
जञ्जीरभित्र यौवन
कविता
लक्ष्मी रायमाझी
विराटनगर
घरपालुवा हुँ म
इमान्दार वफादार छु
दायाँ बायाँ कतै नसोची
नुनको सोझो गर्छु
मानिसको प्रिय जन्तु म
प्रेमले राख्छन् मेरो नाम
उनीहरूको जस्तै
उनीहरूको
मायामा समर्पित छु
साह्रै स्नेहले
दिन्छन् खान, बस्न
मायाले
छपक्कै ढाकेर गर्छन्
स्याहार सुसार
म पनि
फुरुङ्ग पर्दै जान्छु
बढ्दै जान्छु
हुर्कँदै जान्छु
र, मसँगसँगै भरिँदै जान्छ
मेरो यौवन पनि ।
म घरमा
एकल भएर
पालिएको जन्तुलाई
त्यो कात्तिक
कहिले आउँदैन
फलामको जञ्जीरले
मलाईभन्दा बढी
मेरो यौवनलाई
बाँधेर राखेको हुन्छ
फुस्कनै नसक्ने गरी ।
विडम्बना !
मेरो
प्रजनन् शक्तिको
हत्या गरिन्छ
प्राकृतिक
सृष्टिचक्रमा
अन्याय हुनेगरी
मेरो
रातदिनको भुकाईमा
मालिकको
रखवाली मात्र
सम्झिन्छन् उनीहरू
मेरो नैसर्गिक अधिकारबाट
बन्चित छु म
सधैँ सधैँ
कहिले विचार गर्दैनन्
म भित्रको
आसयको आँसु
कहिले नियाल्दैनन्
अपसोच !
म त्यो
न्यायलयको खोजी गर्दै
कैयौँ पटक
भुकेको हुन्छु
मलाई थाहा छैन
मेरो नैसर्गिक
चाहनाले
ढकढक्याएको
अदालतको ढोका
उघ्रिन्छ
या उघ्रिदैन
कुनै दिन
प्रतीक्षा गर्दै
बार बार
आवाज
उठाइरहेछु
भुँ भुँ भुक्भुक्भुँ
भुँ भुक्भुक्भुँ !!
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)




bejodko kabita, bujhne laee vari , akhir youbanma younko chahana kun prani laee hudain ra, tara yesto marka nabujhne ta manis nai ho ni.