
प्रिय उर्लेनी ! म फर्किएर आउने छु
माटोको माया
बिमाकुमारी तामाङ
तादी १, नुवाकोट ।
प्रिय उर्लेनी ! मेरो पवित्र मातृभुमि ! तिमी त आजकल सुनसान छौ अनि दुख मान्दै बसेको हौला । यो लकडाउनले तिमीसँगका बाटाहरु रोकिदिएका छन् । तिमीले सुनसान मान्नु पनि स्वाभाविकै हो । सधैं तिम्रो काखमा लुटपुटिएर खेल्दै साथमा बसेर रमाउने मान्छे म । जीवनको लक्ष्य खोज्ने क्रममा संघर्ष र चुनौतीको पाइला चाल्दै जीवनको दौडानमा तिमीलाई चटक्कै छोडेर आज म अलि टाढा बसेकी छु । तर, माया भने पटक्कै मारेकी छैन ।
तिम्रा लागि केही योगदान त दिन सकिरहेको छैन न कुनै परिवर्तनकारी कार्म गर्न नै सकेकी छु । तिमी म फर्किएर आउने आशामा प्रत्येक पलहरु प्रतिक्षामै बिताउँदैछौ अरे । म जहाँ भए पनि तिम्रो माया र प्रेरणा मेरो हृदयभरि छापिएर बसेको छ । मेरो प्यारो उर्लेनी ! मैले तिम्रो त्यो माया, स्नेह, सद्भाव, सदाचार, आर्दश र सत्कर्मले अगाडि बढ्न दिएका साथहरु कहिल्यै बिर्सने छैन । म तिम्रो प्रतिक्षाका बाटोहरु हेर्ने नयनको सामु अवश्य आउनेछु । तर, केही अन्तरालसम्म मैले तिमी समक्ष आउने बाटोहरुमा हुने कठिनाई पार गर्न बाँकी नै छ । हुन त आइपुगे पनि तिम्रो सम्मानका लागि के समपर्ण गर्न सक्छु र ? म सामान्य जीवन धानेर बाँच्नेसँग के छ र ? तर मन, दया र विचारमा धनी छु । यसै विचारहरु राखेर तिम्रो पवित्र शिरमाथि सुगन्ध थप्ने प्रयास गर्दछु ।
यो शहर भन्ने ठाउँमा बसेर जति खोजे पनि तिम्रो जस्तो पवित्र स्वच्छ हावा खाएर सास फेर्न पाएको छैन । इच्छा त जीवनमा तिम्रो पवित्र माया, स्वच्छ हावा, सफा पानी र प्रकृतिका हरेक निर्मल वस्तुहरुसँग रम्ने रहरको पुर्णतामा कहिले पुग्न सकुँ ? मैले तिम्रो दुखलाग्दो कुरा सुनेकी छु । सायद यो दुर्भाग्यको कुरा हुन सक्छ, थाहा छैन, न त देखेको नै छु । तिम्रो शिरमाथि आक्रमण गर्नेहरु र तिम्रो त्यो शीरको शिरबन्दी लुट्ने लुटेराहरु छन् अरे ! तिमी नै भन प्रिय उर्लेनी, कहिले तिम्रो अटल रहेको शिरमाथि सुगन्ध थप्न सक्छु ?
कहिले त लाग्छ, म सधै तिमीबाट टाढै बसुँ, ह्रदयभरी तिम्रो अमर माया साँचिरहुँ । तिमीसँग प्रत्यक्ष नभेटुँ र नहेरुँ, मात्र सपना र कल्पनामा सजाईराखुँ । किनकी, कुनै कुनै विछोडको यात्रा शुभ हुन्छ भने सपना र कल्पना निकै मिठा र मन छुने हुन्छ । नजिकको तिर्थ हेला अरे । टाढाबाट मनमोहक दृश्यहरु हेरिरहन मन लाग्छ । तिम्रै साथ सामिप्य र अन्तरदिलमै बसिरहुँ अनि सधैँ रहिरहन पाउँ झै लाग्छ । मानिसहरु सधैँ तिमीसँगै बस्छन् र कहिले शिरमा खुट्टा राख्छन् त कहिले तिम्रो खुट्टा तान्ने गर्छन् । त्यसैले म भौतिक रुपमा टाढा रहेर पनि तिम्रा लागि सदा श्रद्धा र समर्पणका भावले तिमै्र दिलभित्र सजिएर बस्नेछुु । तिम्रो आस्थाको संसार प्रतिविम्वित गर्नेछ । प्रिय उर्लेनी ! हिजोआज तिम्रो सामु आउन निकै डर लाग्दोभएको छ अरे । तिम्रो आशा र प्रतिक्षाका बाटोहरुमा काँडैकाँडाले ढाकेको छ अरे । म जसरी भए पनि फर्किएर आउनेछ ।
प्रिय उर्लेनी ! म तिम्रो अवस्था देखेर छाँगाबाट खसे झैं न हुँ । बाटोभरी काँडैकाँडा हुँदा तिम्रो सामुसम्म पुर्ण यात्रा नहुँदा मैले तिमीलाई कसरी बिर्सन सकुँ र ! सानो छँदा तिम्रै काखमा रमाउँदै खेलेको सधै यी दुई नयनबीच नाचिरहन्छ । त्यही सम्झनाले म तिम्रै प्रतिविम्व लिएर बाँचेकी छु । मेरो प्रत्येक नशामा जन्मभुमिको छाँगाछहरा र झरनाहरु छचल्किरहेको पाउँछु । अझ राहुचुली हिमालले सेता दन्तहरु खोलेर सदा अटल रहेर हाँसेको दृश्यले त मैले शहर भन्ने ठाउँको दुनियाँमा भोगेका अनगिन्ती दुखहरु भुल्ने गर्छु । त्यो हिँउहरु टिपेर हातमा राख्दा विलिन भएर जाँदा कतै मेरो हृदयभित्र लुकेर बसेको झैँ आभास हुन्छ । आनन्दको शितल महशुस हुन्छ । अनि पर्यटकहरुले तिम्रो तस्विर खिचेर लैजाँदा सायद बिश्वमा तिमी जति सुन्दर, निश्चल, पवित्र, अटल, स्वच्छ र निर्मल पाईँदैन होला लाग्छ । मैले अध्ययन गर्ने किताबको पृष्ठभुमिमा तिम्रै तस्बीरसहितको प्रशंसाका शब्दहरुले हर्षबिभोर हुन्छु । हुन त सानै छँदा अतीतका क्षणहरु सबै नियालेर हेर्दा हर्ष र आँसुका खोलीहरु बगे होलान् । रुवाईको बाँध फुटेर रोक्न सकिएन होला ।
मेरो उर्लेनी ! प्रितको खानी ! जब तिर्खाको प्यास मेटाउन यहाँको कोक, पिउने गर्छु तब त्यसको स्वादले मेरो मुखै बिगारिदिन्छ अनि म तिम्रै काखबाट बगेको पँधेरोको सम्झनाले प्यास मेटाउने गर्छु । तिम्रै नासो यो मेरो जीवन काठमाडौँको दुषित हावापानीले अस्वस्थ बनाइसक्यो कतै तिम्रो यो नासो फर्काउनन सकिने पो हो कि भन्ने डरले भयभित छु । जहाँ जसरी जुन अवस्थामा रहे पनि तिम्रो यो नासो सुम्पन पाए ठुलो तृष्णा मेटिने थियो । सद्दे ता म कसरी फर्कन्छु र यो उजाड मरुभुमिजस्तो प्रदुषित शहरमा पिल्सिएर बाँचेकी छु । यहाँको प्रदुषणले त मेरो रुप, रङ र स्वास्थ्य पनि बिगारिसकेको छ ।
आउन त म निश्चित आउनेछु । तर, मेरा अस्तव्यस्त अवस्था देखेर गहभरि आँसु नपार्नु, तिमीले दिएको कोमल सुन्दर अंगहरु बिगारिएका छन् । तैपनि यो एकमुठ्ठी प्राण जस्ताको तस्तै जोगाएर बाँचेकी छु । त्यसैले त यो एकमुठ्ठी प्राणमा तिमीप्रतिको जन्मदेखि मृत्यु पर्यन्तसम्मको मायाले श्रद्धा सर्मपित गर्न सकेकी छु ।
मेरो धर्ती ! जननी ! तिमीले एउटा कुरा नढाँटी भन है किनकी मैले तिमीमाथि भएका नराम्रा पीडाको सपना थाहा पाएकी छु । तिमी सदा आफैले आफैलाई धिक्कार्दै भन्छौ अरे ! उर्लेनी ! म तिम्रा आँखामा आँसु देख्न चाहन्न । मेरो हृदय नै छियाछिया हुन्छ । मातृभुमि तिमीभन्दा प्यारो कोही छैन । सर्वश्व नै तिमीमाथि छ प्रिय उर्लेनी । म लामो सास फेर्दै भन्दैछु, आमा, कतै तिम्रो अस्तित्व लुटेको त छैन ?
आजकल कतैबाट पनि शुभसन्देश सुन्दिनँ । दिउँसै सुर्यका किरणहरुमा ग्रहण लागेर अँध्यारो हुन्छ । अचेल दिनरात एकैनास भएको छ । उफ ! जीवन कति टिठ लाग्दो रहेछ ।
प्रिय उर्लेनी ! तिम्रा अरु मजस्तै सन्ततिका खबर के कस्तोे छ ? तिनीहरु आफ्नो आमाको काखको पौष्टिक दुध, खाना छोडेर रसायनयुक्त बोतलको पानी पिएर लठ्ठिदै बेहोस भई हिँड्छन् अरे । दिदीबहिनी र दाजुभाईबीचको सम्बन्धको अस्तित्व लुटिसक्यो अरे ! आफ्नै दाजुले बहिनीलाई बजारको ठान्छन् अनि भातृत्वप्रेम मरिसक्यो रे । आपसमा झै–झगडा र काटमार गर्छन् अरे । तिमीले जन्म दिएर हुर्काएको सन्ततिले आमा उर्लेनी तिमीमाथि नै यति धेरै अमानवीय व्यवहार गर्छन् । तिमीमाथि थुक्ने, टेक्ने, फोहोर गर्ने, तिम्रै छातीमाथि तरवार प्रहार गरी छाती चिर्छन् रे । ती दुष्टहरुलाई तिमीले ममताको किरिया खान दिएनौ ?
मैले अस्ति त्यतैबाट आउनेसँग सोधेकी थिएँ, उसैले भन्दै थिई, तिम्रो छातीमाथि तरवार प्रहार गरी तिम्रो मुहारमा थुकेर तिम्रो शिरलाई कुल्चेर हिडयो रे । तिमी भने चिरेको छातीमाथि सुम्सुम्याउँदै भक्कानिदै घोप्टिएर रोईरहेकी थियौ रे । बुझ्यौ उर्लेनी, बाध्यतावश् यी शब्दहरुले अनुरोध गर्दैछु तिमीमाथि क्षणिक माया गरे झै गरी तिम्रै छातीमा छुरा प्रहार गरी तिम्रो जीवनको अन्त्य गर्लान् । आमा, तिनीहरुले गरेको जाली मायामा बिर्सेर पनि नपर्नु, आफ्नो अस्तित्व गुम्नेछ । ती दुष्ट पापीहरुको झुटो दयामायामा नफस्नु । कोमल हृदयभरी नुन छर्किदेलान् । आमा, तिनीहरुले सर्वस्व हरण गर्नेछन् ।
ती बाटाहरु काँडैकाडाले ढाकिएको रहेछ तर बिस्तारै काँडा पन्छाउदै आउनेछु । ढिला हुँदा कत्ति पनि दुःखन मान्नु प्रिय उर्लेनी ! जहिले जसरी जुन अवस्था भए पनि अवश्य तिम्रो चिरिएका छातीमा मलम लगाउन आउनेछु । तिम्रो गहभरीका आँशु पुछ्नेछु र खुसियालीमा रमाउनेछु । मैले अन्जानमा गरेका गल्तीहरुप्रति क्षमाप्रार्थी छु । मैले तिम्रो अविस्मरणीय माया कदापी भुलेकी छैन ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)