पर्दा, पर्दैपर्दा, पर्दापछाडि

पर्दा …

प्रतिमा पन्थी

यो पर्दै-पर्दाको संसार
यहाँ कैंयौं सत्य जन्मिन्छन्
हुर्कन्छन् र समाधिस्थ हुन्छन्
पर्दापछाडि …

रंगहिन पर्दाहरुले छोपेका
रगिंन संसार, चाहना, रहर
एउटा छुट्टै पहिचान, अस्तित्वका
कथाहरू …
कथित संस्कारका पर्दापछाडि
आर्तनाद गर्छन् जिउनका लागी
जन्मन्छन्, हुर्कन्छन् र समाधिस्थ हुन्छन्
पर्दापछाडि …

यो पर्दा जुन सदियौंदेखि
झुन्डिएको छ …
हलचल त छ तर पक्षपाती छ
यो रंग, वर्ग, लिंग धर्म र धन हेरेर सर्किन्छ…

सबैले एकपटक नियालेर हेर
आफुभित्र, भेट्ने छौ
संसारले नचिनेको आफु
जसलाई आफ्नो मनले मात्र चिन्दछ
जुन सबैभन्दा प्रिय छ !

यो पर्दै पर्दाको संसार
यहाँ प्राय सबैका सत्यले
घामको राप स्वतन्त्र ताप्न पाउदैंनन्
सबैका सत्यहरु मनको पेरिफेरिबाट फुत्कन पाउदैंनन्
सबै सत्यहरु पर्दा सर्काइ, प्रकट हुन सक्दैनन्

यो संसारले पर्दा बनाएको छ
कैयन सत्य लुकाउन
केवल एउटा निश्चित प्लटमा
जीवनरुपि नाटक मन्चन गर्न
सभ्यताका नाममा प्रकृतिलाई नियन्त्रण गर्न !

यहाँ हरेक मनमा भित्र
छुट्टै संसार बनेका हुन्छन्
भित्र भित्रै जमेका हुन्छन्
यहाँका नियम दोषि छन्, अपराधी छन्
यिनको बर्बरतामा पनि
सत्यहरु जन्मिन्छन् हुर्कन्छन्
र …
समाधिस्थ हुन्छन् पर्दा पछाडि !!

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button