
असार ! बुढाबुढीलाई थचार ! नगर यस्तो कुविचार
ब्राह्मणपुत्रको लकडाउन डायरी–४८
भरत शर्मा
कभरचित्रः सुरेशमान उलक ।
असार महिनाको क्यालेण्डर पल्टाउनुभयो ? नयाँ महिनाको शुभकामना ।
आषाढस्य प्रथम दिवसे मेघमाश्र्लिष्टसानुं… ।
महिनाले असार लागे पनि पात्रोअनुसार ज्येष्ठ शुक्लपक्ष पञ्चमी तिथि, अश्लेषा नक्षत्र, आनन्द योग, मंगलवार (हनुमानलाई सम्झने) बार हो । आजबाट सूर्यनारायण मिथुन राशिमा प्रवेश हुने भएकाले आजको दिनलाई मिथुन संक्रान्ति भन्ने गरिन्छ ।
गाउँघरतिर असारे भाका शुरु भएको होला ।
असारे मासमा धान रोपेझैं खेतमा
आउन हामी पिरती रोपौं न ।
गाउँघरतिर दोहोरो मकैं गोढ्ने बेला बर्षाद्ले मकैंबारी हिलाम्मे भएको होला । गाउँघरतिर त ‘बनकर’ अर्थात बाँदरले खेत र बारीमा मकै खाने थाल्यो भनेर बिहानको सूर्योदय हुनुभन्दा पहिले सूर्यास्तको एकघडीसम्म बाँदर कुर्ने मेलो पनि चलेको होला । गाउँ सम्झेर शहरमा मकै किनेर भए पनि खानु त भएको होला ।
ए साँच्चै, कोरोना महामारीपछि लकडाउन भएको आज कति दिन भयो होला भनेर विर्सनु भएको त छैन, भुल्नु भयो होला ! मैले त भुलेको छैन, आज ४८ औं दिन हो । आजबाट एक हप्ता अर्थात् असार ७ सम्म लकडाउन जारी भ एपनि अलिकति खुकुलो हुने शासकीय आदेश छ ।
मौसमको कुरा गर्ने हो भने मध्य असार भन्दा पनि बढी हुँदैछ । बिहान, दिउँसो, राति आकाशबाट आँशुका धारा जस्तो (बर्षा) झरेको झर्यै छ ।
मौसम पूर्वानुमान महाशाखाले भनेको छ, आगामी तीन दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी, अन्य कयौं सहायक नदी जलाधार हुँदै गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका चुरे तराई भएर बग्ने केही साना नदीहरुमा पानीको बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै सतर्कताका लागि विशेष अनुरोध गरेको छ ।
यस पटक तराईतिर रोपाई छिटो हुने भएको छ । पहाडका टारी खेतमा पनि आकाशे पानी जमेको देखेपछि किसानहरु पानीको भेल जोगाएर खेत रोपाइँका गर्ने हतारोको चटारोमा होलान् ।
यसपाली गाउँतिर खेताला पाउन कठिन नहोला । कोरोना महामारीपछि शहरबाट थातथलो (गाउँ) गएका बुहारी, नाति, नातिनाले हजुरबा, हजुरआमालाई खेत रोपाईमा सहयोग गर्दै होलान् ।
भनिन्छ, असारमा मुठी रोपेर मंसिरमा मुरी फलाउने जोशमा हुन्छन् किसान । टाँरी खेतमा रोपाई गरेपछि विकासे मल राख्नु पर्र्ने हो । सरकारले चीन र बंगलादेशबाट मल ल्याएर दिन्छौं भनेर घोषणा गरेको खबर सुने पनि कहिले दिने हो पापी सरकारले भनेर जनता एकोहोरो यस्तो पनि सरकार हुन्छ भन्दै श्राप दिँदै होलान् ।
राजनीतिक शास्त्रका विद्यार्थीले भनेको कुरा हो, ‘सरकार भनेको जनताको अभिभावक हो ।’ देशमा महामारी र दैवी प्रकोपले पनि दुःख दिने निश्चित छ । खोई सरकार ! बेलैमा तयारी गर्नुपदैन ? धेरै दिनदेखि छापामा आएको खबर पढेको होला नि शासकले । दैवी प्रकोपले पहाडी जिल्ला र तराई क्षेत्रमा केही विनास गर्ने, पहिलो जाने, खोलानाला आसपासका क्षेत्रमा क्षति पुग्ने अनुमान गरिसकेको छ । बेलैमा चेतना भया । ‘जब परी राती तब मात्र ताती’ भन्ने उखान जस्तो नहोस् है ।
शहरतिरको कुरा बेग्लै । मुलबाटो हिँड्यो भने मात्र, गल्लीतिर हिडिँनसक्नुको हिलो छ ।
असारको कुरा यति नै होला ।
ंआज विश्व (ज्येष्ठ) अग्रज दुव्र्यवहार जागरुकता दिवस पनि हो । अग्रज भनेका समाज र घरका अभिभावक हुन् । देशको अभिभावक शासक (सरकार) भएजस्तो घर र समाजका हाम्रा आदरणीय सबै अग्रज अभिभावकलाई नमन गर्ने दिने हो ।
जनसंख्याको ठूलो हिस्सा ओगटेको अग्रज हाम्रा सम्पत्ति हुन् । उनीहरु घर र समाजका बोझ हुन् भनेर अपमान गर्ने नयाँ पुस्तालाई नैतिक शिक्षा दिन जरुरी छ । पहिले हाम्रो पुस्तासम्मले विद्यालयमा नैतिक शिक्षा पढेको हो । जनयुद्व र लोकतन्त्रको नाममा नैतिक शिक्षा हटाइएको थियो । सुन्दैछु अहिले कक्षा ८ देखि १० सम्म नैतिक शिक्षा अनिवार्य गरेको छ ।
‘यो नैतिक शिक्षा भनेको के हो ?’, हिजो मात्रै कक्षा आठमा पढ्ने छोरोले आमालाई प्रश्न गरेको सुनेको थिएँ ।
हरेक मानिस बालक, वयस्क, तरुणो, अग्रज हुने नियम पालना गर्नै पर्छ । तर, बीचको पुस्ताले आधुनिकताको नाममा अग्रज पुस्तालाई ‘तपाईहरु पुरानो कुरा मात्र गर्ने’ भनेर अपमान गरेको सुनेका, देखेका र भोगेका छौं ।
अग्रजहरुका अनुभव नै ठूलो सम्पत्ति हो । अग्रजहरु अलि बढी आफ्नै र पुराना कुराभित्रका दर्शन सुनाउन चाहन्छन् तर नयाँ पुस्ताले बुढाको कुरा एक कानले सुन्ने अर्को कानले उडाइदिने हो भन्दै हिही गर्छन् । यसको कारण भनेको नैतिक शिक्षाको कमी हो ।
साता दिन भयो होला, अग्रज काकाको घरमा उहाँकैं भतिजसँगै बाटो पर्दा म पनि साथमा पुगेका थिएँ । काकाले अग्रज शैलीमा देश, काल परिस्थिति र देशको राजनीतिबारे लम्बेतान उदाहरण प्रस्तुत गर्दै आफना विचार प्रस्तुत गर्न थालेपछि हामीलाई हतारो भयो । काकाको मनको बाँकी कुरा नसुनीकन हामी निस्कियौं । घर फर्कदै गर्दा बाटोमा अक्कल काटेँ, आज हामीले काका (अग्रज)का सबै कुरा सुन्न सकेनौं । हामीले हतार ग¥यौं । आज हामीबाट भूल भयो भन्दै तत्कालै प्रायश्चित गरेँ । भतिजाले के गरे कुन्नी ? अर्को भेटमा सोध्नु पर्ला ।
यो उदाहरण मात्र हो । अहिलेका अधिकांश पुस्ताबाट हामीले जस्तै तपाईहरुले पनि अग्रजका कुरा सुन्ने गर्नुभएको छ कि छैन कुन्नी ? सनातन शास्त्रले भन्छ, ‘कर्मवीर अग्रज भनेका देवता समान हुन् । उनीहरुका अनुभव ज्ञान हामीले सुन्नुपर्छ ।
अग्रजहरु आफ्नै परिवेशमा रमाउन चाहन्छन् । गाउँमा बसेका अग्रजहरुलाई शहर जेलखाना जस्तो लाग्छ । छोराछोरीले शहरमा राख्न खोजे पनि उनीहरुलाई गाउँघर नै प्यारो हुन्छ ।
युरोप, अमेरिका, अस्ट्रेलिया गएका छोराछोरीले शहरमा बस्ने बा, आमालाई आउनुस् हामी तपाईहरुलाई यहाँ घुमाउँछौं भनेर बोलाएपनि बाआमाहरुलाई आफ्नै ठाउँ रमाइलो लाग्छ । एकाध महिना, बर्षपछि नेपाल फर्कने चाहना हुन्छ ।
जीवन यात्रामा ४० को टेकोले छुन खोज्दैछ । हामी बीचको पुस्ता भयौंजस्तो लाग्छ । न पुरानै ज्ञान न त नयाँ आधुनिक । हामी पुस्ता यता न उताको, कताको हो कताको ?
हामीले त अग्रजलाई सम्मान गर्नुपर्छ । हामीले पनि अग्रज पुस्तालाई सम्मान नदिने हो भने अहिलेका जन्मँदैका मोवाइले, फेसबुके, टिकटके पुस्ताले अग्रजलाई दिनुपर्ने माया र सम्मान देलान् भनेर के आश राख्नु ?
हजुरबाले सानैमा भन्नुभएको हो, ‘हेर ! नाति केटा, जीवनमा सबैभन्दा ठूलो मित्र भनेको शास्त्रचर्चा नैं हो ।’ संसार तर्ने मुख्य बाटाहरु यी हुन भनेर उपदेश मञ्जरीको श्लोक हो भनेजस्तो लाग्छ । आज त्यही श्लोक सुनाउदै सबै हजुरबालाई नमन गर्दछु ।
रोग, प्राण, समाधि बाँध अथवा सत्संग हर्दम् गर
छोडी देउ कुवासना र हरिको सद्भक्ति गर्ने गर ।
बाटा छन् यति चार पार पुगिने पक्रेर एउटा कुनै
लागौं चढ्न बढ्न मन यो लाग्यो स्वयं थामिनैं।
हजुरबाको सधै इष्टकोटको खोजीमा एउटा पुस्तक (पोस्तक) र कलम बोकेर हिँड्ने बानी थियो । बैकुन्ठ जानुभएको बर्षौं भयो । आज अग्रज दिवसको दिन निकै याद आयो भन्या ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)