जातभातः काभ्रे, जुम्ला र चितवनमा मैले जे देखेँ

समविकास

प्रतिभा सुवेदी

गत साता छुवाछुतका कारण भेदभाव भोगेकी ओखलढुङ्गाकी एक युवतीका बारेमा लेखेको थिएँ । धेरै पाठकहरुले यो किसिमको भेदभावका व्यवहार हेर्न त्यति टाढा पुग्नै पर्दैन भनेर धेरै टिप्पणी गरेको पाएँ । त्यो सत्य हो ।

जुम्ला पुग्न पर्दैन, काठमाडौं नजिकको जिल्ला काभ्रे शखुपटीचौर निवासी परेवा मिजारलाई भेट्दा पुग्छ । उनका घरभरि छोराछोरी छन्, उनी विधवा छिन् । जन्डिस लागेर ४० बर्षको उमेरमा उनका पतिको मृत्यु भयो । छोराछोरी पाल्न भैसी किनेर दुध बेचेर बालबच्चा पाल्न पाए हुने थियो भनेर पर्खिरहेकी थिईन । शंखेश्वरी नारी चेतना वचत तथा ऋण सहकारी संस्था लि. ले उनलाई रु. दश हजारको ऋण दिएको थियो । उनले छिमेकका महिलासँग पनि ऋण लिइन् र रु. बाईस हजार पारेर एउटा दुनु भैसी किनिन् ।

२२ वर्षअघि भैंसी पनि त्यति महँगो थिएन । दूध बेचेर र खेतीबाट घर चलाउने र बचाएर भैसीको ऋण तिर्ने अनि सहकारीमा बचत गर्ने काम गरिन् ।

त्यस्तै महेन्द्र ज्योति गाविस काभे्रमा पनि तल्लो जाति भनिने हाम्रा साथीहरु भेटिए । हामी महिलाहरुका कार्यक्रममा धेरै यस्ता साथीहरु भेटिन्छन् । हामी महिलाहरु भेला हुन्छौं, जब खाजा खाने बेला हुन्छ, त्यति बेला माथिल्लो भन्ने जातका केही बाहुन क्षेत्री एकातिर अलग्ग पनि बस्ने गर्थे । गाउँमा तल्लो जात भनेर हेपिने समस्याले छोराछोरीहरु शहरमा रमाउँछन् भन्थे महिलाहरु । शहरको भीडमा सबैले चिन्दैनन् ।

जातपातको आधारमा गरिने भेदभाव समाजको कलकं हो । मानिस मानिसबीच छुवाछुत र पानी नचल्ने विभेदको परम्पराले प्रश्रय पाउनु हुँदैन । कानूनी सुधार भए पनि व्यवहारमा सुधार मन्दगतिको छ । हरेक जातभित्र, चाहे बाहुन क्षेत्री नेवार र दलितहरुमध्ये पनि होचो अग्लो जातपातको विभेद छ । बाहुन, क्षत्री, नेवार हरेक जातभित्र फेरि पनि उचो र नीचोको विभेद कायम छ ।

अन्तरजातिय विवाह भएमा पारिवारिक हस्तक्षेप त्यतिकै हुन्छ । ज्यान जोगाउन समेत मुश्किल ! ती विवाहहरुका कारण नै हत्या भएका घटनाहरु अखवारमा आइरहेका छन् ।

काभ्रेको तत्कालिन चलाल गाविस वार्ड नम्बर ७ मा म र मेरो साथी मीना कार्की सामुदायिक विकास गर्नेक्रममा घर घर हिडिरहेका थियौ । त्यस गाविसमा दुई घर कामी जातका मानिसका रहेछन् । मेलै मेरो साथीलाई भनेँ, ‘हामी यो घरमा पानी खाऊँ र यो जातपातको भावनामा कमी आउन मद्धत गर्नेछ छ ।’ मेरो साथीले भनिन्, ‘होइन, हुदैन । भोलिदेखि हाम्रो कार्यक्रम नै बिथोलिन्छ ।’

हामी नै अलमलियौं त्यो दिन । हरेक क्षेत्रमा भेदभाव गरिने कारण दलित महिला–पुरुषहरु विभिन्न कार्यक्रममा सहभागी हुन पनि धकाउने गरेका छन् । पुन उनीहरुलाई कार्यक्रममा बोलायौं ।

त्यति बेला एउटै सुकुलमा बसेर दिउँसोको चिया र खाजासम्म संगै खायौं । तर, कतिपय उपल्लो जातिका भनिने घरका सहभागिहरु खाजा खाने बेलामा फुत्त फुत्त बाहिर जाँदै थिए । यो उनीहरुको बाध्यता थियो । समाजमा एक दुइजनाले मात्र परिवर्तन ल्याउन खोजेर पनि नहुने रहेछ ।

२३ वर्षअघि जुम्लाको डाँडाकोट गाविसमा पुग्दा दलितहरुमध्ये कामी र दमाईजातिको बस्ती थियो, अझ पनि होला । त्यहा“ महिला समुहहरु भेट्ने कार्यक्रम थियो । त्यहा“ तल्लो भनिने जातको मानिसले दुखः पाएको देख्दा अचम्म लाग्यो । दलितहरुको पानीधारा छुटटै्ै भएको र ठूला जातका भनिनेहरुका धारामा पानी लिन जादा गरेका लछारपछार गरी पिटाई खाएको वृन्तान्त सुनाएका थिए ।

त्यो भदौ महिना तीजको समय थियो । ती दलित भनिने महिलाहरुसँग दाल भात तरकारी खायौं । त्यो त्यहा“को लागि ज्यादै उत्कृष्ट किसिमको दर भयो । सबैजसो मानिसहरु कुपोषणको शिकार देखिन्थे । हामी शहरीया महिलाका तुलनामा उनीहरुले तीन पटक थपिथपी खाए । शरीरको तौल कम बनाउन हामी खानालाई खटाउने गर्दछौ । डाक्टरले भात कम खानु, दाल तरकारी धेरै खानु भनी हामीलाई सिकाउँछन् तर त्यहा“ दालभात तरकारी खान पाउनु नै मिठो मिठो खाएको जस्तो हुने समय थियो ।

नानूमैया परियार चितवन तत्कालिन बछौली गाविसमा भेटिइन् । उनले भरतपृुर अस्पतालबाट एउटा बच्चा (छोरी) लिएर आपनो बनाइछन् । उनले कसरी त्यो बच्चा आफनो काखमा लिइन् खुसीसँग, हामीलाई बताइन् । आमाको स्नेह र ममता दिएको देख्दा उनको सत्कार्यको प्रसंशा गर्नै पर्छ । एक विधवा महिलाले भरतपृुर अस्पतालमा त्यो बच्चालाई जन्म दिएकी रहिछन् र उनी अस्पतालबाट भागिछन् । ठूलोजातका भनिने घरकी विधवा महिलाबाट जन्मिएको त्यो सन्तान समाजको डरले नवजात शिशु त्याग्नुपरेको रहेछ । परियार भनिने जातकी महिलाले त्यो बच्चाको पालन पोषण गरेकी छन् । उनी बछौली नारी चेतना बचत तथा ऋण सहकारीकी सदस्य पनि थिइन् । उनले आफ्नै सिलाई पसल संचालन गरेकी पनि छन । हामीले उद्यमी जाँगरी महिला भनेर सानो वृत्तचित्र पनि बनायौं । गाउ“का एक जनाले ‘हेर, तिम्रो काम प्रचार गरेर यी नारी चेतनाका महिलाहरुले धेरै फाइदा लिए’ भनेर कुरा लगाएछन् ।

केही समयसम्म नानूमैया परियारलाई सहकारी व्यवस्थापक शारदा विडारीसँग नवोल्ने र रिसाउने बनाई दिएछन् । कसैले गरिखाएमा रिस गर्ने र उल्टो कुरा गर्नेको पनि कमी चाहिं रहेनछ । वृत्तचित्रमा हामीले उनको राम्रो काम र ठूलो दिलको प्रचार गरेका थियौ ।

दलितहरु भनेर कानूनले आयोग गठन गरेको छ । यो नै समस्याको जड हो जस्तो लाग्छ मलाई । दलित भनिनेहरु सोध्छन्, ‘के गरे हाम्रा बालबच्चाले यो दुख नपाउलान् ?’ सबैलाई स्कुल पठाउनुस् भन्ने गरेको छु ।

शिक्षित समाजमा भेदभाव र छुवाछुतमा कमी आएको छ । ग्रामीण तहमा पनि विभिन्न विकास र अनौपचारिक शिक्षाका कार्यहरुले भेदभाव र छुवाछुतमा कमी ल्याउन मद्धत पुराएको छ ।

सबै एकै स्थानमा घुलमिल हुनु नै समस्याको निराकरणको एउटा उपाय हो ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button