
ट्वाइलेट प्रयोग गर्दा त दुर्गन्धको पीडा सहनुपर्छ, ममी कसरी बेड सेयर गर्नु हुन्छ ?
लघुकथा: बाध्यता
लता पौडेल
छोरो कोठामै बसेर पढ्दै थियो । छोरीले आन्द्रै पल्टिने गरेर वाक..वाक गर्दै कराई ‘ए ममी ! अति नै भयो, म त ट्वाइलेट जान, बस्नै नसक्ने भएँ ।’
‘फ्लस गर न नानी मज्जाले, यो हाम्रो बाध्यता हो’, लक्ष्मीले भान्साबाटै भनिन् ।
बिहानभरि लक्ष्मीले हरपिक राखेर ट्वाइलेट सफा गरेकी थिईन् । दैनिकजसो बिहान उठेर उनको पहिलो काम ट्वाईलेट ा हरपिक राखेर सफा गर्ने हुन्छ । तैपनि ह्वास् ह्वास् गनाएर खप्नु हुँदैन । ‘ट्वाइलेट गयो कि कतिबेला बाहिर निस्कनु हुन्छ उकुसमुकुस भएर’, लक्ष्मीले आफ्नो पीडा सम्झिईन् ।
‘कति भन्यो उहाँलाई लाग्ने होइन । ठेक्कापट्टाको चाङ, ठेकदारहरुको भिड, उहाँ सडक डिभिजन कार्यालयको हाकिम । ‘त्यसैले यहाँसम्म ल्यायो उहाँलाई, आफ्नोबाहेक घरपरिवार सम्झने फुर्सद छैन’ लक्ष्मीले मनमनै भनिन् ।
‘उहाँ आजै इलामबाट ताप्लेजुङ्तिर साइड हेर्न जानुभयो सातादिनको लागि । मेरो पनि अहिले स्कूल जानुपर्दैन, कक्षा ९ र १० को अनलाईन क्लास भएकोले । साउन महिना करेसाबारीको काम पनि खासै छैन’, लक्ष्मीले यति कुरा सम्झँदै फोन हातमा लिएर नम्बर डायल गरिन्, ‘भाइ अन्यत्र फुर्सद मिलाएर भए पनि दुई चार दिनको लागि हामीकहाँ आइदिनु हुन्थ्यो कि ? ’
‘किन मेडम ? के पर्यो त्यस्तो ?,’ उताबाट ठेकदार रामु बोले ।
श्रीमान् इन्जिनियर । उनले आफ्नै डिजायनमा घर बनाएका थिए । उहीबेला उनले लक्ष्मीसँग भनेका थिए, ‘पछि यसलाई एटेज ट्वाइलेट बनाउन सकिन्छ, अहिले पाइप राखिछोडौं’ लक्ष्मीले झट्ट कुरा सम्झिन् ।
‘हाम्रो कोठाको त्यो पिलरको साइडमा कुनो छ नि, त्यसैलाई प्रयोग गरेर एटेज ट्वाइलेट बनाउनु पर्यो । साता दिनजतिमा सकएिला नि होइन ?’, लक्ष्मीको कुरा सुन्दासन्दै रामुले उताबाट ‘हुन्छ नि मेडम भनिहाले ।’ उनै थिए घर बनाउने ठेकदार ।
घर बनाउँदाकै टुक्रटाक्री इँटा बाँकि थिए । लक्ष्मीले हाडवेर पसलमा फोन गरेर एउटा ट्वाइलेटको लागि पुग्ने टायल, सिमेन्ट, कम्बोड, धारा सबै पठाइदिनु भनिन् । घर बनाउँदा त्यहींबाट रड, सिमेन्ट लगायतका सामान ल्याएको हुनाले पसलेले पैसाको कुरै नगरी सामान पठाइदिए । ढोकाका सामान पनि तयारी पाइने भएकाले रामुले आफूसमेत लागेर दुई दिनमै ट्वाइलेटको काम सकिदिए ।
निरन्तरको झरिले गर्दा सात दिनको लागि फिल्ड गएका श्रीमान् पाँचै दिनमा फर्किए । उनी कोठामा पस्न पाएका थिएनन्, कराइहाले ‘यो सब के गरेको ? सोधखोज छैन, तिमीलाई एटेज ट्वाइलेट चाहिहाल्यो है ? सक्दिन म यसको पैसा तिर्न, तिर आफैं ।’
प्रतिवाद गर्दा कतिपटक श्रीमानको लात खाएकी छन् उनले, ‘बिचरा लक्ष्मी केही बोलिनन् ।’
आमालाई हकारेको कोठाबाट सुनिरहेकी छोरीले भने प्यासेजमा निस्किएर भनी, ‘बाबा हजुरको यो रक्सि र चुरोट पिउने बानीले हामी एउटै ट्वाइलेट बाथरुम जान सक्दैनौ, कसलाई भन्नु यस्तो कुरा ?’
एउटै ट्वाइलेट प्रयोग गर्दा त दुर्गन्धको यस्तो पीडा सहनुपर्छ । ‘विचरा ममी ! कसरी बेड सेयर गर्नसक्नु हुन्छ हजुरसँग ? के त्यो पनि बाध्यता हो ? ‘, यति भन्दैभन्दै छोरी आफ्नो कोठातिर पसिन् ।
स्नातक तह पढ्दै गरेकी छोरी समाज बुझ्ने भइसकेकी थिइन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



