मदनमणि माड्साबसँगै जर्मन महाकवि गेटेकाे वन्यघरमा

अरविन्द रिमाल

प्रकाशप्रसाद उपाध्यायले अशाेक सिलवालसँग चिनाए । अशाेकले ‘नेपालनाम्चा’सँग मितेरी लगाई दिए । अनि ‘नेपालनाम्चा’ले ‘कान्तिपुर’ प्रकाशन आरम्भताकाका युवा मित्र जिवेन्द्र सिम्खडासितकाे २८ वर्षअघिकाे सम्बन्धलाई नाैजवान बनाई दियाे ।

यो नियात्राकथा जिवेन्द्र भाइ अन्नपूर्ण पोष्टका सम्पादक भएताका वा अलि पछि शनिवारे विशेषाङ्क ‘फुर्सद’का संयोजक दीपक सापकोटाले छपाइदिएकोभन्दा अलि थप ।

आजभन्दा ५२ वर्षअघि या भनौं सन् १९६८ को नोभेम्बर महिनाको थालनी, अर्थात् २०२६ सालको कात्तिकतिरको कुरा हो । प्रभावशाली साप्ताहिक ‘समीक्षा’का सम्पादक मदनमणि दीक्षित र मैले जर्मन जनवादी गणतन्त्र भनिने तत्कालीन पूर्वी जर्मनीको सँगसँगै भ्रमण गर्दा वाइमरमा विश्वविख्यात जर्मन महाकवि जोहान उल्फाङ्ग भोन गेटेको वन्यघर घर हेर्ने सौभाग्य पाएका थियौँ । गेटेलाई गोथे पनि भनिन्छ । सन् १७४९ मा फ्र्याङ्कफर्टमा जन्मेर सन् १८३२ मा वाइमरको आफ्नो वन्यनिवासमा देहत्याग गरेका गेटेले कविका साथै उपन्यासकार, नाटककार, दार्शनिक, कूटनीतिज्ञ, सैनिक जवान एवं निजामती कर्मचारी भएर पनि जीवन निर्वाह गरेका थिए ।

उत्कृष्ट मित्र तथा अनन्य प्रेमीकाका रूपमा पनि उनी चिनिन्थे । उनी यस्ता मेधावी बालक थिए जो आठ वर्षको बाल्यकालमै ग्रिक, ल्याटिन, फ्रेन्च तथा इटालियन भाषाका जानकार भइसकेका थिए । गेटेजस्ता विश्ववन्दनीय साहित्यकारको जीवनी एवं सुकृत्यको समुचित तवरले वर्णन तथा विवेचना गर्ने औकात म राख्दिन । यो त माथि बताइएका कारणबाट आफ्नो जीवनको यस असाधारण सौभाग्यको प्रसन्नतालाई ‘नेपालनाम्चा’का पाठकहरुसँग बाँड्ने जमर्को मात्र हो । त्यसैले यो कथाले सोझै गेटे निवासको वर्णन नगरी केही सम्झना, केही इतिहास तथा केही विश्व घटनाक्रमको पनि चर्चा तथा वर्णन गर्ने बाध्यता ल्याएको हो ।

रूसको बोल्शेभिक कान्तिका महानायक भ्लादीमिर इल्यीच लेनिनको जन्मशताब्दीको पूर्वार्द्धमा अधिकांश परिचितहरूले स्नेह एवं आदरपूर्वक ‘माड्साब’को नामले बोलाइने मदनमणि दीक्षित सोभियत पत्रकार संघको निम्तामा र मचाहिँ उक्त जन्मशताब्दी मनाउन नेपालमा गठन भएको राष्ट्रिय तयारी समितिको प्रचार सचिवको रूपमा सोभियत संघ भ्रमणमा थियौं ।

बर्बरताको भयावह साँस्कृतिक थलो

मास्कोबाट पूर्वी बर्लिन जाँदा हामीले पोल्याण्ड भ्रमणको पनि निम्ता पाएका थियौं । यस क्रममा राजधानी वार्सा, प्रमुख सांस्कृतिक, साहित्यिक, वैज्ञानिक एवं वीरताको कीर्ति- नगर क्राकाउ र त्यस नजिकैको ओस्वेसिम मृत्यु शिविरको भ्रमण गरियो । त्यसबाट हामीले नाजी जर्मनीको मानवताविरोधी जघन्य अपराधविरुद्ध अजर, अमर संघर्ष- गाथाको परिचय दिनमा सोभियत संघपछि पोल्याण्डले ने हामीलाई प्रभावित गरेको कुरामा हामी दुबै सहमत थियौँ । वार्सामा जर्मन नाजी आधिपत्वियविरुद्ध अतुल्य घेट्टो विद्रोह, Warsaw Ghetto Uprising र क्राकाउमा एकातिर बन्दुक बोक्दै भूमिगत संघर्ष र अर्कातिर प्रारम्भिक कक्षादेखि उच्च शिक्षाको कला एवं विज्ञानसम्मका पढाइ अटूट चालु राखेका वीरतासँग अवगत भइयो । यहाँ याे मुख्यत: यहुदी वस्ति भएकाे ठाँउमा विश्वविख्यात विद्राेहकाे एकतर्फा प्रचार पश्चिमी, अनि मुख्यत: अमेरिकी यहुदी विशिष्टवादी zionist लेखकहरु प्रायाेजित ढङ्गले गर्नेगरेका छन्, जबकि त्याे विद्राेहकाे संरचना एवम् सङ्गठनमा प्रमुख भूमिका पाेलिश कम्युनिष्टहरुकै थियाे । साथैफ पाेलिश राष्ट्रवादीहरुलेपनि उल्लेखनीय भूमिका खेलेका थिए । याे इतिहासकाे एउटा घाेर विकृति थियाे ।

तर, असुर नाइके एडोल्फ हिटलरको प्रत्यक्ष निर्देशनमा कुख्यात आइकम्यानले बनाएको ओस्विसिमको मृत्यु यातनाशिविर हेरेर फर्केपछि हाम्रो मनमस्तिष्क नै विथोलियो । बर्बरताको त्योभन्दा भयावह साक्षी स्थल विश्व इतिहासमा विरलै अर्को पाइएला । माड्साबको हृदयस्पर्शी ‘रेनाटाकाे चुल्ठाे’ले ‘ग्याँस च्याम्बरको मृत्यु’ शीर्षकको लघुकथामा आकार पाएकाे रचनाको आधार त्यही शिविर हो । राजनेता- साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले ‘हिटलर र यहुदी’ पुस्तकमा नाजी अपराधकाे राजनीतिक दृष्टिकोणवाट भर्त्सना गरेका छन् भने साहित्यकार कृष्ण धरावासीले ‘गेस्टापो’ नामक पुस्तकबाट पुस्तकका नायकको प्रत्यक्ष वृत्तान्तको आधारमा त्यसको मानवताविरोधी संहार स्वरूपको खुलासा गरेका छन् । तर माड्साबको कलमले त त्याग र बलिदानको अप्रतिम प्रेमकथा रच्न पुगेको छ । आस्विच भन्ने पनि नाम दिइएको अस्विसिमको गह्रौं छाप बोकेर क्राकाउबाट रेलगाडीद्वारा पूर्वी बर्लिन पुगियो । हामीलाई त्यहाँको नामी नेशनल होटेलमा लगियौं । यो हिटलरको मन परेको होटल थियो भन्ने सुन्दा मन नै भरङ्ग भयो । त्यसको नजिकै विख्यात ब्र्याडेनबर्गद्वार थियो । होटेलकै भयालबाट बर्लिन पर्खाल पनि देखिन्थ्यो । पूर्वी जर्मनीका शासकहरूले लाखौं श्रमिक र सैनिक जवान लगाएर एकै रातमा उक्त पर्खाल खडा गर्न सकेकोमा त्यो चमत्कारिक त थियो नै । अर्कातिर, त्यसले एउटा ऐतिहासिक नगरलाई कृत्रिम ढङ्गले विभाजन गरेबाट त्यो निन्दित पनि थियो ।

भोलिपल्ट हम्बोल्ट विश्वविद्यालयको इतिहास विभागमा त्यसका डिनसित हाम्रो भेटघाट कार्यक्रम तय भएको थियो । पुड्का, मोटा तर रवाफिला ती प्रोफेसरलाई देख्दा मलाई चिन्याचिन्या मान्छे जस्तो लाग्यो । उनले विशेषगरी बुखेनवाल्ड मृत्यु शिविरबारे बताउँदा मलाई आफूले त्यसबेला पढेकाे Brno Apitz ले लेखेका जीवन्त मार्मिक पुस्तक Naked Amidst the Wolves काे सम्झना भयाे ।

त्यस संघर्षको सञ्चालन एकजना जर्मन योद्धाको नेतृत्वमा बन्दी बनाइएको विभिन्न त्यसमा उक्त मृत्यु शिविरभित्र नाजीविराेधी संघर्षको प्रभावशाली वर्णन छ । त्याे संघर्ष एकजना नाजीविराेधी जर्मनकाे नेतृत्वमा भएकाे थियाे र त्यसकाे समितिमा विभिन्न राष्ट्रहरुका विराेधी योद्धाहरू थिए । ती व्यक्ति त हामीसँग त्यसदिन कुराकानी गरिरहेका प्रोफेफेसर नै रहेछन् ।बिदाईकाे बेला उनीसँग हात मिलाउँदा मलाई भएको रोमाञ्चकता बताइनसक्नु थियो । अर्काे राेमाञ्चकता के थियाे भने, त्याे शिविरलाई मुक्त गर्ने अमेरिकी सेना कमाण्डलाई त्यस साँचाे घटनामा शङ्का लागेर समितिकाे फेरि चुनाव गराउँदा तिनै जर्मन याेद्धा अध्यक्ष चुनिएका रहेछन् ।

बुखेनवाल्ड मृत्यु शिविर

बुखेनवाल्ड हेर्न गइयाे । हिटलरी अत्याचार र क्रूरताको हदमा यो ओस्वसिमको ‘परिष्कृत रूप’ थियो । साथै, यो विभिन्न राष्ट्रका युद्धबन्दीहरूले भूमिगतरूपमा चलाएको संघर्षको अतुल्य थलो पनि थियो । तथापि त्यहाँका दृश्यावलीहरूले पनि हामीलाई कम आघात पारेनन् ।

त्यतिबेलासम्म पनि हाम्रो गेटेको जीवनकार्यसँग जोडिएको कुनै ठाउँ वा घटनासँग परिचित हुने कुनै सुरसार थिएन । हाम्रा जर्मन मित्रहरूले हामीलाई चकित पार्ने हिसावले त्यो कुरा आफूसँगै लुकाएर राखेका रहेछन् ।

पूर्वी बर्लिनको भ्रमणको तेस्रो दिन बिहान हामी मोटरको बाटो गरी लामै यात्रामा लाग्यौं । रात इरफुर्ट नगरमा बिताइयो । भोलिपल्ट त्यहाँबाट हामी वाइमर शहर हेर्न जाँदैछौ भनियो । वाइमर आफूलाई चिरपरिचित नाम थियो । वाइमर जर्मनीमा ज्ञान – विज्ञानको जागृतिको थलो थियो । सन् १९१८ मा क्रान्तिकारी जर्मन सरकार गठन भएको शहर पनि त्यही थियो । एउटा शहरभन्दा पनि एउटा पूरै राज्यको नामले, अर्थात् वाइमर गणराज्य अनि पहिलो जर्मन संविधान त्यही नगरमा बनेकोले वाइमर संविधान भनेर पनि त्यो चिनिन्थ्यो । पहिलो विश्वयुद्धमा जर्मन सैन्यवादको हार भएपछि जर्मन राजनीतिज्ञहरू, तिनमा पनि विशेषतः जर्मन सोसल डेमोक्र्याटिक दलका राजनेताहरूको नेतृत्वमा धरमर-धरमर पाराले पूरै जर्मन राज्यको पुनर्सरचना गरिँदैथ्यो । केले युद्धको क्षतिपूर्ति गर्नु, अनि बाँकी केले राज्यका निर्माण गर्नु ? सन् १९१८-१९१९ का अन्योलकारी वर्षमा जर्मनीमा राजनीतिक शून्यताले गर्दा अनेक गठबन्धन र घातप्रतिघातको खेल चलिरहेथ्यो । तर महायुद्ध हारेपछि पनि जर्मन सेनाको नेतृत्वले सैन्यवादी महत्वाकाङ्क्षा छाडेको थिएन । सन् १९१७ को नोभेम्बरमा रुसमा बोल्शेभिक क्रान्तिले जनताका लागि शान्ति र भूमिको सम्बन्धमा सरकारी विज्ञप्ति जारी गयो । त्यसैकारण शान्तिको अपीलले सर्वत्र व्यापक असर पार्‍याे । युद्धमा जर्मनीको हार भएपछि र त्यसका शासकहरूले भासाई सन्धिमा प्रचण्ड मात्रामा युद्ध हर्जाना भर्नुपर्ने बाध्यता स्वीकार गर्दै अपमानजनकरूपले हस्ताक्षर गर्नुपरेकाे थियाे ।

यता जनता रोजी, रोटी र शान्तिको माग गर्दै आन्दोलनमा सहभागी भए । आन्दोलन उर्लिन थाल्यो । रुसी क्रान्तिको प्रभावमा आएक जर्मन सोसल डेमोक्र्याटिक नेताहरूले वाइमरमै जनतालाई शान्ति दिने वाचा गर्दै क्रान्ति सम्पन्न गरे । तर, क्रान्ति धेरै दिन टिक्न सकेन । जर्मनीको सैन्यवादी नेतृत्वले क्रान्तिकाे निर्ममतापूर्वक दमन गर्‍याे ।

त्यसरी त्यसले मित्रराष्ट्रहरूसंग युद्ध हारेको रिस आफ्नै जनतामाथि पोख्यो । यत्तिकैमा सोशल डेमोक्रयाटिक पार्टीको नेतृत्वमा रहेकी सुविख्यात मार्क्सवादी दार्शनिक, अत्यधिक लोकप्रिय राजनीतिज्ञ रोजा लक्जेमबर्ग र प्रख्यात वामपन्थी नेता कार्ल लाइबनिचमाथि जर्मनीमा कम्युनिष्ट बिद्रोह रचेको आरोप लगाएर ‘फ्रि कोर’ नाउँ गरेको प्रतिक्रान्तिकारी अर्ध – सैनिकका जवानहरुले हत्या गरे । यस अपराधविरुद्ध उठेको जनआक्रोशको पनि निर्ममतापूर्वक दमन नृशंस गरियो ।

यसबीच वाइमरमा नयाँ संविधान बनाएर जर्मन सोशल डेमोक्र्याटिक पार्टीका दक्षिणपन्थी नेता फ्रेडरिक ईबर्टको राष्ट्रपतित्वमा नयाँ सरकार बनिसकेको थियो । अतः जर्मन सैन्यवादी नेतृत्वको समर्थन पाएको यस सरकारको पूरै नेतृत्व रोजा र कार्लको हत्याको मूक समर्थक भएको थियो । फलस्वरूप, कार्ल मार्क्सको समयदेखि कम्युनिष्ट र सोशलिस्टहरूका बीच कायम मनोमालिन्यता खुला शत्रुतामा बदलिन पुग्यो । यसरी आफ्नै मित्रशक्ति हुनसक्ने कम्युनष्टिहरूप्रति दक्षिणपन्थी सोशल डेमोक्र्याटहरूको वैरभाव हुन गयाे । यसरी कम्युनष्टिहरूप्रति दक्षिणपन्थी सोशल डेमोक्र्याटहरूको वैरभावको लाभ पछि गएर नाजी तानाशाह एडोल्फ हिटलरले उठायो ।

वाइमर संविधानलाई सन् १९३३ मा धराशायी गरेर अनि चुनीचुनी कम्युनिष्टहरूलाई र त्यसपछि सोशल डेमोक्र्याटिक, सोशलिस्ट, क्याथोलिक तथा यहुदीहरूलाई मारेर आफ्नो एकछत्र राज कायम गर्‍याे, अाततायी हिटलरले। वाइमरकाे भयावह पूर्वइतिहास सम्झदै जाँदा वाइमर शहरको बीच चोकमा त्यहाँको प्रख्यात नाचगृहको सामु अत्यन्त प्रभावशाली ढङ्गले बनाइएको गेटे र सुविख्यात जर्मन नाटककार फ्रेडरिक शिलरको भव्य मूर्ति खडा पाउँदा हाम्रो प्रसन्नताको ठेगाना रहेन । शिलरसँग गेटेको सम्बन्ध जर्मनीको साहित्यिक विकास तथा नाट्यकलाको उत्कर्षको कालखण्ड थियो । उनीहरूको त्यही मित्रताको सम्झनास्वरूप वाइमर रजौटाका राजा कार्ल अगस्ट आफैँले बनाउन लगाएका यो युगल सालिक जर्मनीभरिमा सबभन्दा प्रख्यात र सबभन्दा मनपराइने स्मारक ठानिन्छ ।

मूर्ति देख्नासाथ माड्साब र मेरो आँखा एकैपटक जुधेको आज पनि झल्झली सम्झना हुन्छ । ओहो ! यो त गेटे र शिलरको जीवन तथा कार्यसँग परिचय पाइने ऐतिहासिक थलो पो रहेछ । यति हुँदाहुँदै पनि हामी कहिले र कहाँ गेटेको घर हेर्न सुयोग पाउने भन्ने कुरा टुङ्गो लागेको थिएन ।

सुविख्यात थुरिनगियन फरेस्ट

वाइमर केन्द्रीय चोकबाट हामी मोटरबाटो हुँदै अघि लाग्यौं । बीचबीचमा जर्मन मित्रहरूले हामीलाई जर्मन शिष्टाचार र अतिथि सेवाका परिचायक रहेको बियर , बान्डी , कफी र टफी ख्वाउँदै लगे । दिउँसो भव्य दिवाभोज भयो । त्यसकारण अनौठा , पहिले कहिल्यै नदेखेको गाढा हरिया पातले झकमक्क भएका अतुल्य हरियो जङ्गलको ओरालीउकाली लागियो । यो जर्मनीको सुविख्यात थुरिनगियन फरेस्ट अर्थात् हरियो जङ्गल क्षेत्र थियो । हाम्रा मित्रहरूको ठट्यौलो हाँसोबीच हामी एउटा वन्यक्षेत्रभित्र पस्यौं । पहिलो झमटमै मलाई हाम्रो पाशुपत क्षेत्रको भण्डारखाल वनभित्र पसेको जस्तो लाग्यो । फरक कति भने हाम्रो वन्यक्षेत्र फुस्रो हरियो रङ्गको थियो र त्यहाँ कुनै खोला थिएन । यहाँ चाहिँ हामीले हाम्रै रुद्रमती खोला (टुकुचा) जस्तै एउटा सानो , धीमा गतिले बगिरहेको इल्म खोला देख्यौं । हामी गेटेको वन्यगृह परिसरभित्र आइपुगेका थियौं ।

जर्मन वास्तुकलात्मक शैलीले बनेको दुईतले भव्य घर हाम्रो अघिल्तिर थियो । घरको मूलद्वारवाट भित्र पस्नेबित्तिकै एउटा बडेमाको कोठा आयो । सवभन्दा पहिले कोठाको बीच एउटा निकै अग्लो काठको कुर्सीमा दृष्टि पर्‍याे कुर्सी अनौठो बान्कीको थियो । त्यसको बस्ने ठाउँ काठले बनेको घोडा – काठी जस्तो थियो । अग्ला विशालकाय गेटे आफ्नो सिर्जनात्मक समयमा त्यही काठीमाथि बसेर चिन्तन-मनन एवं लेखन गर्दा रहेछन् । आफू ९१ वर्षको हुँदा ५७ वर्ष लगाएर समापन गरेका ‘फाउस्ट’ नामले प्रख्यात ग्रन्थका आखिरी पङ्क्तिहरू त्यही काठीमा बसेर रचिएका रहेछन् ।

युवावस्थामा कार्ल अगष्टसँगको घनिष्ट मित्रतास्वरूप गेटेले यो घर उपहारमा पाएका थिए । कार्लसँगको मित्रता युवा उच्छृङखलताका करनीहरूले चर्चित भएका थिए । गेटेका आफन्तहरू र शुभचिन्तकहरू यस मित्रताबाट उनको साहित्य सिर्जनामा, मेधा विकासमा बाधा पर्ला भन्ने डरले त्राहिमाम थिए । तर त्यस्तो भएन । अध्ययन तथा सिर्जनकक्षबाट एउटा सानो कोठामा पसियो । यहाँ राखिएको तलमाथि हल्लिने आरामदायी कुर्सीमा बसेर गेटे मित्र शिलरसँग कुराकानी गर्दा रहेछन् । त्यो कोठाका भित्ते दराजहरूमा गेटेले विभिन्न समयमा विभिन्न पद सम्हालेर काम गर्दाका पोसाकहरू र उनका हस्तलिखित रचनाहरूका पाण्डुलिपि सिलसिला मिलाएर राखिएको देखिन्थे । भन्याङ चढेर जाने माथिल्लो तल्लामा वेग्लाबेग्लै शयनकक्षहरू थिए । एउटा ठूलो कोठा उनको शयनकक्ष थियो । सन् १८०५ मा शिलरको मृत्यु भएपछि आफ्नो आधा अस्तित्व नै समाप्त भएको वेदना व्यक्त गर्दै गेटे बेलावेलामा आइपर्ने गाहो- साँघुरो स्वास्थ्यसित जुध्दै सन् १८१८ मा पत्नी क्रिश्चिएनाको मृत्यु भएपछि त एकपछि अर्को प्रेममा विफल हुँदै उनले अत्यन्त एक्लो जीवन त्यही कोठामा विताएका र सन् १८३२ मा उनको शरीर त्यहीं छुटेको रहेछ ।

गेटेको आध्यात्मिक पक्ष

गेटे शेक्सपियरका पनि प्रशंसक थिए । तर उनमा पूर्वेली आध्यात्मिकताले खासगरी वेदान्त दर्शनले गहीराे प्रभाव पारेकाे उल्लेख नगरे उनकाे जीवन- कारेय अपूराे रहनेछ ।

गेटे सँस्कृतबाट अङ्ग्रेजी भाषामा र त्यसबाट जर्मन भाषामा रूपान्तरित कालिदासरचित ‘अभिज्ञान शाकुन्तलम्’बाट प्रभावित भएका रहेछन् । जहाँसम्म उनको ग्रन्थको प्रधान पात्र फाउस्टमा जागेको संकल्पबाट इच्छा, इच्छाबाट सङ्ग्रह र सङ्ग्रहबाट झनै प्रबल इच्छा एवं भयको बिलौनापूर्ण अभिव्यक्तिको सम्बन्ध छ, त्यसमा स्वामी विकेकानन्दका शिष्य तथा व्यावहारिक वेदान्तका अथक प्रचारक स्वामी रङ्गनाथानन्दन श्रीमद्भगवद्गीताको प्रभाव देख्दछन् । हुन पनि, त्यस्ता विचारहरूको प्रतिध्वनि अमेरिकामा थोमस इमरसन र वाल्ट व्हिटम्यान, बेलायतमा ब्राउनिंग, शैली, टेनिसन तथा वर्डस्वर्थजस्ता कविहरू र इतिहासकार रवर्ट कार्लाइलमा र यूरोपेली महादेशमा गेटे, टाल्सटाय तथा अन्यहरूका रचनामा पाइन्छन् ।

महान् फ्रान्सेली साहित्यकार रोमा रोलाँले पनि रामकृष्ण परमहंसको जीवनकथा रचना गर्दा चिन्तन र कला क्षेत्रमा गेटेको असाधारण मेधाको चर्चा गरेका छन् : ‘जङ्गलमा बसेर शान्तभाव आत्मसंवाद गर्छन्: ओहो ! मभित्रको कालो साथीले मेरो मुटुमा सङ्कल्पको दावाग्नी बालिदिन्छ अनि त म कामनाबाट आशक्तिमा भासिन पुग्दछु । अनि त्यहाँबाट फेरि कामनामा डुब्न पुग्छु ।’ अङ्ग्रेजी भाषाबाट नेपालीमा रूपान्तरण गर्दा यस्तो सुनिन्छ फाउस्टको आत्मालाप ।

फाउस्टको आखिरी हरफमा गेटे देवी महात्म्यवाट पनि प्रभावित भएको पाइन्छ । नेपाली रूपान्तरणमा यो यसरी व्यक्त हुन्छ : “ सनातनी देवीले हामीलाई डो पुर्र डाेर्‍याउँदै लग्दछिन् । ” यसलाई ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता , नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।’ ( अ . ५ , श्लोक ७३ ) भन्दा अत्युक्ति हुनेछैन ।

सङ्ग्रहालयको रूपमा रहेको यो घरमा सबै वस्तुहरू गेटेको जीवनकालमा जहाँ र जस्ता थिए त्यसैगरी राखिएका थिए । हामी पुगेको दिन दर्शक पनि धेरै नभएकाले हामीले समयको सदुपयोग गर्दै प्रत्येक वस्तुहरू हेरेको मलाई राम्ररी सम्झना छ । आफूमा परेका प्रभावहरू टिपिएको नोटबुक पनि क्राकाउ, आस्विसिम, हम्बोल्ट विश्वविद्यालय, बुखेनवाल्ड हुँदै वाइमरसम्म आफूसँगै थियो । तर, स्वदेश फर्केपछि ५२ वर्षको अवधिमा अनेकपटक घर सर्नुपर्दा यस मूल्यवान् सामग्रीको जगेर्ना गर्नुपर्ने दायित्वबाट चुकिएछ । खोज्दा – खोज्दा नपाउँदा अहिलेसम्म पनि ताजै रहेको आफ्नो सम्झना र आफूले पढेको कुराको आधारमा यी शब्दहरू कोरिएका छन् ।

यसबीच दुई जर्मनीहरू पनि एक भएको ३० वर्ष नाघिसक्यो । यता युनेस्कोले गेटेसम्बन्धी सबै वस्तुहरूलाई विश्वका दुर्लभ सङ्ग्रहको सूचीमा राखेकोले यो सङ्ग्रहालयको व्यवस्थापनमा पनि परिवर्तन अवश्यै भए होलान् । यूरोपको मात्र नभई समस्त विश्वकै साहित्यिक महाकाशमा सदासवर्दा प्रकाशवान गेटेका बहुआयामिक व्यक्तित्वको परिचय दिने उनको अन्तिम निवासस्थानको दर्शन मात्र पनि एक भक्तको लागि तीर्थयात्रा समान भएको श्रद्धाञ्जलि अर्पण गर्दै यो संस्मरणात्मक लेखलाई यहीं विराम दिने अनुमति चाहन्छु ।

जय नेपाल !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button