
विचौलिया बन्न मलाई अफर आएको थियोे
कविताः आस्था/विश्वास
प्रेमलकुमार खनाल
मलाई अफर आएको थियोे
फेयर गेम खेल्न छोडेर
विचौलिया बन्न आऊ भनेर
तर, अहं मलाई मन परेन
पसिनाको मुल्य कुल्चिएर
अनफेयर खेल खेल्नलाई
आखिर आस्था, आस्था नै हो
विश्वास, विश्वास नै हो ।
वेरोजगारी र असमानताले
वैश्विक संकट उत्पन्न भएको बेला
श्रमको उचित मुल्यका लागि
सारा मानिस मार्क्स खोज्दै हिँडेको बेला
कोही राम राम भन्दै
राम खोज्न थालेका छन्,
तर अहं मलाई ठीक लागेन
आस्था, आस्था नै हो
विश्वास, विश्वास नै हो ।।
झुन्ड कोटरीमा बस्न अफर आएको थियो
व्यक्तिगत फाइदा लिनलाई
तर, अहं मलाई मन परेन
स्वाभिमान बन्धकी राखेर
क्षणिक लाभ लिनलाई ।
मलाई अफर आएको थियो
वर्ग समन्वयको बाटो लिएर
सोसल डेमोक्रेट बन्नलाई
तर मलाई मन परेन
लाखौं करोडौको मुक्ति हुने
वर्ग संघर्षको बाटो छोडेर
यथास्थितिमै रम्नलाई ।
आस्था, आस्था नै हो
विश्वास, विश्वास नै हो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



