
नागरिक मनोविज्ञानः मेरो शरीर आजसम्म ठिक छ तर दिमाग बिरामी
शकुन्तला देवकोटा
दुई-चार दिनदेखि म अलमल्ल परिरहेछु ।
कता जाने ? के गर्ने ? के नगर्ने ? कसरी बाँच्ने ? कसरी बचाउने ? भोलिको दिन कस्तो आउला ?
वरपर सबै बिरामी साथीभाई र आफन्त बिरामी । समुदाय बिरामी । देश बिरामी । मेरो शरीर आजसम्म ठिक छ तर दिमाग बिरामी ।
केही लेख्छु भन्छु, कलम सर्दैन । केही बोल्छु भन्छु, बोली फुट्दैन । समाचार सुन्दै दिक्क लाग्छ । फिल्म हेर्छु, छट्पटी हुन्छ । दिउँसो सुत्ने बानी छैन । कहिले भित्र कहिले बाहिर गर्दै दिन बित्छ ।
अस्पतालमा बेड छैन । बेड भए पनि अक्सिजन छैन । डाक्टर नर्स आफै बिरामी छन् । बिरामी हुँदा पनि काम गरिरहेका छन् ।
कम्तिमा काम गर्ने वातावरण सहज बनाइदिए पनि हुने भन्ने लाग्छ होला । उपचारमा चाहिने सामानको सहजिकरण कसले गरिदिने ? आफै बिरामी भए कसले जिम्मा लिने ? यस्तो अवस्थामा देश चलाउनेहरु अर्कै तमासामा व्यस्त छन् ।
बिरामी त बिरामी भैगो । आफन्तहरु पनि आत्तिएर नै बिरामी हुने अवस्था छ ।
पैसा खर्च गर्छु भन्दा पनि उपचार पाउन सकेका छैनन् । पैसा खर्च गर्न नसक्नेहरुको अवस्थामा कस्तो होला ?
सोच्दासोच्दै बिरामी हुने भएँ म पनि ।
देश र जनताको अवस्था देख्दा निशब्द छु हिजोआज ।