
क्याम्पस ‘कोभिड’
लघुकथाः ज्ञापनपत्र
लता पौडेल
परीक्षा सकिएपछि विद्यार्थीहरु फलैंचामा बसेर खासखुस गर्दैथिए ।
‘यो त अति नै भयो’, दुई जना विद्यार्थीको आवाज एकैचोटी सुनियो ।
बेलुका सुत्ने बेलामा मोबाइलमा एसएमएसको घन्टी बज्यो, क्याम्पस प्रमुखको रहेछ । म्यासेज हेरें, ‘भोलि बिहान ठिक सात बजे परीक्षा सम्बन्धमा बैठक बस्नुपर्ने भयो, अनिवार्य उपस्थित हुनुहोला ।’
समयतालिका बमोजिम सामाजिक दुरी कायम गर्दै प्राध्यापक र कर्मचारी सबै भेला भयौं । चालीस-पचास जनाजति विद्यार्थी क्याम्पस प्राङ्गणभित्रै थिए ।
बैठक अनौपचारिक हुने भन्दै विद्यार्थीबाट ‘परीक्षा मर्यादित नभएको विषयमा लिखित गुनासो’ आएकोले यसमा छलफलल गरी निष्कर्ष दिन क्याम्पस प्रमुखले अनुरोध गरे ।
‘के हो कुरो ? यस वर्ष मात्र क्याम्पसले परीक्षा चलाएको हो र ? कोभिडको यस्तो महामारीमा ज्यानको जोखिम मोलेर आइएको छ’, खासखुस आवाज आयो बैठकबाट, प्रमुखले पनि सुने ।
सहायक केन्द्राध्यक्षहरु एन्टिजेन पोजेटिभ रिपोर्ट आएका कारण दुई दिनदेखि होम आइसुलेसनमा थिए । एन्टिजेन पोजेटिभ भएका विद्यार्थीहरुलाई छुट्टै व्यवस्थपना गरी परीक्षा लिइँदै थियो । उक्त वस्तुस्थितिको सबै जानकार थिए । यिनै विषयलाई कोर्ड गर्दै एक जना कमचारीले जङ्गिंदै भने, ‘सर ! यो महामारीमा हामी परीक्षाको जोखिम उठाउन बाध्य पारिएका छौं, अहिलेसम्म कोभिडविरुद्धको भ्याक्सिन लगाउन पाएका छैनौ ।’
यस्तै गुनासो प्रध्यापकतर्फबाट पनि आयो ।
समस्या चर्किने जस्तो लाग्यो क्याम्पस प्रमुखलाई । ‘ज्ञापनपत्र लिएर राखेको र बैठक नबोलाएको भए हुनेथियो होला कि ?’, उनले झट्ट सम्झिए । यहीबेला झ्यालबाहिर आँखा पुगेछन्, देखिहाले, विद्यार्थीहरुले उनलाई नै हेरिरहेका ।
परिस्थितिलाई सहज बनाउँदै उनले भने, ‘कोभिडका कारण त्रिवि परीक्षा नियन्त्रण कार्यालयले उपत्यका बाहिर रहेका परीक्षार्थीहरुलाई आफूलाई पायक पर्ने क्याम्पसमा केन्द्र रोज्न दिएको छ, त्रिविका आङ्गिक क्याम्पसहरुमध्येको पहिलो क्युएए प्राप्त क्याम्पस भएर होला, यहाँ सेन्टर परिवर्तन गर्ने परीक्षार्थीको चाप छ, महामारी भनेर पन्छिने अवस्था अहिले छैन ।’ ‘फेरि विद्यार्थीहरुले पनिकामा मौखिक उजुरी गरिसकेका रहेछन्, पनिकाबाट फोन आएको थियो’ भन्दै उनले परीक्षाको विषयमा सम्वेदनशील हुन अनुरोध गरे ।
अघिसम्म ‘महामारीमा परीक्षाको जोखिम उठाउन बाध्य पारिएका छौं’ भन्ने प्राध्यापक र कर्मचारीका शिर एकाएक निहुरिए । भोलिदेखि परीक्षा मर्यादित हुने आश्वासन दिँदै सम्बन्धित निकायमा ज्ञापनपत्रको बोधार्थ नपठाउन क्याम्पस प्रमुखले विद्यार्थीलाई अनुरोध गरे । त्यहीबेला विद्यार्थीको समूहबाट आवाज आयो, ‘हामी पूर्ण विश्वस्त हुन्छौं है सर ।’
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



