
छोरी ठुली भई र ‘मुर्दार’ मर्यो
मुर्दार ५
सविना सापकोटा
हाम्रा दिनहरु जेनतेन कटिरहेका थिए । आशाकी किरण छोरीले राम्रो पढिरहेकी थिई । यसबीचमा उसको आउने जाने भइरहेको थियो । मेरो र उसको बेलाबखत भेट हुन्थ्यो । उसले विहे गरेकी अर्की श्रीमती उसका माइती काठमाडौ सरेकाले छोरा लिएर उतै गएकी रहिछ । भुपेन्द्रको रुन्चे अनुहार देखेर माया पनि लाग्यो । मेरो सहकारीमा अलिअलि पैसा जम्मा भएको थियो । अलिअलि उसलाई दिन्थेँ । थाहा छैन डरले हो कि मायाले ? म छोरीको पढाइ नबिग्रोस भन्ने चाहन्थेँ ।
यसरी चलिरहेको थियो समय । छोरी नौ कक्षामा पढ्दै थिई । एकदिन फेरि उसैगरी होस्टेल अगाडि आएर नानाथरी गाली गर्न, ढुङ्गा हान्न थालेछ । त्यसपछि सबैजना तर्सिए । फेरि शरद सर आउनुभयो । पुलिस बोलाएर पठाइदिनु भयो । सरले मलाई भने गाली गर्नु भयो । मलाई थाहा छ, त्यो गाली मेरै लागि थियो । तर म निकै अन्योलमा परेकी थिएँ, सरका कुराले ।
सरले मलाई भन्नुभयो, ‘अब होस्टल होइन, अन्तै कोठा खोजेर बस्न सुझाव दिनुभयो । सधै सधै यस्तै भयो भने विद्यार्थीको पढाइ बिग्रिन्छ । अभिभावकबाट कम्प्लेन आइसक्यो ।’ यो बीचमा पनि ऊ आउने र सानोतिनो हल्ला गरेर जाने गरिरहेको थियो । फेरि एक दिन उदण्डै मच्चाइदियो ।
भोलिपल्ट म फेरि चौकी गएँ । यसपाली भने म एक्लै गएँ । फेरि माफी मगाएँ । कागज गराएँ अनि पठाइदिएँ ।
दुई हप्तापछि म, शरद सर र तारा मेडमको सल्लाहमा छोरीलाई होस्टेलमै छोडेर पोखरा बसपार्कमा पसल गर्ने निर्णय भयो । लिलाचोक नजिकै कोठा पनि खोजेँ । मन कत्ति रोएको थियो । कहिल्यै साथ नछोडेकी छोरीलाई छोडेर जानुपर्दा । अघिल्लो दिन राति हामी भित्र भित्रै रुदै रात कटायौ । ल राम्रो सँग खाना खानु, पढ्नु भनेर म केही सामान लिएर नयाँ कोठामा गएँ ।
…
‘अनि फेरि कहिले भेट भयो त ऊसँग ?’, मलाई अघिदेखि मन नपरेको मान्छेले पार्वतीलाई सोध्यो ।
म होस्टल छोडपछि पनि त्यतातिर आउँदो रैछ । त्यतिबेला नै कसैले भन्दिएछ म कता बस्छ भनेर । लगभग दुई बर्ष जति त केही आनन्दले बसेकी थिएँ । पसल पनि राम्रै चलिरहेको थियो । बेला बेला छोरी भेट्न जान्थेँ, खानेकुराहरु लिएर ।
एकदिन कताबाट टुप्लुक्क आएर कचकच गर्न थाल्यो । शुरुमा त म यो पसलमा काम मात्र गर्ने हो भनेकी थिएँ । तर झुट कति दिन टिक्छ र ? सत्य उसले थाहा पाइहाल्यो । त्यहाँ पनि आउने, झगडा गर्ने र पिट्ने गर्न थाल्यो । यतिन्जेल छरीले एसएलसी परिक्षा पनि दिइसकेकी थिई । बीचको समयमा शरद सरले जापनिज कक्षमा भर्ना गरिदिनु भएको थियो । त्यो पनि राम्रोसँग पढी ।
एसएलसी परिक्षाको नतिजा पनि आयो । छोरी प्रथम श्रेणीमा पास भई । त्यतिबेला लाग्यो मेरी छोरी मभन्दा ठूली भई । मेरो सपना पुरा गरी । सबैलाई बाजा बजाएर सुनाउन मन लागेको थियो । वरिपरि सबैलाइ सुनाएँ, मिठाइ पनि बाडेँ । खुब रमाएँ । त्यति धेरै त कहिल्यै रमाएकी थिइनँ होला । मलाई नाच्न मन लागेको थियो ।
छोरी बालकुमारी कलेज पढ्ने भइ बिहानमा । अनि दिउँसोमा जापनिज भाषा पढाउने भई । मेरी छोरी जागिर खाने भएकी थिई । हामी दुवै जनाको खुशीका दिन आए जस्तो लागेको थियो । हामी आमा छोरी सँगै बस्दै आएका थियो ।
भुपेन्द्रले फेरि रक्सी खाएर हल्ला निकै गर्न थालेको थियो । कोठामा आउँथ्यो । छोरी निकै डराउन थाली । पैसा माग्ने, हातपात गर्ने गर्न थाल्यो । राति राति आउने र हल्ला गर्ने गर्दा छिमेकीहरुले कराउने र धपाउने गर्दिन्थे । तर, पछि पछि कसैलाई टेर्न छाड्यो । कसैले केही भने मेरी स्वास्नी तिमीहरुलाई के को पिर भनेर झन् निहुँ खोज्न थाल्थो ।
धेरै नै दुःख दिन थालेपछि मलाई लाग्यो, अब छोरी ठूली भइसकी । आइए पनि पास भइसकी । उसले अब अरु जागिर खाने, बिहे गर्न, बाँकी नै छ । यसले अझै दुःख दिइरह्यो भने त यसको भविष्य बिग्रिन्छ भन्ने पनि लाग्यो । अनि यसलाई छोडपत्र दिने निर्णय गरेँ ।
अर्को दिन तारा मेडमलाई भेट्न गएँ । सबै सुनाएँ । उहाँले गरिव महिलाका लागि निशुल्क मुद्दा हेरिदिने वकिल चिन्नु भएको रहेछ । सम्पर्क गराइदिनु भयो । अधिवक्ता सोममाया थपलियासँग । हामी चितवन बस्दै आएकाले मुद्दा पनि चितवन जिल्ला अदालतमा दर्ता गराउने निर्णय गरियो ।
यही बैशाख दुइ गते मुद्दा दर्ता गरेको बीस गतेदेखि निषेधाज्ञा शुरु भएपछि उसको प्रतिउत्तर लगाउने म्याद पनि थपियो । मुद्दा हालेको थाह पाएपछि त झन राक्षस भएको थियो । छोरीलाई पनि लछारपछार गरेर धम्की दिएको थियो । त्यसपछि फेरि हामी कोठा खोजेर भोजाडमा सरेको एक महिना मात्र हुन लाग्यो ।
त्यहाँ पनि लफडा भयो भने त जाने ठाउँ नै हुँदैन त्यही भएर पुलिसको भ्म्यान लिन जानुभन्दा पहिल्यै म आफै अस्पताल आएकी । ‘के गर्नु’ भन्दै पार्वतीले आँखाभरी आशु बनाइन् । त्यो सब सुनिरहेका सबैको आँखा रसाएका थिए ।
उनका कुरा सुन्दासुन्दा घडीले साँझको छ बजाइसकेछ । अनुज आउने समय भएको थियो । मेरो जाने । सायद उनलाई पनि पालो दिन केही आउँदै थियो । उनी कसैसँग फोनमा कतिबजे आउने भन्ने कुरा गर्दैगर्दा मैले अड्कल काटेकी थिएँ ।
साँझ घर गएर घरको काम सकेर विस्तारामा पल्टिरहदा दिनभरि उनले गरेका कुराहरु सम्झिँदा दशक अगाडिको एउटा आफ्नो विरानो चलचित्र हेरेजस्तो लागिरहेको थियो । टाउको निकै भारी भयो । कसैलाई भनुँ जस्तो पनि लाग्यो । तर, कसलाई सुनाउनु । कम्युटर खोलेँ अनि उनीसँगका सबै कुराकानी सरर लेखिदिएँ । अनि मात्र आनन्द लाग्यो । राति सुत्दा एक बजिसकेको थियो ।
बेलुका ढिला सुतेकाले होला बिहान ढिलै उठेँ । नौ बजे पुग्नुपर्ने । उठ्दै नौ बजेको रहेछ । फोन हेर्दा त अनुजका सात मिसकल, त्यै पनि बिहान चार बजेदेखि लगातार आठ बजेसम्म ।
मन एकदम डरायो । चार घण्टासम्म कति फोन गरेको विचरा † दिदीलाई केही भैहाल्यो कि भनेर निकै डराएँ । फोन साइलेन्समा राखेर सुतेकोमा आफैसँग रिस उठ्यो ।
उठेको मान्छे फेरि खाटमा थचक्क बसेँ । तीन पटक लामो लामो सास तानेँ । हिम्मत गरेर अनुजलाई फोन गरेँ ।
मैले हेलो भन्न पनि नपाउँदै अनुजले ‘दिदी त्यो आन्टीको बुढा बिते नि । त्यै भएर फोन गरेको थिएँ । उठाउनुु भएन’ भनेपछि मात्र मैले सास फेरेकी थिएँ ।
‘ए हो र ! कसरी के भएछ त ? हिजो त ठिकै छ भन्दै थिइन् त ।’
‘दिउँसोसम्म त ठिकै थियो रे । अलिअलि होस पनि आएको रहेछ । राति त एक्कासी गएछन् । टाउकोमा चोट लागेको रहेछ । रगत जमेको रहेछ । त्यसैले गर्दा त्यस्तो भएछ’, म सुनिरहेँ उसको अनुहार सम्झिँदै, जो यसरी सधैका लागि छोडेर जाँदै रहेछ । विचरी पार्वतीले धरै पिडा बोकेर अदालत धाउनु परेको थियो । सोचाइ आइहाल्यो, ‘उनी रोइन कि रोइनन् होला ?’
अनुज भन्दै थियो, ‘तपाईंले पनि उनलाई ‘परेको बेला भन्नु, सहयोग गरुँला’ उसको मुद्दाको सिलसिलामा भन्नु भएको रहेछ । अब केही गर्नु पर्ने भएन, धन्यवाद भन्न खोज्दै थिइन् । तपाइको फोन उठेन । उनीहरु लाश लिएर गए ।’
अनुज बोलिरहेकै थियो । मैले ‘आज म आउँदिन, रमालाई पठाइदेऊ है अस्पताल’ भनेर फोन काटिदिएँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



