
‘केही चिन्ता नलिई निदाउँछन् डाक्टर किनकी भोलि फेरि विरामीको सेवा गर्नुपर्छ’
ब्राह्मणपुत्रको लकडाउन डायरी–२३
भरत शर्मा
‘देश त विजोग छ त । अबको राजनीति के हुन लागेको हो ? हामीले राजनीतिमा चासो राख्नु त्यति आवश्यक त छैन तर पनि समाचारले भनेको संविधानको धारा र बहुमतको सरकारको कुरो बुझिनँ’, शल्यचिकित्सक डा. उत्सवमान श्रेष्ठले राखेको प्रश्नको उत्तरमा मैले भनेँ, ‘ओली र देउवा बहुमतको संख्या हिसाब गरेर सरकार बनाउने कसरतमा लागेका छन् ।’
‘यस्तो बेला पनि राजनीतिक झगडा गर्ने हो त ?’, फेरि डा. श्रेष्ठले थपे, ‘कोरोना महामारीविरुद्ध सबै राजनीतिक दल एक भएर लाग्नु पर्ने हो । तर देशमा राजनीतिक खेल चलिरहेको छ ।’
‘राजनीतिको कुरा नगरौं डाक्टर साब ! के छ हालचाल ?, मैले सोधेँ ।
‘आइतबारबाट अस्पताल जाने योजनामा छु’, उनले भने ।
भक्तपुर क्यान्सर अस्पताल र केही निजी अस्पतालमा सेवारत डा श्रेष्ठलाई पनि महामारीले पीडा थपिदिएको छ । उनले पनि आफ्ना घरका सबैभन्दा बृद्व सदस्य पिता मद्दतमान श्रेष्ठलाई गुमाए । आज १४ दिन भयो, आइतवारबाट अस्पताल जाने योजनामा छन् ।
कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका डा. श्रेष्ठका परिवारमा भाइ, बुहारी, आमा र श्रीमतीलाई समेत कोरोना रोग लाग्यो । सबैले परास्त पनि गरे तर ८६ बर्षे पितालाई बचाउन सकिएन । यस बर्ष परिवारमा सबै सदस्यले कोरोना रोगविरुद्ध लड्दा डा. उत्सव र छोराछोरीलाई भने कोरोना लागेन ।
तर, गत बर्ष डा. उत्सव पनि कोरोना पोजेटिभ भएका थिए ।
‘पाँच दिनसम्म अस्पतालको विशेष आइसियुमा राखेर उपचार गरे तर बुबाले कोरोनासँग लडन सक्नु भएन । म जस्ता सयौं डाक्टरहरुले आफ्ना परिवारका सदस्य गुमाएका छन् । त्यसै भनेर चित्त बुझाउदै छु’, डा. उत्सवले भने ।
कोरोना महामारीविरुद्ध पहिलो स्थानमा खटिने चिकित्सक र नर्सहरुको कामलाई जति सम्मानका शब्दहरु लेखे पनि पुग्दैन । यतिबेला देशभरका मठ मन्दिर बन्द छन्, भगवानका दरबार बन्द छन् तर अस्पताल र अस्पतालमा काम गर्ने चिकित्सक र नर्सहरु भने आफुनो दायित्व पुरा गर्दै कोरोना रोगीलाई बचाउने अभियानमा जुटेका छन् ।
देशमा अक्सिजनको अभाव, अस्पतालमा बेडको नभएको खबर आउँदा पनि चिकित्सकहरुले आफ्नो तर्फबाट गरेका प्रयासका खबरहरु आएकै छन् । सलाम छ देशभरका हजारौं चिकित्सक र नर्सहरुलाई ।
त्यसो त यस्तो बेला चिकित्सको टेलिफोन हत्तपत्त उठ्न गा-हो हुन्छ । पाँच जना चिकित्सक छनोट गरेर फोन गरेको थिएँ । दुई चिकित्सकले फोन उठाए । एउटै प्रश्न सोधेँ, ‘महामारीका तपाईको दिन कसरी बित्दैछ ?’
केही चिन्ता नलिई निदाउनु पनि प-यो किनकी भोलि फेरि विरामीको सेवा गर्नुपर्छ
डा. रोमियो कंसाकार, बरिष्ठ ग्यास्ट्रो सर्जन एवं ग्रीन सिटी अस्पतालका मेडिकल डाइरेक्टर
निकै भावुक भएर डा. रोमियोले भने, ‘बिहानदेखि रात्रीसम्म विरामीका टेलिफोनहरु तारन्तर आइरहन्छ । कतिलाई अस्पतालमा बेड छैन सरी भनेर भन्नु परेको छ । निकटका मित्रलाई समेत अस्पतालमा बेड नहुँदा अन्य अस्पतालमा छ कि भनेर व्यवस्था मिलाउने काममा लागिरहेको छु ।
कयौं चिकित्सक मित्रका परिवारका सदस्यहरु नै कोभिड लागेका छन् । विहानै अस्पताल जान्छु, अहिले नियमित हुने सर्जरी अप्रेसन रोकिएको छ । तर, इमरजेन्सी शल्यक्रिया चाहिँ रोकिएको छैन । दैनिक विरामी परीक्षण रोकिएको छ । मेडिकल स्टाफ, नर्सहरुलाई उत्प्रेरणा दिने काम गर्नुपर्छ । विरामीको हेरचाहमा दौडनु पर्छ । म काम गर्ने अस्पताल मात्र होइन, मैले अन्य अस्पतालबाट चिकित्सक मित्रहरुले गर्ने अनकल सेवा पनि दिइरहेको छु ।
यस्तै छ दिनहरु, अहिले अक्सिजन अभाव अलिकति कम भएको छ । तर आईसियुको अभाव पहिले जस्तै छ ।
भेल्टिलेटर र आइसियुमा राखेका विरामीहरु निकै कम मात्र उपचारपछि घर फर्केका छन् । धेरैं बिरामीले मृत्यु भएको खबर सुन्दा मनमनै रुन्छु तर आँशु चाहिँ निकाल्न भएन । घरमा आएर दिनभरको काम र विरामीको मृत्यु भएको खबरले मनमा चिसो हुन्छ । तर चिकित्सक हामी, हामीले मानिसको अन्तिम सास भएसम्म बचाउने अभियानमा लाग्नु पर्छ । हामीले पढेको र हामीले गर्ने काम यही हो ।
मेरो सहकर्मी चिकित्सक मित्रहरुले पनि आफ्ना परिवारका सदस्य गुमाएका छन् । के गर्नु ? उहाँहरुलाई सम्झाउने काम गर्छु । दिन र समय बितेको पत्तो हुँदैन । साँझ घर पुग्दा थकाई लाग्छ । केही चिन्ता नलिई निदाउनु पनि प-यो । किनकी भोलि फेरि मैले अस्पतालमा गएर विरामीको सेवा गर्नुपर्छ ।
आफू पनि स्वास्थ्य नियमको पालना गर्नुप-यो । घर परिवारलाई पनि यस्तो समस्या नहोस् भनेर घरभित्र पनि स्वास्थ्य मापदण्ड अनुसार बस्नु पर्छ ।
महामारीमा संंसारका चिकित्सा पेशामा लाग्नेहरुले अलिकति दुःख हुन्छ नै तर पनि यस्तो बेला गरिएको कामलाई दुःख पायौं भनेर विलौना गर्नु हुँदैन ।
हामीले पढेको विरामीको सेवा गर्न हो । यस्ता महामारीको बेला हामी चिकित्सकहरु हर समय चनाखो भएर विरामीको सेवा गर्नु हाम्रो दायित्व र कर्तव्य पनि हो ।
केही छैन, देभभर मजस्ता कयौं चिकित्सकहरु सेवामा खटिएका छन् ।
यस्तो महामारीमा खटिएका चिकित्सकहरुलाई राज्यबाट उत्प्रेरणा हुने काम हुनुपर्छ । केही दिन अगाडि मात्र स्वास्थ्य मन्त्रीले अस्पतालमा वरिष्ठ चिकित्सकले सेवा नदिएको गुनासो पनि गरेको खबरले चाहिँ चिकित्सकको मनमा अलिकति चिसो पसेको छ ।
म आफै कोभिड भएर अस्पतालमा छटपटिएँ
डा. देवेन्द्र महर्जन, कन्सलट्यान्ट एनेथेसोलोजिस्ट, कीर्तिपुर अस्पताल
कीर्तिपुर अस्पतालमा काम गर्ने डा. महर्जनले पहिले त कुरा खुलेर गरेनन् । पछि म डा. रोमियोको मित्र हुँ भनेपछि बल्ल उनी खुले । उनले भने, ‘अहिले पैसा भएर पनि उपचार गर्छु भन्दा पनि बाँच्न नपाइने दिन आयो ।’
सरकारी अस्पतालमा बेड छैन, निजी अस्पतालमा अक्सिजन छैन । सरकारलाई मात्र के दोष दिनु ? संसारमा भएको महामारी हो । जनता गरिव छन्, धनीहरुले समेत निजी अस्पतालमा उपचार नपाएपछि सरकारी अस्पतालमा आएर उपचार गर्न परेको छ ।
मानिसको प्राण बचाउने अक्सिजनको अभाव, अस्पतालमा बेडको अभाव । यस्ता कुराले मानिसले बाँच्न पाउने अधिकार समेत हराएको अवस्था छ । दुःख लाग्छ, के गर्नु म त कोभिड विरामीको पहिलो फ्रन्ट लाइनको चिकित्सक हुँ । म काम गर्ने अस्पतालमा मात्र होइन, अन्य अस्पतालमा समेत मित्र र विरामीको फोन आउँदा सेवा दिन नसक्दा म खिन्न भएको छु ।
चिकित्सा शास्त्र अध्ययन गरेपछिको यो मेरो पहिलो महामारीमा खटिएको अनुभव हो । यसअघि गत बर्ष पनि महामारीमा काम गर्दा म आफै कोभिड विरामी भएर १५ दिन अस्पतालमा बसेँ । त्यतिबेला अस्पतालमा छटपटाइरहेको विरामी देख्दा म त कति पटक रोएको छु ।
अहिले पनि विरामीको उपचार गरेर निको भएर घर पठाउँदा खुसी हुन्छु, तर विरामी बचाउन नसक्दा कसैले नदेख्ने गरी आँसु निकाल्छु ।
म आफैं विरामी हुँदा मैले अनुभव गरेँ । चिकित्सक भएर पनि उपचार गर्दा कति दुःख भागे । जसले भोग्यो, कोरोना महामारीको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । जसका विरामी अस्पतालमा छन्, उनलाई मात्र महामारीको पीडा थाहा हुन्छ ।
डा. देवेन्द्र निकै भावुक भए, ‘जे भए पनि विरामी र आफन्तले आत्मबल चाहिँ बलियो बनाउनु पर्छ ।’
मैले त सबै विरामी र आफन्तलाई यस्तो भन्दै आएको छु । औषधि र हामी चिकित्सक भनेको विरामीका सबैभन्दा पहिलो सहारा हो । तर, विरामीले औषधि खाएपछि र डाक्टरले उपचार गरेपछि निको हुन्छु भन्ने मनोबल चाहिँ उच्च राख्नु कोरोनाको औषधि यही हो ।
…
फोनको घन्टी बज्यो, अर्का वरिष्ठ न्यूरो सर्जनको । एक घण्टीमा हजुर फोन उठाएँ, ‘डाक्टर साव ! नमस्कार । आराम ?
‘म त पाँच दिनदेखि विनायक अस्पतालको भेन्टीलेटरका विरामी कुरेर बसेको छु ?’
‘कसलाई के भयो ?’
‘श्रीमतीलाई कोरोनाले निकै दुःख दियो ।’
‘मैले त आज चिकित्सकका बारेमा डायरी लेख्दै छु नि’, मैले भनेँ ।
‘तपाईंको डायरीमा मेरो नाम र पद चाहिँ नलेख्नु हैं’, उनले भने, ‘म अहिले तपाईंसँग अफ द रेकर्ड मात्र कुरा गर्छु । श्रीमतीले कोरोनालाई पराजित गरेर निको भएपछि घरमा बसेर कोरोना महामारीको दुःखको कथा लेख्नु पर्छ ।’
‘हजुरको प्राणप्रियलाई छिटो निको होस्’, मैले भनेँ ।
‘तपाईंलाई चाहिँ आध्यात्मिक प्रार्थनाको लागि फोन गरेको । अहिले राखेँ है त’, डाक्टर साबले भने ।
उनकी श्रीमती पनि नर्स हुन् । कताबाट, कसरी के भयो सोध्न सकिनँ ।