
अटल यो मुटुमा कता के पलायो, नशालु त्यो तिम्रो नजरले गलायो
विधा: गीत
बोल: ‘मलाई माया गर्ने’
हरिप्रसाद गौतम
मलाई माया गर्ने, केवल तिमी हौ,
यो मन चोर्न सक्ने केवल तिमी हौ ।
केवल तिमी हौ, यी आँखामा बस्ने
केवल तिमी हौ, यो दिलभित्र पस्ने
यति धेरै माया गरी मन पगाल्ने
त्यो ढुकढुकीसँग यो मनलाई अँगाल्ने !
मलाई माया गर्ने, केवल तिमी हौ
यो मन चोर्न सक्ने केवल तिमी हौ ।
कति माग्न आए खालि मेरो हात
कति रम्न खोज्दै डुले मेरो साथ
सकेन कसैले मेरो सामु पर्न
लुकेर कसैले यति माया गर्न
मलाई माया गर्ने केवल तिमी हौ
यो मन चोर्न सक्ने केवल तिमी हौ !
हिजोसम्म कोही थिएन यो मनमा
आयौ मुस्कुराई मेरो यो जीवनमा
अटल यो मुटुमा कता के पलायो
नशालु त्यो तिम्रो नजरले गलायो !
मलाई माया गर्ने केवल तिमी हौ
यो मन चोर्न सक्ने सिपालु तिमी हौ
त्यो दिलकी म रानी र राजा तिमी हौ
मलाई माया गर्ने तिमी नै तिमी हौ !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



