
प्रतिबन्धित प्रेम !
प्रतिमा पन्थी
प्रेमविहिन कोहि मुटु होला र ?
प्रेमविहिन आभास कुनै होला र ?
प्रेमविहिन कुनै कल्पना ? कुनै सपना ?
लाग्दैन प्रेमविना बनेको कुनै भाव हुन्छ …
भलै
प्रायजसो प्रेम प्रतिबन्धित हुन्छ !
निरपेक्ष पनि …
प्रेम अभिव्यक्तिका लागि
समाजले अनुकुलता खोज्छ
फगत जोडिनु र टुट्नुको तादम्यतालाई
प्रेमका प्रकृया ठान्छ
समाजले प्रेम प्रतिबन्धित गर्छ
मुल्य मान्यताको पर्खाल बनाउँछ ।
तर,
वास्तवमा प्रेम त लुकिछिपी बस्छ
यहि समाजको अन्तरकुन्तर
हजारौं हृदयमा
काउकुति लाउँछ
प्रायः अव्यक्त ।
प्रेम अव्यक्त हुन्छ
किनकि यसको अभिव्यक्ति
प्रतिबन्धित … गैरकानुनी ठहरिन्छ !
माया, मोह र बन्धनको पर्खालपछाडि
झाँगिने प्रेमानुभुति
केवल त्यसका लागि भइदिन्छ
जसको हृदयले अनायास साहस गरेको हुन्छ
जन्माउन, हुर्काउन, सुसार्न
अनि लुकाउन
विना कुनै अपेक्षा !
लुकिलुकी जन्मिने
लुकिलुकी हुर्कने
लुकिलुकी प्रायः
हृदयमै समाधिस्थ हुनसक्ने
कुनै परिक्षा
कुनै पास-फेलविना
अमिट भइदिने
भावानुभुति बनिदिन्छ प्रेम ।
प्रेम प्रतिबन्धित हुन्छ !
प्रेम हरकोहिमा हुन्छ !
प्रेमभाव भरिएर
छताछुल्ल पनि हुन्छ
तर,
उहि हृदयको संसारभित्र !
प्रेम शब्दले नपोखिने
नजरले नबाँडिने
कृया र प्रतिकृयामा ननापिने
अव्यक्त
‘प्रतिबन्धित’
सदाबहार
अमुर्त हुन्छ !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



