टाइम एण्ड स्पेसको एकीकृत चालले मेरो समयलाई कुनै असर गरेको छैन

कविता: स्थिर समय

कवि: समय
कभर मोडल: क्षितिजा श्रेष्ठ

यी पलहरूमा
तिमीले विश्व भ्रमण गर्यौ
अनगिन्ती सफलताहरू हासिल गर्यौ
तर मेरो समय !
स्थिर, अपरिवर्तित, निरपेक्ष भइदियो ।

आज पनि त्यही दोबाटो, त्यही चौतारो
अनि
तिनै वर र पिपलहरू
मेरा अनन्य मित्रहरू हुन्
मेरो स्थिर समयको साक्षी ।

हो, प्रियंवदा !
मेरो समय रोकिएको छ ।

टाइम एण्ड स्पेसको एकीकृत चालले
यस घडी
मेरो समयलाई कुनै असर गरेको छैन
सायद एउटा अतृप्त प्रेमीको प्रेमउर्जा
वा मानौं
कुनै अर्को ब्रह्माण्डको पारा-गुरूत्वाकर्षण बलले कैद बनाइदिएझैं
लाचार, विवस अनि किंकर्तव्यबिमुढ मेरो समय
बन्दी अवस्थामा छ, यस पल !
हाय !
मेरो समय
दिवारमा कैद अनारकली हो ।
भोटमा ज्वरग्रस्त मदन हो ।
अनि
ताज महलको सङ्गेमर्मरमा समाहित
मुमताजको जड भावना हो ।

यिनै जड नियतिहरूको रसायनमा
अन्तरघुलित भएर अडिएको छ
मेरो समय !
स्थिर समय !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button