लकडाउन वार्ताः अज्ञात भयले त्रसित मृत शहरजस्तो

महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा काठमाडौं, बालाजुनिवासी लेखक/पत्रकार श्रीरामसिंह बस्नेत

लकडाउन छ । तर, तपाईको कन्फिडेन्स् त डाउन भएको छैन नि ?
छैन । तर हरेक दिन आफन्त र युवा उमेरकै मानिसहरुका पनि अकाल मृत्यु भएको थाहा पाउँदा निकै दुःख लागिरहेको छ ।

दिनहरु कसरी बित्दै छन् ?
पहिलेदेखि फुर्सदमा हेरुला भनेर थाँती राखेका पुस्तक पढेर र काम गरेर ।

कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
धेरै जसो समय अघिल्लो प्रश्नको उत्तरमा भने जस्तै हो, बाँकी आफ्नो समुदायका संक्रमितहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने प्रयासमा ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
धेरै फरक । अहिलेको दाँजोमा त पोहोरको रुघाखोकी जस्तो मात्र थियो ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
सुनसान र अज्ञात भयले त्रसित जस्तो, कुनै चहलपहल नभएको मृत शहर जस्तो ।

यदि लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
म सुदूरपश्चिम हुँदै देहरादुन, नालापानीसम्मको भ्रमणमा हुन्थें । वीर बलभद्र कुवँरको स्मारकमा श्रद्धाञ्जली चढाउन जाने पूर्व योजना थियो, सब चकनाचूर भयो, पापी कोरोना भाइरसले गर्दा ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
मानव जातिले २१औं शताब्दीमा भोगेको एक कालो र कष्टप्रद कालखण्डका रुपमा ।

के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
होइन, तर मानिसहरुको छाडापन देख्दा यो पनि आवश्यक हो ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
म अलि निष्ठुर भएको छु सायद, सरकारले उमेरका कारण जीवनको विसौनी नजिक पुगिसेकालाई भन्दा युवा र बालबालिकालाई बचाउन उच्च प्राथमिकता दिनुपर्ने रहेछ । ८५ वर्षको हजुरबाबुलाई बचाउन श्रोतसाधन खर्च गर्नुभन्दा २५ वर्षका नाती नातिनीलाई बचाउनु पर्छ । यद्यपि मानवताको दृष्टिकोणले यो उचित होइन किनकि नमरेसम्म बाँच्ने अधिकार सबैलाई हुन्छ । तर, हजुरबा र नातीबीच एकजनालाई मात्र बचाउन सकिने अवस्था सिर्जना भएको विषम स्थितिमा नातीलाई नै बचाउनु पर्छ । आजको समय एकप्रकारले हतियाररहित युद्धको समय हो ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?
सबै देशका सरकारले विकास र राष्ट्रिय शक्तिको परिभाषा परिवर्तन गरेर अब आफ्ना जनतालाई अकाल मृत्युबाट बचाउन पहिलो प्राथमिकता दिनुपर्छ । पाकिस्तानको सेखी झार्न हरेक वर्ष अर्बौं डलर हतियार र युद्धक विमानमा खर्च गर्ने भारत अहिले अक्सिजन जस्तो प्राणरक्षक वस्तुको व्यवस्था गर्न समेत नसकी दिनदिनै हजारौं आफ्ना नागरिकहरु छट्पटिदैं मरिरहेको टुलुटुलु हेर्न बाध्य छ । अब विकासको परिभाषा र नीति पूरै नबदल्ने हो भने आजको हृदयविदारक दृष्य भविष्यमा फेरि कुनै अर्को रुपमा नदोहरिएला भन्न सकिन्न ।

केही थप्न चाहनुहन्छ ?
हाम्रो सरकार, स्वास्थ्यसम्बन्धी सबै सम्बन्धित क्षेत्र र नागरिकजनलाई सोध्न चाहन्छु– भविष्यमा पनि यसैगरी प्लास्टिकमा बेरिएर सेनाका चार जवानको अन्तिम सलामी खाएर विदा हुने मन छ कि ?

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button