
क्षमता, धैर्य, साहसका धनी खोजेर कतै नपाइने
बुबा गोविन्द घिमिरेप्रति समर्पित कविता
गौरीशंकर भण्डारी
ढाका टोपीमा ठाडो शिर हुन्थ्यो
सपक्क जुल्फी शिरमा
सफा सफेदी फिटिङ्ग कपडा
उच्च देखिने व्यक्तित्वमा ।
उच्च मनोबल, ठुलो हँसाइ
मुस्कान सधैँ मुहारमा
सम्झाउँदै बुझाउँदै हिँड्नुहुन्थो
गाउँ छिमेकीलाई बाटामा ।
राजनितिमा चासो उतिकै
विश्वास प्रगतिवादमा
सबैका प्रिय, सबैका मान्य
साथीभाइ छिमेकी घरगाउँमा ।
गाइ भैँसी घरका स्वरैले चिन्थे
आशाले नजिक आउँथे
दया र माया असाध्य पाउँदा
प्रीतिको गीत गाउँथे ।
फरुवा हलो कोदालोसँगै
पसिना खेतमा बगाउने
कृषि र शिक्षा सँगसँगै लिई
आर्थिक स्तर उठाउने ।
इन्साफ गर्दा, पढाउँदा उस्तै
दत्त र चित्त लगाउने
शिक्षाक तथा विद्यार्थीसँग
समताभाव देखाउने ।
सामाजिक छेत्रमा उत्तिकै उच्च
चासो र चिन्ता दुस्खीको
खोजी नपाइने सबैलाई चाहिने
इष्ट र मित्र गाउँघरको ।
कला र कौशल असाध्य थियो
रउसे थियो स्वभाव
वक्तृत्वकला तगडा थियो
थिएन कुनै अभाव ।
मनका धनी धनका दानी
दुःखमा पनि हँसाउने
क्षमता, धैर्य, साहसका धनी
खोजेर कतै नपाइने ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



