
पुरुष भने मर्द रे, जति ल्याए सुहाउने ?
कविता
भावना संगीतप्रेमी
अब नारी बाल्दै आऊ
चेतनाको दियो
समानताको माला गाँस्न
ल्याऊ दरो सियो ।
थोरै कमजोर भए तिमी
अर्की स्वास्नी चुन्छन्
नारी भने यो समाजमा
किन बिधुवा हुन्छन् ?
पुरुष भने मर्द रे
जति ल्याए सुहाउने
नारीलाई समाजले
एक्लो बनाई रुवाउने ?
अन्धभक्त चुपचाप बसे
हुन्न लक्ष्य पुरा
चिर्नै पर्छ
नारी शोषण दमनका कुरा ।
नारी तिम्रो थाहा पाऊ
अधिकार छ पुरा
खोल्नु हुन्न तिमीले पनि
रातो पहिरन, चुरा ।
चार दिवारको संघारभित्र
तिम्रो भूगोल हैन
आउला एकदिन पालो भन्दै
कुर्ने बेला छैन ।
जात, धर्म, लिङ्ग, वर्ण
मानव बराबरी
आफैं भाँच्नुपर्छ
तिम्रो जिन्दगीको छडी ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



