के तिमीलाई पनि यस्तै हुन्छ ?

कविता: तिमी अनि म

विद्या खड्का

तिमी अनि म
हामी भएको दिनदेखि
मेरा सपनाहरू
हाम्राबीच कतै लुप्त छन्
हरेक पल
हाम्रा सपनाहरू
पूरा गर्दागर्दै
कतै गर्भगृहमा
बिलाएका मेरा रहरहरू
कहिलेकाहीँ
बिझाउँछन् चसक्क
थाकलका काँडा बनेर
झन्झनाउँछन्
परेलीका डीलसम्म
जोडतोडले
बल लगाउँछु
पलक उघार्न
बिउँझिन दिंदैनन्
पाएका कुराहरू
पछ्याउँछन् याद बनेर
गुमाएका सपनाहरू ।

धेरै पर
भागिसकेको समयको रफ्तारलाई
भेट्टाउन खोज्छु
कतै ओसिला भुईंभरि
छरिएका रहरहरू
बटुल्न खोज्दाखोज्दै
पोल्टाका खुसीहरू
पोखिने त होइनन् !
थर्थराउँछन् पाईलाहरू
र, अडिन्छु तटस्थ ।

के, तिमीलाई पनि यस्तै हुन्छ ?
तिम्रा पनि त होलान् नि
केही थान भत्किएका सपनाहरू !
अधुरा, अपुरा रहरहरू !
हाम्रालाई परिपुर्ण बनाउने धुनमा ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button