रोयो, मानौ आकाश पनि रोयो ।
एकैछिनमा सबै कोठा भित्र गए र सबैले आ–आफ्ना घटनाको कथा सुनाए । सुस्मिताको नारी हृदय तबसम्म पनि सुँकसुकाइ रहेको थियो र आमाले बुहारीलाई धैर्य हुन संकेत गरेकीझैँ लाग्दथ्यो । आमा, उनको बोली अझ प्रष्ट खुलेको थिएन । चेतना अझ पूरा फर्केको थिएन । तर पनि भनिन्, “बुहारी…! मेरी छोरी !! आऊ, अल्लि यता आऊ !!!”
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



