
पटक पटक हिंसा सहेर पनि किन मौन थिइन् संसार बुझेकी रमा ?
अनुभुति
अम्बिका घिमिरे
साथीहरु बाटैपिच्छे भेटिन्छन् । दोबाटोपिच्छे छुटिन्छन् । मुल्यवान हुन्छन् तर बिना मेहनत भेटिन्छन् । रमा मात्र एउटी यस्ती साथी थिइन्, जसलाई साथी बनाउन मैले धेरै मेहनत गर्नुपरेको थियो । मास्टर्सको ट्यूसन कक्षामा भेटिएकी साथी थिइन् रमा ।
सकेसम्म मुन्टो हल्लाएरै काम चलाउने । बोल्नै परे एकदमै कम बोल्ने रमाको स्वभावले मलाई उनीतिर तानेको थियो । उनी मनभित्रै पुस्तकालय खोलेर पढिरहेकी जस्ती । जुनबेला नि गम्भीर मुद्रामा हुन्थिन् । उनको मनको पुस्तकालयको पाठक बन्न विभिन्न बहाना बनाएर उनीसँग बोलिरहन्थेँ । उनीसँग नजिक हुन धेरै समय लाग्यो । बिस्तारै खुल्न थालिन् ।
सामान्य परिवारमा जन्मिएकी र सानै हुँदा बुवा गुमाइसकेकी एक्ली सन्तान रमालाई आमाले दुखजिलो गरेर हुर्काएकी रहिछिन् । आफैले मन पराएको केटासँग परिवारको सहमतिमा दुई वर्षअघि विवाह गरेकी रहिछिन् । उच्च घरानामा जन्मिएको रविनले रमासँग विवाह गर्न ठुलै विद्रोह गरेको रहेछ । रमाको बुवा बितेपछि रमा र उनकी आमालाई घरबाट निकाल्न उनकै काका र ठुलोबा मिलेर ठुलै षड्यन्त्र गरेका रहेछन् । अन्त्यमा केही नलागेपछि रमाकी आमालाई बोक्सीको आरोप लगाएर समाजबाटै बहिस्कार गरेका रहेछन् । विहे गरेको वर्ष दिन नपुग्दै रमाले छोरी जन्माइसकेकी थिईन् ।
रविनको बुवाआमाले चाहेको जस्तो हैसियतवाली बुहारी रमा थिइनन् । त्यसैले उनी असल बुहारी बन्न सकिनन् । रविनको परिवारले रमाकी आमाले टुनामुना गरेर रविनलाई फसाएको आरोप लगाउँथे । धनसम्पति देखेर प्रेमको नाटक गरेको भन्थे । चरित्रहिन केटी भन्थे । विभिन्न आरोपहरु लगाइरहन्थे । मानसिक यातना दिइरहन्थे । रविन हरेक कुरामा मौन बसिदिन्थ्यो । छोरी जन्मेदेखि माइत जान रोक लगाएका थिए । माइतमा टेक्न गइस् भने यस घरमा फर्केर नआउनु भन्थे । विहे गरेदेखि नै रविनले ससुराली टेकेको थिएन । रविनको व्यवहार दिन प्रतिदिन फरक हुँदै गयो । सानैदेखि दुख र घृणासँग मित्रता गाँसेर हुर्किएकी रमाको भाग्यमा खुशी र सुख लेखिएको रहेनछ ।
पेशाले रविनका बुवा अन्यायको विरुद्ध लड्ने सरकारी वकिल हुन् तर आफ्नै घरमा न्याय दिलाउन सकेनन् । रविनकी आमा राष्ट्रिय महिला आयोगमा छिन् । तर, उनकै घरमा महिला हिंसा थियो । आफ्नाहरुबाटै अन्यायमा परेकी आमालाई न्याय दिलाउने सपना त अपुरै थियो । त्यसमाथि अर्को एउटा सपना थपिएको थियो, आफैँले न्याय पाउनु । पढेलेखेकी, संसार बुझेकी रमा पटक पटक हिंसा सहेर मौन थिइन् । किनकी, अन्यायविरुद्ध आवाज उठाउनेहरुबाटै उनी पिडित थिइन् । अन्यायविरुद्ध लड्नेहरुको नकावभित्रको अनुहार उनले देखेकी थिइन् ।
एकदिन रमाकी आमा आरोपमुक्त हुनेछिन् । रमाले न्याय पाउनेछिन् । म त्यही दिनको पर्खाइमा छु ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



