
ठूलो भूँडी देखाएर फेसबुकमा फोटो राखे भाइरल भइन्छ रे अन्टी
लघुकथा: कुभिण्डे भूँडी
मित्र ‘उराठी’ गौतम
अमरपुर, गुल्मी ।
बारीबाट घाँस लिएर फर्कंदा घर भित्र कल्याङमल्याङ् सुनिन् फूलमतीले ।
‘ले ले यता खिच्, हैन यसरी खिच्, अलि उताबाट खिच् ।’
बिच बिचमा खित्का छोडेको आवाज पनि सुनिन् ।
‘हैन, गाउँभरिका को को बटुलेर के गर्दै छे मखमली ?’, भन्दै हतारहतार भित्र पसीन् ।
‘ल हेर ! विऊको लागि पालीमा राखेको कुभिण्डो सत्यानास पारे नि । अझ मेरै मेक्सी लगाएर के गर्न आँट्यौ ए नखरमाउलीहरु ?’
हत्तपत्त मखमलीको हातबाट आफ्नो मोवाइल खोसीन् र एक एक गर्दै फोटाहरु हेरीन् ।
‘लौ न के अलच्छिन् गरेका यस्तो ?’, च्याठ्ठिँदै सोधिन् फूलमतीले ।
भर्खर १२ वर्ष लागेकी मखमलीकी साथी मालतीले जवाफ दिन्छे, ‘ठूलो भूँडी देखाएर फेसबुकमा फोटो राखे भाइरल भइन्छ रे के अन्टी । त्यसैले हजुरको मेक्सी लगाएर त्यसभित्र कुभिण्डो राखी फोटो खिचेको नि ।’
‘भोलि हेर्नु होला नि कति लाइक कमेन्ट आउँछ’, डराइ डराइ मखमलीले कुरा थपी ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



