लकडाउन वार्ताः अक्सिजन नपाएर मानिस मरेको सुनेदेखि मेरो आत्मविश्वास खस्किएझैं भएको छ

महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा पत्रकार बबिता बस्नेत

लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
मेरो कन्फिडेन्स डाउन भइहालेको छैन तर त्यति सहज महशुस पनि गरिरहेकी छैन । आफूले चिनेका, केही दिन अघिसम्म कुरा गरेका मानिसहरुको धमाधम मृत्यु भइरहेको छ । मानिसहरु कोही आइसीयुमा छन् । कोही भेन्टिलेटरमा छन् । कतिले अस्पतालमा साधारण बेडसम्म पाएका छैनन् । अस्पतालमा बेड र अक्सिजन पाउनु भाग्यको कुरा जस्तो भएको छ । अक्सिजन नपाएर मानिस मरेको कुरा सुनेदेखि मेरो आत्मविश्वास खस्किएको झैं भएको छ । मेरो हातमा केही छैन भनेर जान्दाजान्दै पनि आँखाअगाडि यतिका मान्छे मर्दा के गर्न सकियो त ? भनेर ग्लानी जस्तो पनि भएको छ ।

दिनहरु कसरी बित्दै छन् ? कसरी गर्दै हुनुहुन्छ समयको सदुपयोग ?
घरबाटै काम गरिरहेको छु तर त्यति फोकस हुनचाँही सकिरहेको छैन । बाहिरको माहौलले फरक पारिहाल्छ नि । केही नयाँ कथा लेख्दैछु । अनलाईन मिटिङहरुमा भाग लिइरा’को हुन्छु । तर, यहाँको राजनीतिक माहौल र जनताको स्वास्थ अवस्थाले धेरै नै खिन्न बनाएको छ । केही नयाँ कुरा सोच्ने र सिर्जना गर्ने जाँगर छैन । लामो समयसम्म आफूसँग समय नभएकाले समय पाए त यसो गर्थे उसो गर्थें भनेर सोचियो । तर, मानिससँग समय मात्र भएर नहुँदो रहेछ, समयको सदुपयोग गर्नका लागि सोही अनुरुपको वातावरण पनि हुनुपर्दोरहेछ भन्ने कुराको महसुस अहिले गरिरहेकी छु ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउनबीच निकै फरक छ । गत बर्ष यसरी मान्छे मरेका थिएनन् । संक्रमितको संख्या पनि सानो थियो । दिनमा सयजना संक्रमित हुँदा हामी आत्तिएका थियौं, अहिले दिनको २ सय ४५ जना मान्छे मरिरहेका छन् । गत बर्षको लकडाउनमा ‘रेस्ट गर्नका लागि सही समय’ जस्तो लागेको थियो । मानिसहरुले घरमा बसेर पकाउने, खाने, खानेकुराहरु सामाजिक संजालमा पोष्ट गर्ने, चाडबाड जस्तै गरी मनाएका थिए । यसपल्ट बाँचिएला कि नबाँचिएलाझैंको परिस्थिति छ । त्रासदीपूर्ण समय छ ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
केही दिनअघि एकजना छिमेकी काकाको मृत्यु भयो । केही समयअघि आमाबुवासँग बोल्दै गरेको देखेकी थिएँ । एक्कासी उहाँ नरहेको सुन्दा सबै छिमेकीहरु छक्क प¥यौं । कोरोना पोजेटिभ उहाँको आफ्नै घरमा निधन भयो । यस्ता मृत्युहरु सायद सरकारी आँकडामा अभिलेखबद्ध हुँदैनन् ।

यदि लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
यसै भन्न सक्दिन । तर, भौतिक रुपमा जहाँ भए पनि अहिलेको जस्तो मानसिक अवस्थामा भने हुने थिइन । अहिले त कसैको फोन आयो भने पनि केही भयो कि भनेर डर लाग्छ । कसैले फेसबुकमा फोटो हाल्यो भने पनि मन झसंङ्ग हुन्छ ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
एउटा त्रासदीपूर्ण समय जहाँ भविष्यका योजनाहरु धर्मराएका थिए । यस्तो समय जति बेला आफू बाँचिएला कि नबाँचिएला भनी जिन्दगी बाँच्ने कुरामा सिमित भएको थियो । मृत्यु हरेक मानिसको जीवनमा निश्चित छ भन्ने थाहा भए पनि केही भइहाल्छ कि भनेर खासै सोचिएको हुँदैन, मृत्युको बारेमा धेरै चर्चा गरिएको समयका रुपमा यो समयलाई सम्झिन्छु होला । भविष्यमा अहिलेको समय सम्झनका लागि पनि पहिला बाँच्नुचाँही प¥यो ।

के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
लकडाउनमात्रै समस्या समाधानको सम्पूर्ण उपाय होइन तर एउटा उपायचाँही हो । अहिलेको अवस्थामा विकल्प देख्दिन । लकडाउन नगर्नका लागि हामी नागरिकहरु उत्तरदायी हुन आवश्यक छ । विगत एक बर्षदेखिको अवस्था हेर्दा सरकार त उत्तरदायी छैन नै, हामी पनि त्यति ‘रेस्पोन्सिवल सिटिजन’ भइसके जस्तो लाग्दैन ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
कोरोनाअघि पनि मलाई जीवनको सिमितताका बारेमा जानकारी थियो । मानिसको जीवनको सबैभन्दा ठुलो सिमितता मृत्यु हो । जुन कुनै पनि बेला हुन सक्छ । कोरोनाले जीवनलाई गहिरिएर बुझ्न र यसका सिमितताहरुलाई आत्मसात गर्न थप मद्दत पु-यायो । भयरहित मृत्युसम्म पुग्न मानिसलाई निकै समय लाग्छ । आफूले आफैलाई त्यहाँसम्म पु¥याउन धेरै नै मेहेनत गर्नुपर्ने हुन्छ । मलाई यो दष्टिकोण विकास गर्न कोरोना समयले मद्दत गरिरहेको छ । यद्यपि पूर्णता पाईसकेको अवस्था भने होइन । अहिले पनि के होला भन्ने भय बाँकी छ ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?
भविष्य आफैमा अनिश्चित कुरा हो । मानिसको जीवनमा भोलि कहिल्यै पनि नआउने हुनाले भविष्यका बारेमा धेरै सोच्नु हुँदैन भन्ने मान्यता राख्छु । तर पनि हामी योजनाहरु त बनाई रहेकै हुन्छौं । प्रायः मानिसले विगतलाई सम्झिएर र भविष्यको परिकल्पना गरेर बर्तमान बाँचिरहेका हुँदैनन । म पनि त्यसबाट अलग हुन सकेकी छैन । भविष्य राम्रो बनाउनका लागि वर्तमानलाई शान्तिपूर्ण बनाउने कोसिसचाँही गर्नु पर्छ जस्तो लाग्छ । हरेक मानिस जीवनमा खुशी र सुखी हुन चाहन्छ, शान्ति भएन भने यी दुवै कुरा सम्भव छैन । अशान्त मान्छे कहिल्यै पनि खुशी हुन सक्दैन । आन्तरिक शान्तिलाई म महत्व दिन्छु, जुन हरेक मानिसले गर्न सक्ने कुरा हो । त्यसैले सकेसम्म भविष्यमा भन्दा पनि वर्तमानमा बाँच्ने कोसिस गर्नु पर्छ जस्तो लाग्छ ।

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button