
दुई छाक खानुप-यो, गहिरो निन्द्रा पुग्नुप-यो
कविताः हाम्रो माग
सुशीला शर्मा
जग अड्ने ठाउँ छैन
ठूला ठूला कुरा हुन्छन्
पर्दा हात दिने छैनन्
सपनाको पछि लाग्छन् ।
दुई छाक खानु पर्यो
गहिरो निन्द्रा पुग्नु पर्यो
हात मुख जोर्नलाई
काम पनि हुनुपर्यो ।
बस्ने बास हुनुपर्यो
सफा सुघ्घर रहनु पर्यो
चेतना नि छाउनुपर्यो
आफ्नो आफ्नो गच्छे मिलाई
सबले पढ्न पाउनु पर्यो ।
बाटो घाटो पुल पुलेसा
सहि सलामत हुनु पर्यो
नबनेका बन्नु पर्यो
नभनेका भन्नू पर्यो
बेलैमा ती सुन्नु पर्यो ।
स्वस्थ रहने नियम काइदा
दुर दराजले नि जान्नु पर्यो
आधारभूत औषधिमूलो
सर्बसुलभ मिल्नु पर्यो
ठूला रोगब्याधीलाई
अस्पताल हुनुपर्यो ।
जातभात, महिलापुरुष
सबै समान भन्नू पर्छ
भन्ने मात्र होइन यहाँ
व्यबहारमा देख्नु पर्यो
यौन हिंस्रक, बलात्कारी
कारवाही गर्नुपर्यो ।
न्यायिक समाज हुनुपर्छ
समानता छाउनु पर्छ
सानातिना कुराहरु
जरैदेखि आउनुपर्छ ।
केही हुँदैन सतहमा
कराएर देखाउँदैमा
घमण्ड र अडानहरु
एक अर्काका लेखाउँदैमा ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)