गुरूहरूको लकडाउन जिन्दगी

ब्राह्मणपुत्रको लकडाउन डायरी – २१
भरत शर्मा

महामारी नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आज २१ औं दिन । यस्तै, लकडाउन अझै कति दिनसम्म जाने हो, भविष्यबाणी गर्नसक्ने अवस्था छैन ।

तर यसैबीच आज बिहानै भूकम्पले सबैलाई सूर्योदय भन्दा अघि नै उठाइदियो । लमजुङ केन्द्रविन्दु भएर गएको भुकम्पले राजधानीसहित केही पहाडी जिल्लामा धक्का दियो र सम्झाइदियो भूकम्प ०७२ । कोरोनाले घरभित्र बस भन्छ, भूकम्पले घरबाहिर, अब कहाँ बस्ने हो भनेर मानिसले प्रश्न गर्न थालेका छन् ।

छिमेकी भारतमा महामारीको चपेटाबीच समुन्द्री आँधी ‘टाउटे’ले महाराष्ट्र (मुम्बई) र गुजरात क्षेत्रमा क्षति पु-याएको छ । कोरोना संक्रमित कम तर मृत्यु संख्या बृद्धि भएको खबर मात्र होइन, टाउटेका कारण सय भन्दा बढी मानिस परलोक पुगको र हजारौंको घरमा क्षति पु-याएको छ ।

भारतीय मौसम विभागले ‘टाउटे’पछि चाँडै नै ‘सुपर साइक्लोन’ आउने चेतावनी जारी गरेको छ । यो सुपर साइक्लोनले कति क्षति पु-याउने हो कसैलाई थाहा छैन ।

टाउटेको असर नेपालमा पनि देखिएको भन्दै यहाँको मौसम विभागले शुक्रबारसम्म नेपालमा पनि भारी बर्षा हुनसक्ने भन्दै होसियारीको लागि अनुरोध गरेको छ ।

दिनहरु उजाड जस्तो छ । बिहान यसो सूर्य झुल्केजस्तो भए पनि न बिहान बिहान जस्तो, न त साँझ साँझजस्तो न त रात्री नै रात्रीजस्तो । प्रकृति मौन बसेबस्तो ‘दूर्दिन’ ।

यस्तो आपत्को समयमा हामी घरभित्र छौं । बाहिर निस्कौंजस्तो लाग्छ, तर तत्काल स्वास्थ्य मन्त्रालयको अपिल र टाउटेको याद आउँछ । जानु पनि कहाँ शहर अहिले शान्त छ, चारैतिर सुरक्षाकर्मीहरु बाहिर नआउनुहोस् भन्दै अनुरोध गरेर बसेका छन् ।

यस्तो अवस्थामा आजदेखि नेपालनाम्चाको नियमित लकडाउन डायरीमा समाजका विभिन्न पेशा, वर्ग र क्षेत्रका व्यक्तित्वहरुसँग प्रश्न सोध्ने र उत्तर खोज्ने शुरुवात गरेका छौं ।

प्रश्न एउटै छ, ‘लकडाउनमा दिन कसरी बित्दै छन् ?’

आजका पात्रहरु
१. प्रा.डा माधव भट्टराई, अध्यक्ष, राष्ट्रिय धर्मसभा नेपाल ।
२. डा. माधवप्रसाद पाण्डे, सहप्राध्यापक, ज्योतिष विभाग, नेपाल संस्कृत विश्वविद्यालय ।
३. धर्मराज बराल, अध्यात्म चिन्तक ।

मेरो जिन्दगीमा लकडाउन जस्तै नियम थियो, मलाई केही फरक परेको छैन – प्रा.डा. भट्टराई

सनातनी अध्यात्मयात्रीका लागि दिन बिताउन कुनै कठिन छैन । बिहानको समय नियमित वेद, पूराण, चण्डीपाठमा बित्छ । यो तालिका शुरु भएको ४५ बर्ष भयो । दिउँसो शास्त्रीय ग्रन्थहरुमा लेखेको दार्शनिक अर्थ खोजी गर्दै लेखन र टिपोट गर्छु भने साँझ पूजाआजा र फूलबारीको सेवाकर्म । भेटघाट बन्द छ । साँझ समाचार हेर्ने बानी थियो । केही दिनदेखि फेसबुक र समाचार पनि नहेर्ने कि भन्ने सोचमा पुगेको छु । सकारात्मक र मन प्रफुल्तित हुने कुरा सुन्न, पढ्न पाइदैंन ।

मेरो जिन्दगीमा लकडाउन जस्तै नियम थियो । त्यही नियममा बाँचेको छु । मलाई केही फरक परेको छैन । अध्यात्म चिन्तनमा लाग्नेहरुलाई केही फरक पर्दैन । भौतिकवादी सोच राख्ने व्यक्तिलाई लकडाउनमा दिन कटाउन मुस्किल परेको देखेको छु । यसो घरको छतबाट हेर्दा दिन कटाउन नसक्दाको दुःख छिमेकीमा देखेको छु ।

सर्वंसाधरण जनताको पनि उही हाल छ । रोग त छदैछ, भोकले मानिसलाई सताउँदैछ ।

साँझ घरको छतमा केही बेर हिँड्ने गर्छु – डा पाण्डेय

बिहानै ब्रम्हमुहूर्तमा उठ्ने गर्छु । केही समय नजिकै हिँडने बानी छ । त्यसपछि स्नान, जप, ध्यान, योग, पाठ । लकडाउन भए पनि नभए पनि तीन दशकदेखिको यो मेरो नियमित तालिका हो । अचेलचाहिँ बालभोगमा पौष्टिक तत्वयुक्त उमारेको गेडागुडी खाने तालिका थपिएको छ ।

बिहान ठीक १० बजे भोजन, भोजनपछि आघा घण्टा विश्राम र त्यसलगत्तै विद्यार्थीका शोधपत्र अध्ययन, अनुसन्धान र अध्यापनमा दिन बित्ने गरेको छ । । साँझको खाना सूर्यास्तभन्दा अघि नै लिने गरेको छु । र, महामारी र लकडाउनले गर्दा साँझ घरको छतमा केही बेर हिँड्ने गर्छु । साँझ समाचार हेर्ने, केही समय दिनभर गरेका कामको समीक्षा र फोन वार्तापछि घडीको सूईले नौं बज्यो भनेपछि विश्राम गर्छु ।

हामी सनातनीहरुको जीवन र समय लकडाउन जस्तै छ । अहिले एउटै मात्र कमी भएको हो, त्यो भनेको बाहिर जान जान पाएका छैनौं । बाँकी समय हाम्रो सबै उस्तैै लयमा चलेको छ ।

अध्यात्म ज्ञानयात्रामा लागेकाहरुका लागि समय अपुग छ । त्यसैले लकडाउन हुँदा काम गर्न समय थप भएको अनुभव गरेको छु ।

बिहान बेलुका भान्सामा काम गर्छु – बराल

भजन सुन्ने, पुस्तक पढ्ने, योग, ध्यान गर्ने, माला जप्ने र करेसाबारीमा गोडमेल गरेर दिन कटाउँदै छु । समय मिल्यो भने मित्रमण्डलीसँग वार्ता गर्दै अध्यात्मयात्राका अनुभव सुनाउने गरेको छु ।

बिहान बेलुका भान्सामा काम गर्छु । तरकारी तयारीमा समय दिएको छु । यसो समय निकालेर समाचार हेर्न र सुन्छु । कुर्सी लु्छाचुडी गरिरहेको नेताहको महान कार्यको दृश्यावलोकन गर्ने समय पनि निकालेको छु ।

यदि लकडाउन नभएको भए काशी, कलकता र जगन्नाथ पुरी, नवलपरासी, मुक्तिनाथमध्ये कुनै तीर्थस्थलीको यात्रामा हुने थिएँ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button