
‘टेका टेका तेरो स्वास्नीलाई टाउकोमै टेका’
कथाः उपेक्षित भावना
बबिता ढुङ्गेल
भावनालाई कामले कहिले फुर्सद छैन । कार्यालयको काम सकेर घर फर्कन जतिसुकै ढिलो भए पनि कामधन्दा उसैका लागि थुप्रिएका हुन्छन् । लाग्छ ती सबै उसैका पेवा हुन् ।
आफूभन्दा छ महिना कान्छी नन्द घरमै भए पनि कसैले उसलाई काम अह्राउँदैनन् । ऊ स्वयमले बुझेर गर्ने कुरा त सोच्दै नसोचे भयो । घरमा बाह्र कक्षा पढ्दै गरेकी भान्जी पनि छिन् ।
भावनाका श्रीमान भने कामको सिलसिलामा प्रायः बाहिर गइरहन्छन् । चाडबाडमा मात्र घरमा हुन्छन् उनी । भावनाका देवर निजी कम्पनीमा काम गर्छन् । कमाई पनि राम्रै छ । आजभोलि घरमा उनको विवाहको चर्चा चलिरहेको छ ।
सधैँ सबेरै नउठे घरमा कामधन्दा सकिदैन । कार्यालय जान अबेर हुने । शनिवार अलि ढिलो उठ्न मन लाग्छ उसलाई । उसको मनको इच्छा कसले पो बुझ्छ र ?
‘हैन, आज हामीलाई चियापानी खुवाउन मन छैन कि क्या हो ?’, ससुराकोे आवाजसँगै भावना विउँझिन्छे ।
झण्डै छ नै बजिसकेछ । आलस्यले जिउसमेत तन्काउन नपाउँदै भान्छातिर हानिन्छे ऊ ।
‘घरका बुहारीले यतिञ्जेलसम्म सुत्ने होे ? आमाबुवाले सिकाएनन् कि क्या हो ? यहाँ ग्याष्ट्रिक हुने बेला भइसक्यो, चियापानी नपाएर । सधैँ अराउनु पर्ने’, छोरा आएपछि यी सबै कुराको बेलिविस्तार नलगाई भएको छैन, हेपेकी छे हामीलाई भन्दै सासू जङ्गिदा नरमाइलो लाग्छ, भावनालाई ।
कसैले नदेख्ने गरी आँसु पुछ्दै आफ्नो काममा लाग्छे । कसैसँग प्रत्युत्तर गर्दिन ऊ । यस्ता कुराको ओठे जवाफ दिन त ऊ पनि नसक्ने र नजान्ने त थिइन । तर, उसले बोली हाल्नु उचित ठानिन । अहिले उसले एक शब्द बोली भने भोलि तीन शब्द अझै थपिएर बोलेकी थिई भन्ने आरोप लाग्छ उसलाई । उसको पक्षमा बोलिदिने त यहाँ को नै छ र ! सम्झिएर भावुक हुन्छे ।
उसैले कमाएको पैसाले घरखर्च टार्नु परेको छ । पैसाको नाममा फुटेको कौडी निकाल्दैनन् कोही त्यस घरमा । देवरले तलब बुझेर आएको दिन ‘यो पैसा एक सुको पनि नचलाई राख, तेरो विवाह गर्नुछ । विवाह खर्च त दरै लाग्छ नि । फेरि, तेरो विवाहमा अरुले साथ सहयोग पक्कै गर्ने होइन होला’ भन्दै भावनालार्ई व्यङ्ग्य गर्छिन् सासू ।
भावनाका श्रीमानले घर खर्चका लागि दिएको पैसा र भावना स्वयमको आम्दानीले घरखर्च चलिरहेको छ । आफूले दुःख गरेर कमाएको पैसाले आजसम्म पनि उसले आफ्नो व्यक्तिगत चाहना पूरा गर्न पाएकी छैन ।
आमाको मुख हेर्ने दिन आफू माइत जान त कहिल्यै पनि पाउँदिन ऊ । उता आमा भने चाडवाडमा त आइज है, साह्रै नरमाइलो लाग्छ भएकी एउटी छोरी पनि नआउँदा भनेर गुनासो गरिरहनुहुन्छ । यो पाली यस्तै भयो आमा ! अर्को वर्ष जसरी पनि आउँछु भनी टारिरहन्छे ऊ । यसपाली भने जाने कसैको हातमा आमाका लागि कपडा र ड्राइफ्रुट पठाइदिन्छु भनेर किनेकी हुन्छे । त्यो पनि माइत आएकी आमाजूले ‘आफू नगएपछि किन पठाइरहनु प-यो । राम्रो रहेछ, बरु माइतीले किनिदिएको भनी म नै लगाएर घर जान्छु’ भनी लिन्छिन् । भावना अक्क न बक्क पर्छे । आखिर उसले माइती आएकी आमाजूको लागि कुर्था सुरुवाल त पहिले नै किनेर दिएकी हुन्छे । जति भए पनि धित नमर्ने ! उसलाई रिस उठ्छ । तर सहन्छे ।
नन्दको त कुरै छोडौँ । कि त टिकटक कि त घण्टौँसम्म मोबाइलमा कुराकानी । अझ, भाउजूले पकाएका खानेकुरा मिठा भएनन् भनेर अनेकन लाञ्छना लगाउनु त उसको दिनचर्या नै हुन्छ । भावनालाई कहिलेकाहीँ त आफै पकाएर हामीलाई पनि खुवाउनुहोस न भन्नु जस्तो त लाग्छ । तर त्यसको बदलामा कति खप्की पो खानुपर्ने हो भनेर चुपचाप बस्छे ऊ ।
साउनको झमझम झरी । पानी रोकिने कुनै छेकछन्द नै छैन । कार्यालयबाट घर त जसरी पनि ठिक समयमा घर पुग्नु नै छ । ढिला भयो कि सबैबाट इन्टरभ्यु सुरु भइहाल्छ । रेनकोटले समेत थेगेन पानी । ऊ निथ्रुक्क भिज्दै घर पुग्छे । घर पुग्दा कसैले गेट खोलिदिए पनि छिट्टै भित्र छिर्न पाइन्थ्यो नि । उसको कल्पना मात्र हुन्छ, त्यो । गेट खोलीवरी स्कुटर थन्काएर आउँदा ऊ झनै भिज्छे ।
घरका सबै जना फिल्म हेरिरहेका हुन्छन् । उसको कोठाको झ्यालबाट पानी छिरेर बिस्तारा पनि भिजेको हुन्छ । सायद ऊ घर बसेकै बेला भिजेको भए, त्यसमा पनि उसले लापरवाहको संज्ञा पाउँथी होला ! तर, त्यो दिन त्यहाँ कोही लापरवाह भएनन् । ए, बिर्सिएछ । कुरा त्यतिमै सकिन्छ ।
भाउजू तातो चिया खाउँ न । यहाँ सबैलाई खान मन लागेको छ रे । भावनासँग ‘हवस्’, ‘भै हाल्छ’, ‘म बनाई हाल्छु’ भन्नुको विकल्प नै छैन ।
ऊ भान्छामा जान्छे । छिर्ने वित्तिकै परौठा बास्ना आउँछ । छोपेर राखेको थालमा के रहेछ भनी उठाएकी मात्र हुन्छे । थाल चिप्लिएर भुईँमा झर्छ । ‘भान्जीले एउटा परौठा खाएर बाँकी परौठा पछि खान्छु भनेर साँचेकी थिई । झा-यौ कि क्या हो ?’ भन्ने सासूको प्रश्न आउँछ । थालमात्र हातबाट चिप्लिएको हो भन्ने जवाफ त उसले दिन्छे तर मेरा लागि चाहीँ परौठा खै त ? भनेर सोध्ने हिम्मत भने गर्नै सक्दिन । भोकप्यासले राँकिएर आएकी उसमा पनि तातो खाजा खाने रहर त पक्कै थियो होला नि, कसले बुझ्ने त्यो कुरा । उम्लिएको चियासँगै रापिएर बस्छे ऊ ।
कहिलेकाहीँ त ‘भान्जीले दालसित भात खान्न भन्दै खान लागेको तरकारीबाट समेत आधा राखिन्थ्यो । के गर्नु त्यो केटाकेटी, तिमीले त दाल र अचार सित खाए पनि हुन्छ नि’ भन्दै सासूले तरकारी खन्याउँदा भावनालाई मुखकै गाँस खोसिएझैँ लाग्थ्यो । तर सहनशीलता भने राम्रै थियो उसमा ।
एकदिन कुरैकुरामा देवरले म त भाउजूजस्तो केटी त विवाह गर्दिन । न त लुगाकपडा लगाउने ढङ्ग छ न त श्रृङ्गारिने नै भन्छ । उसले पनि भाउजूको सरलपनको धज्जी उडाउँछ । भावना नाजवाफ भएर हाँसीमात्र रहन्छे । मलाई राम्री हुने र श्रृङ्गारिने फुर्सद छ र ? भनी मौन प्रश्न गर्छे ।
श्रृङ्गारकै कुरा गर्ने हो भने विवाह भएको तीन वर्षसम्म पनि उसले माइत जान पाएकी छैन, न त तिज न त तिहारमा नै । तिजमा जान खोज्दा ‘नन्द, आमाजू र अनि फुपूसासूहरु जम्मा हुन्छन् । म एक्लैले के के गर्नु । फेरि तिमी गयौ भने रमाइलो पनि हुँदैन’, सासूको जवाफ आउँथ्यो । त्यो कुरामा कति स्वार्थ छ भन्ने कुरा उसले मात्र बुझेकी छे ।
दरखाने दिन जम्मा भएका सबै श्रृङ्गारिएर पुतली झैँ हुन्थे । नाच्थे, गाउँथे । भावना भने एक्लै भान्छामा व्यस्त हुन्थी । बेलाबेलामा अझै पाकेको छैन भनि प्रश्न गर्न आउने त हुन्थे । तर सहयोग गर्न आउने भने कोही हुँदैनथे ।
तीजको दिन त आफू भोको बसेकी भए पनि सबैको पेट टन्न पार्नु पथ्र्यो उसैले । त्यसमा पनि सबैको इच्छा भोजन गराएर । यो पनि भोकै छे, यसलाई केही सहयोग गरिदिउँ भन्ने भाव त पटक्कै थिएन कसैमा ।
राम्रा राम्रा लुगा–कपडा अनि गरगहना लगाएर अनेकन पोज दिँदै फोटो खिच्थे सबै । बेला बेलामा तिमी पनि आउन त भनी बोलाइन्थ्यो । ए, लुगा त गतिलो लगाएकी रहिनछिन् । यिनले गर्दा त फोटै राम्रो आएन । फेरि खिच भन्दै भावनालाई हटाएरसमेत फोटो खिचिन्थ्यो ।
यसपाली भने तिहारको भोलिपल्ट पनि भावनाका श्रीमान् घरै थिए । भावनाकी आमाजू पनि घर फर्किएकी थिइनन् । तर भावनाको भने कार्यालय सुचारु भैसकेको थियो ।
लुगा धुनु पर्ने भएकाले ऊ वासिङ् मेसिनमा कपडा राख्न गई । केही कपडा पहिले देखिनै मेसिनमा थिए । त्यसैमा आफ्ना कपडा पनि थपथाप पारेर मेसिन चलाई उसले । भान्छाकै काममा ढुन्मुनिदा ढुन्मुनिदै मिसिनले लुगा धोइसकेपछि दिने संकेत नै सुनिन उसले । लुगा त आमाजूले झिक्नु भएछ । त्यसमा भावनाकासमेत लुगा मिसिएको देखेपछि त के निहूँ चाहियो र ! बबाल गर्न थालिहाल्नु भयो ।
भावना भने सबैलाई बाँडेर आफु पनि चिया खानु प-यो भनी टुसुक्क मात्र के बसेकी थिई । ‘टेका टेका तेरो स्वास्नीलाई टाउकोमै टेका’ भन्दै आमाजू भावनाका श्रीमानलाई गाली पो गर्न थाल्नु भयो । हैन के कुरा हो दिदी ? किन त्यसै रिसाउनु भएको ? यसले के बिराई ? भावनाका श्रीमानले एकैचोटी प्रश्न माथि प्रश्न गर्दा त झन् आमाजूको त रिस पराकाष्टामै पुगेछ कि क्या हो ! हातमा भएको चियासहितको कप नै भित्तातिर हुर्याइदिइन् । प्लेट त झन् चिरिप्पै फुट्यो ।
‘किन यी सबै गतिविधि देखेर पनि तँ अनदेखा गर्छस् ? तेरी स्वास्नीले त्यसका लुगा हाम्रो सँगै मिसाएर हाल्ने हो ? आफूभन्दा मान्यजनलाई आदर गर्नु पर्छ भन्ने थाहा छैन यसलाई ? हेपेकी हो हामीलाई यसले’, दिदीका कुराले भावनाका श्रीमान छक्क परे । घरमा वासिङ्ग मेसिन ल्याउनु अघि घरका सबै सदस्यले थुपारेका लुगा भावना एक्लैले धोएको दृश्य पनि भावनाकी आमाजूले देखेकै थिइन् । त्यसबेला चाहीँ उनी ‘बुहारी भएपछि घरको काम गर्नु त पर्छ नि’ भन्दै हिँड्थिन् । त्यो पनि भावनाका श्रीमानले देखेका थिए ।
घरका सम्पूर्ण सदस्यले भावनालाई गर्ने व्यवहारका बारेमा त उनले पहिले पनि चाल नपाएका त कहाँ हो र ! परिवार नबिथोलियोस् भनेर अनदेखा, अनसुना गरिरहेका थिए उनी । आज त उनले प्रत्यक्ष व्यहोरे । उनले भावना अनि घर परिवारका अन्य सदस्य सबैलाई राम्ररी चिनेका थिए । भावनाले आफ्नै कमाइले घरमा ल्याएको मेसिनमा समेत उसकै लुगा धुन नपाउनु ? ऊ माथि निकै अन्याय भएको थियो । पहिला पहिला त लुगै हालेको केसमा त कहिले यस्तो लाञ्छना सुन्नु परेको थिएन भावनाले ।
बेलुका घरका सबै सदस्य भेला भए । भावनाका श्रीमानले आफ्नै घरको सदस्यमाथि अभद्र व्यवहार भएकामा खेद प्रकट गरे । आमाजूको रिस अझै साम्य भएको रहेनछ । उनले जङ्गिदै ‘बरु तिमीहरु बेग्लै बस । मेरो कान्छो भाइले हेर्छ सबैलाई’ भनेर कुराको टुङ्गो लगाइदिइन् । आमाजूकै कुरामा बहुमतको सहमती भयो । भावनाले नचाहँदा नचाहँदै सबै कुरा भयो ।
हप्ता दिन पनि नबित्दै, उनीहरुलाई बेग्लै बस्न भनियो । मंसिरको अन्त्यतिर त भावनाका देवरले पनि प्रेम विवाह गरेछन् । श्रीमती पनि उनले भनेझैँ लुगाकपडा मिलाएर लगाउने, सुन्दर श्रृङ्गारमा सजिने नै पाएछन् । भान्साका काम त परै जाओस् आफूले खाएको चियाको कप पनि भान्सासम्म पु-याउँदिनन् रे उनी ।
जेठी छोरीले घरपरिवार बिथोलेर गई । छँदाखाँदाको काम गर्ने बुहारीलाई घरबाट पठाइयो आज यो उमेरमा पनि बुहार्तन खेप्नु परेको छ । घरमा आउने जाने पाहुनालाई मनको बह पोख्नुहुन्छ रे भावनाकी सासू । तिनै पाहुनाले भावनालाई सुनाउँछन् ।
जे जस्तो भए पनि आफ्ना घर परिवारप्रतिको श्रद्धाभाव हराएको छैन भावनामा । ऊ सासू ससुरालाई ‘मन लागे अझै पनि हामीसँगै आएर बस्न सक्नुहुन्छ, हजुरहरुका लागि हाम्रो घरको ढोका सदा सर्वदा खुला छ’ भन्ने सन्देश प्रवाह गरिरहेकै छे ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



