तराईमा साइकल जीवनयापनको जबरजस्त माध्यम
साइकल तराईवासीका लागि यातायातको साधन मात्र होइन, यो त उनीहरुको दैनिक गुजाराको प्रमुख माध्यम पनि हो ।
सतिश निरौला/नेपालगञ्ज
नेपालगञ्जमा साइकल
झन्डै ६५ बर्षदेखि नै साइकल तराईवासीको यातायातको प्रमुख साधनको रूपमा रहिआएको छ । साइकल तराईवासीका लागि यातायातको साधन मात्र होइन, यो त उनीहरुको दैनिक गुजाराको प्रमुख माध्यम पनि हो । जंगलबाट भारीकाभारी दाउरा ल्याउन होस् वा तरकारी र फलफूल बोकेर गाउँगाउँ डुलाउँदै व्यापार गर्न होस् वा साना डुलुवा व्यापारीले अन्य वस्तु घरघरमा पुगेर बिक्री गर्न प्रयोग गर्ने प्रमुख साधन साइकल नै हो ।
यसरी हेर्दा तराईमा साइकल सँस्कृतिमात्र होइन, जीवनयापनको जबरजस्त माध्यम पनि हो । तराईवासीसँग साइकलको सम्बन्ध पुरानो र बलियो छ । बदलिँदो परिवेश र आधुनिकताले साइकललाई केही मात्रामा विस्थापित गरे पनि अझै पनि साइकलको प्रयोगमा तराई जबरजस्त छ ।
नेपालगञ्ज पनि तराईको जिल्ला अझ भारत उत्तरप्रदेशको राजधानी लखनउ र औधोगिक शहर कानपुरसँग जोडिएको ठाउँ हो । त्यसैले नेपालगञ्जमा पनि लखनउ र कानपुरसम्म व्यापार व्यवसाय गर्नेले नै नेपालगञ्जमा पहिलोपटक साइकल भित्राएको अनुमान गर्न सकिन्छ । ७०/७५ बर्षअघि नेपालगन्जबाट भारतिय शहर कानपुर लगेर घ्यु बिक्री गर्ने गरिन्थ्यो । उबेला घ्युको व्यापार गर्ने नेपालगन्जियाका परिवारका सदस्य तिनै घ्युव्यापारीमध्ये सचिदानन्द चौबेका पिताजी एक थिए र उनले कानपुरमा घ्यु बिक्री गर्ने जाँदा नै कानपुरबाट नै सन् १९४५ मा १० रुपैयाँ भारतीय रुपियाँमा नयाँ साइकल किनेर ल्याएको साइकल नै नेपालगन्जमा भित्रिएको पहिलो साइकल हुन सक्ने दाबी सचिदानन्द चौबेको छ । यसरी हेर्दा ७०/७५ बर्षअघि नै नेपालगञ्जमा साइकल दौडिन थालेको हुनसक्छ ।
बाँके जिल्लाको अनुमानित तथ्यांक हेर्ने हो भने दैनिक १० हजारको आसपासमा साइकलहरु सडकमा गुड्ने गर्छन् । हजारौंहजारको संख्यामा यहाँको मजदुरहरु दैनिक ज्यालामजदुरी र कलकारखानाका काममा साइकल चढेर नै जाने गर्छन् । त्यति नै ठुलो संख्या स्कुल र क्याम्पस जाने विद्यार्थीहरुको हुन्छ जो नियमित साइकलमा नै जाने गर्छन् ।
साइकलेका समस्या
नेपालका सडकहरू साइकलमैत्री छैनन् । साइकल लेनको बिषयले अहिले पनि नेपालमा उचित प्राथमिकता पाएको छैन । साइकल चढ्नेहरुलाई सडकमा छुट्टै साइकल लेन हुनुपर्छ भनेर बोल्दा त्यो भन्दा महत्वपूर्ण र नगरी नहुने कामहरू अरु थुप्रै भएको बताइने गरिन्छ । साइकल विकासले चरम गति छोइसकेपछिको आवश्यकता मात्र हो वा साइकल नभए पनि हुने हिसाबले अथ्र्याउने गरिन्छ । सडकमा साइकल लेन नभएकै कारण आफ्ना कामले निस्कने कयौं साइकलयात्रीहरुले गुमाएको जिन्दगी र व्यहोर्नुपरेको दुर्घटनाको तथ्यांक हेर्ने हो भने पक्कै पनि त्यो डरलाग्दो छ ।
साइकल प्राय साधारण मानिसहरूले प्रयोग गर्छन् । भुइँमान्छेहरु, जसको दैनिक आयस्रोत निकै नै न्यून हुन्छ, उनीहरु निम्न र कष्टकर जीवनस्तरका हुने गर्छन् । अर्थात् साइकल गरिबीको पनि सिम्बोल हो । त्यसैले पनि मजदुर, श्रमिक र निमुखाहरुको आवश्यकताको बिषय कहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेन । त्यसैको नियति सडकमा साइकल लेन बन्ने बिषयले प्राथमिकता पाएन अनि दैनिक देशभरको तथ्यांक नियाल्दा गाडीमोटरको ठक्करबाट साइकलवालाहरुको दुर्घटना भएको र ज्यान गएको समाचार आइरहन्छन् ।
साइकल महत्व
साइकलको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । यो सँगसँगै साइकल चढ्नेहरुको संख्यामा पनि बढोत्तरी हुँदै छ । पछिल्लो कोरोना महामारीको कारण पनि साइकलको प्रयोग बढ्दै गएको छ । स्वास्थ्यको दृष्टिबाट पनि साइकल अति नै महत्वपूर्ण छ । साइकलमा हिँड्दा सामाजिक दुरी कायम हुने र वातावरण संरक्षणमा मद्धत पुग्ने त छँदैछ, यसले ठुलो मात्रामा पेट्रोलियम पदार्थमा बाहिरिने रकमलाई बाहिर जानबाट समेत रोक्ने छ । साधारणतया हामी दैनिक ५० किलोमिटरसम्मको यात्रासहज रूपमा नै साइकलबाट गर्न सक्छौं । आज संसारका ठुला र विकसित मुलुकहरु साइकलतिर नै फर्किसकेका छन् । समयमा नै हामी नेपालीले पनि साइकलको महत्व र यसका फाइदा बुझेर हाम्रो दैनिक जीवनलाई साइकलसँग जोड्न सके पक्कै पनि मुलुकको समृद्धियात्रामा यसले टेवा पु-याउने नै छ ।
(लेखक नेपालगञ्जका साइकले हुन् । यो उनको निजी विचार हो ।)