
मेरो गर्भ सात महिनाको थियो, उसले अर्की श्रीमती ल्यायो
मुर्दार-३
सविना सापकोटा
मलाई अझै जान्न मन लाग्यो । फेरि सोधेँ, ‘सम्बन्ध कसरी बिग्रियो नि तपाईंहरुको ?’
अलि भावुक हुँदै उनले आफ्नो कथा भन्न थालिन् ।
‘हामी दुवैजनाको घर लमजुङ् बेसिशहरबाट एक घण्टा उत्तरतर्फको ज्यामिरे भन्ने ठाउँमा थियो । उनीहरु हामी सानै छदाँ चितवन झरेका । माडीमा धेरै जग्गा किनेर यतै बसेका । मेरो बाबा र उसको बाबा साथी । मेरो बाबाले यता खोलेसिमलमा अलिकति जग्गा किन्नुभएको थियो । तर, हामीहरु उतै बसैका थियौं । एक घण्टा हिँडेर स्कुल जानुपथ्र्यो । मेरो पढाइ राम्रै थियो । म टेस्ट पास भएँ । बाबाले छोरीले क्याम्पस पढ्ने भइ भन्नुहुन्थ्यो । क्याम्पस पढ्न कि त पोखरा जानुपर्ने कि त नारायणघाट । त्यतिबेला गाउँमा उसको बुवा आउनुभएको थियो । उहाँले नै प्रस्ताव गर्नु भएछ, आफ्नो छोरासँग बिहे गरिदिने । छोरोले व्यापार गर्छ, नानीले पढ्छे । यति सुनेपछि बाबा आमा दुवै खुशी म पनि खुशी ।’
…
मलगायत वरिपरिका अरु चार पाँच जनाले पनि सुनिरहेका थिए । सबैले बीचबीचमा ‘विचरा †’ पनि भनिरहेका थिए । उनी सबैति सरर हेरेर अझ अगाडि बोल्दै गइन् ।
…
‘विहे भएको एक महिनामा एसएलसीको परिक्षा थियो । परिक्षा केन्द्र लमजुङ्, तिनचुच्चे भन्ने ठाउँमा थियो । म पन्ध्र दिनअगाडि माइती गएकी थिएँ । ससुरा बुवा नै छोड्न आउनु भएको थियो । विहेको तामझामा खासै पढ्न नपाएको र साथीहरुसँग मिलेर कोठा खोजेर बस्नुपर्ने भएकाले घरबाट पनि छिटो पठाएका थिए । एसएलसी परिक्षा हुन पाँच दिन मात्र बाँकी थियो, हामी तीनजना एउटा घरमा बस्ने भनेर कोठा पनि खोजिसकेका थियौं । खानेकुराको जोरजाम गर्दागर्दै चितवनबाट खबर पुग्यो । ससुरा बा बित्नुभएछ । जानुप¥यो भनेर मन सिरिङ्ग भयो । के गरुम् के नगरुम् भयो । त्यतिकैमा बाबाले भन्नुभयो, ‘अरु भएको भए त परिक्षा दिएर जाऊ भन्ने थिएँ । घरैका ससुरा खसेपछि त कसरी नजाऊ भन्नु र ? ल हिँड छिटो गरी, म पनि जान्छु’ भन्नुभयो । म अलमलिएको देखेर बाबाले फेरि भन्नुभयो, ‘परिक्षा अर्को बर्ष दिँदा हुन्छ । ढिला नगरी हिँड अब” । हामी निस्ँिकदै गर्दा गएका अरु छ सात जना पनि सँगै निस्केका थिए, ‘देवघाटमा लाश ल्याउँदै छन् रे छिटोछिटो पुगिहालौं’ भन्दै थिए । छिटो पुग्ने हुदा पोखराबाट बुटवल जाँदै गरेको ट्रक चढेर हामी चितवन आएका थियौ । बाबाहरु त्यही दिन फर्किनुभयो । तेह्रौ दिनको काम सकिएपछि मनमा निकै नराम्रो भइरहयो । क्याम्पस जाने सपना त्यतिकै हरायो जस्तो लाग्यो ।’
‘आखिर भयो पनि त्यस्तै । विहे भएको दुई महिनामा थाहा भयो कि म गर्भवती भएछु । त्यसपछि त झन् हरायो पढ्ने सपना ।’
…
‘भुपेन्द्रको मान्छे यता आउनुप-यो’ भनेर उताबाट बोलाएपछि उनि उठेर गइन् । त्यहाँ बसेर सुनिरहेकाहरु मौन थिए ।
‘विचरा ! त्यतिबेला विहे नगर्देको भए पढ्नी रैछन् नानीले । के गर्नु काल जमाना ठिक छैन, शहरमा त्यतिबेला छोरी पढाउन राखेका बाबुआमाले धेरै हण्डर खाको देखेको छु । आफ्नो आफ्नो भाग्य’, एउटा अलि पाको उमेरका पुरुष त्यसो भन्दै आफ्नो विरामीको हालचाल बुझ्न डाक्टर भएको ठाउँमा गए ।
एक छिनपछि उनी आइन् । एउटा दाइले किन बोलाको रहेछ भनेर सोधे । उनले नाक अलिकति खुम्चाउँदै भनिन्, ‘अब खतराबाट मुक्त छ भन्दै थिए केरे डाक्टरले । जे सुकै होस्, आफुलाई यहाँ पासो भएको छ ।’
एउटी दिदीले प्वाक्क सोधिन्, ‘अनि तिमीलाई लाग्नेको माया लाग्दैन त ?’
अनि फेरि उनले भन्न थालिन्, ‘कसरी लाग्छ त लोग्नेको माया । उसले कहिल्यै माया गरेको भए पो माया लाग्ने । यो त मेरो पुर्वजन्मको पाप होला । यसले बाँचुञ्जेल त शान्तिले बस्न दिँदैन, मरेपछि पनि के हो के हो ।’
मैले विस्तारै सोधेँ, ‘के भएको थियो तपाईंहरुबीच ?’
उनले कुरा अगाडि बढाइन्, ‘ससुरा बितेपछि त्यो घरमा मलाई माया गर्ने खासै कोही थिएन । मलाइ पक्का थाहा भयो कि अब मैले पढ्न पाउने छैन । त्यसपछि गर्भवती भएको थाहा पाएपछि त पक्का भयो, अब यत्तिकै रहने भयो पढ्ने रहर । बाउको काजक्रिया सकेर भुपेन्द्रले बजारतिर व्यापार सिक्न भनेर एउटा ठूलो कपडा व्यापारीकहाँ काम शुरु गरेको थियो । महिनामा एक दुई पटक आउँथ्यो । मेरो खासै वास्ता गरेको थिएन ।’
‘मेरो गर्भ सात महिना लागेको थियो । उसले अर्की श्रीमती लिएर आयो । त्यसपछि मेरो वास्ता गर्ने कोही भएन त्यहाँ । दश दिनपछि म माइत गएँ । उतै बसेँ । सुत्केरी भएपछि न्वारन गर्ने बेलासम्म त्यहाँ राखिदिने आग्रह गर्दा पनि उनीहरु नमानेपछि छोरीको न्वारान माइतीमै गर्नुपरेको हो । त्यसपछि पनि कहिल्यै हामीलाइ हेर्न आएन । माइतीमै बसिरहेँ ।’
‘भाइहरु ठूला भएर विहे गरेपछि त्यहाँ बसिराख्न असजिलो भयो । बाबालाई भनँ,े म अब जान्छु, ज्याला मजदुरी गरेर भए पनि छोरी पढाउँछु । शुरुमा त बाबाले मान्नुभएको थिएन । पछि फेरि के सोच्नुभएछ कुन्नी ! ‘गैंडाकोटमा हामीले चिनेका आफन्तहरु छन्, त्यतै गएर बस । काम खोज्न पनि उनीहरुले सहयोग गर्नेछन्’ भन्दै पचास हजार हातमा राखिदिनुभयो । अनि म पाँच वर्षकी छोरी बोकेर यता झरेकी ।’
‘गैँडाकोटमा नाताले काका पर्नेको सहयोगले चौकी नजिकै एउटा कोठा खोजेँ । बाबाले दिएको पैसा थियो । शुरुका दिनमा खान र बस्नका लागि अति आवश्यक सामान किन्न सहयोग भयो । छोरीलाई राम्रो पढाउने धोको मेरो । दुखै गरेर भए पनि अंग्रेजी स्कुल पढाउने मन थियो । त्यतिबेलासम्म म गाउँघरमा काम पाउन थालिसकेकी थिएँ । जहाँ काम गर्न जान्थेँ, छोरी पनि साथै लिएर जान्थेँ ।’
यस्तै काम गर्ने क्रममा एक दिन एउटा परिवार भेटियो, जहाँ म हरेक पन्ध्र दिनमा लुगा धुन पुग्थेँ । परिवार निकै सरल थियो, छोरीलाई निकै माया गर्थे । उनीहरुको आफ्नै विद्यालय रहेछ, सरस्वती इंग्लिस स्कुल । शरद सर स्कुलका प्रिन्सिपल र तारा मेडम व्यवस्थापक ।’
‘एक दिन शरद सरले भन्नुभयो, तिम्री छोरीलाई स्कुल पढ्न पठाउनु प-यो ।’
‘मैले भनिहालेँ, पढाउने त मेरो चाहना हो सर, फेरि खर्च धान्न सक्दिनँ कि जस्तो लाग्छ ।’
‘ए त्यस्तो हो भन्दै सर जानुभयो । काम गरेर घर फर्किने बेलामा तारा मेडमले तिम्री छोरीलाई पढ्न हामीले सहयोग गर्ने निर्णय गरेका छौ । तिमी महिनाको सात सय फिस भरिदेऊ अरु खर्च, किताब, कापी, कपडा सबै आवश्यक चिजहरु हामी उपलब्ध गराउँछौ ।’
‘महिनामा सात सय त कसो नकमाउँला र ? जस्तो लाग्यो अनि हत्तपत्त हुन्छ भनिदिएँ ।’
‘उसोभए भोलि छोरीलाई लिएर स्कुल आउ नाम दर्ता गरौँला । अनि छोरीको नाम के हो नि स्कुलमा राख्ने ?’
‘नाम त राखेको छैन मेडम, सानैबाट सानु, सानु भनेको त्यही हो ।’
‘त्यसो भए तिमीलाई मनपर्छ भने उसको नाम सुशीला राख्दा हुन्छ भनेर मेडमले सुझाव दिनुभयो । मलाई पनि मन प¥यो । साँच्चिकै सुशील थिई मेरी छोरी सानैदेखि ।’
‘तारा मेडमले छोरीलाई मुसार्दै अबदेखि तिमीलाई नाम के हो भनेर कसैले सोध्यो भने सुशीला भन्नु ल भन्नुभयो ।’
‘छोरीले टाउको हल्लाएर हुन्छ भनी ।’
‘मन खुशी भयो, आफुले पढ्न नपाए पनि छारीले राम्रोसँग पढ्ने भइ भनेर । मन कति हलुंगो भयो, भनिसाध्य छैन ।’
(भोलि क्रमशः)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



