
किन ती यात्रुहरु अल्मलिएका होलान् ?
कविता
प्रेमलकुमार खनाल
रातको चिसो कहरमा
ऊ परको डाँडामा
हिँडदै गरेका यात्रुहरु
बाटो बिराए झै
अलमल परे झै
कोलाहल आवाज आए झै
त्यसको प्रतिछाया देखियो मेरा आंखा वरिपरि
त्यसको प्रतिध्वनि आइपुग्यो मेरा कान भरि
म रातको समयमा झसङ्ग भए
किन ती यात्रुहरु अल्मलिएका होलान् ?
के समस्या पर्यो होला उनीहरुलाई ?
मैले धेरै गमे
सोचेँ, विचार गरेँ
अहं उत्तर फेला पर्दैन
फेरि सोचेँ
कतै उत्तर फेला पर्दैन
माथि घरको छतमा गएर वरिपरि गएर हेरेँ
अहं उत्तर फेला परेन ।
छतबाट तल भर्याङ्गमा ओर्लिदै गर्दा
मैले गमेँ
ती यात्रुमध्ये अगुवाले बाटो पुरानो रोजेछ
र त ती यात्रुहरू अल्मलिएका रहेछन् ।
त्यहाँ त नयाँ बाटो बनिसकेको थियोे
तर अगुवा पुरानै बाटो हिँड्न बानी परेको थियोे
त्यसैले यात्रुहरुले दुखः पाएछन् ।
अब के गर्ने होला यो रातमा ?
अब भोलि बिहान उज्यालो हुने बित्तिकै
उठेर भनी दिनु पर्दछ, ती पल्लो गाउँका मानिसलाई
न्याय, विकास र समृद्धिका लागि हिँडेका
ती अल्मलिएका यात्रुलाई
गन्तव्यमा पुग्ने नयाँ बाटो देखाइ दिनु भनेर ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



