बन्धुसँग अछामको ‘तिमिल्सैन’ पुग्दा

यात्रा
योगेन्द्र तिमिल्सिना

तिमिल्सिना समाजका अध्यक्ष शान्ति तिमिल्सिनाबाट ‘तिमिल्सिनाहरुको पुख्र्यौली थलो अछाम जाने निर्णय भयो, यो एउटा साँस्कृतिक, ऐतिहासिक यात्रा हुने भएकोले दाई, तपाईं पनि यस यात्रामा सामेल भए राम्रो हुने थियो’ भन्ने जानकारी प्राप्त भयो । म अस्वस्थ थिएँ (वास्तवमा अझै पनि म अस्वस्थ नै छु), तर पनि कता कता त्यो साँस्कृतिक, ऐतिहासिक यात्रामा सहभागी हुने उत्कट इच्छा भयो ।

सहभागी हुने उत्कट इच्छा हुँदाहुँदै पनि आफ्नो अस्वस्थताबारे उहाँलाई जानकारी गराएँ । उहाँबाट ‘हामी सकेसम्म हेर्छौ, तपाईं ढुक्क हुनुहोस्’ भन्ने सकारात्मक जवाफ आएपछि छोरासँग सल्लाह गरें । उसले मेरो स्वास्थ्यस्थितिलाई विचार गरी अलि असजिलो मान्यो र ‘समूहमा तपाई जस्ता पाका मानिस छन् छैनन्, सबै युवाहरु मात्र छन् भने तपाईंलाई यात्रामा अलि असजिलो होला’ भन्ने विचार प्रकट ग¥यो । पुनः शान्तिजीलाई फोन गरें । उहाँले भन्नु भो, ‘म पनि सारै भर्खरको होइन, अरु पनि विभिन्न जिल्लाबाट पाका मानिसहरु हुनुहुन्छ, तपाईंलाई अफ्ट्यारो हुन्न, दाई ।’ अन्ततः २०६६ माघ १७ गते काठमाडौंबाट प्रस्थान गर्ने निधो भयो ।

मनले अछाम जाने निर्र्णय गरेता पनि बसको लामो यात्रा, पहाडको बाटो, अस्वस्थता आदि विविध कारणले गर्दा आशंका र द्वीविधाहरुका बीच यात्रामा सहभागी हुने भएँ । विहान साढे चार बजे अमुक स्थानमा आइपुग्नु भन्ने पक्का–पक्की भएपछि सोही अनुसार बालाजु, बाइपासबाट अर्का एकजना बन्धु नुवाकोट विदुरका हरिप्रसादलाई समेत साथै लिई ठीक सोही समयमा तिर्थयात्राको लागि तयार भई पर्खिरहेको बस भए ठाउँमा पुगें । चार–पाँचजना बन्धुहरु बसमा बसिसक्नु भएको रहेछ । ल ठीक समयमा आइपुगिएछ भनेर ढुक्क भएँ र मलाई पु¥याउन गएको छोरालाई त्यहाँबाट घर फर्काएँ । त्यसपछि म छु नि भनी हरिप्रसादजीले मेरो झोला समाउनु भयो । त्यस यात्रामा शान्तिजी पछि मैले चिनेको मानिस हरिप्रसाद थपिए । त्यसो त समूहका सबैले यात्रा अवधिभर एक अर्कालाई ध्यान दिएकै देखियो, तर उपरोक्त दुई व्यक्तित्वबाहेक मलाई अस्वस्थ भनेर चिन्ने तथा विशेष सहयोग र ध्यान राख्ने अन्य बन्धुहरुमा एकनाथ, विष्णुहरि, शोभाकर, हिरादेवी, बाबुराम र नारायणप्रसाद (नवलपरासी) हुनुहुन्थ्यो ।

तोकिएको समयमा त्यहाँबाट बस प्रस्थान गर्न सकेन । १०–१२ जना बन्धुहरुकोे एउटा ठूलो र महत्वपूर्ण समूह नै त्यस स्थानमा आइपुगेको रहेनछ । (महत्व त समूहका सबै सदस्यहरुको बराबर नै हुन्छ, तर यस समूहलाई विशेष महत्वपूर्ण भन्नुको अर्थ सामूहिक निर्णय गर्नुपर्दा यस समूहले निर्णयलाई प्रभाव पार्न सक्थ्यो ।) पौने सात बजेतिर बल्ल ‘ढिलो भयो, माफ गर्नुहोला’ भन्दै त्यस समूहका सदस्यहरु पनि आइपुगे । उनीहरु खाली हात आएनन्, बसमा चढ्ने वित्तिकै सबै बन्धुहरुलाई एक–एकओटा तात्तातो सेल हात–हातमा राखी दिए । ढिलो भयो भनेर मुर्मुरिएका बन्धुहरु अक्क न बक्क भए । किन ढिलो ग-यौ भनेर सोध्ने हिम्मत कसैको पनि भएन । बल्ल तिमिल्सिना समाजको ऐतिहासिक, सामाजिक आछाम यात्रा काठमाडौंबाट प्रस्थान ग-यो ।

करीब साढे दशतिर हामी नारायणघाट आइपुग्यौं । त्यहाँ हामीलाई बिहानको नास्ताको निम्ति आयोजकद्वारा एउटा रेष्टुरेण्टमा पस्न भनियो । जसै हामी रेष्टुरेण्टमा पस्दै थियौं, एकजना बन्धुले रेष्टुरेण्टको काउण्टरमा राखिएको आफुलाई मनपर्ने मिठो कुरा टपक्क टिपेर प्वाक्क मुखमा हाली हाले । त्यस रेष्टुरेण्टमा चुरोट पिउन मनाही गरिएको भएता पनि सोही बन्धुले चुरोट सल्काई धुँवा उडाई हाले । मलाई असजिलो लाग्यो, तर के गर्ने त्यहाँ कसले कसलाई सम्झाउने अनुशासन ? सबैको हैसियत बराबर थियो । तैपनि व्यवस्थापन समूहका एक सदस्य एकनाथजीलाई खुुसुक्क भनें, ‘समूहका सदस्यहरुको क्रियाकलापमा निगरानी राख्नुपर्ने भयो ।’ दिउँसो एकबजेतिर दुम्कीबास पुगियो र शोभाकरजीले व्यवस्था गर्नु भएको भोजन स्नेहपूर्वक ग्रहण गरियो । बसको पछाडिको भागबाट आएको चुरोटको दुर्गन्ध सुँघ्दै राति ११ बजे बास बस्न कैलाली जिल्लाको अत्तरिया पुगियो । तँछाडमँछाड गर्दै बेलुकाको खाना एउटा होटलमा खाइयो । एउटा लजमा सुत्ने व्यवस्था गरिएको रहेछ । मेरो स्वास्थ्यका कारणले खाँदखूँद गरेर दुई–तीन जना मिलेर सुत्नसक्ने अवस्था थिएन । खाटको निम्ति समूहका सदस्यहरुबाट हुनसक्ने सम्भावित प्रतिस्पद्र्धालाई ध्यानमा राखी शान्तिजीले मलाई एउटा खाट नजिक पु¥याएर त्यसैमा सुत्न भन्नुभयो । भोलिपल्ट अर्थात् माघ १८ गते बिहानै हामी अछामको निम्ति प्रस्थान ग¥यौं ।

केही समयपछि बाटो उकालो लाग्यो । खयर, साल, पैंयुँ, र सल्लोको रुख हेर्दै हाम्रो बस उकालो चढ्दै थियो, बाटैका छेउको लाली गुराँस भए ठाउँमा पुगेपछि हाम्रो बस रोकियो । बन्धुहरु कोही सल्लोको खपटो त कोही लाली गुराँसको फूल टिप्न लागे । कोही फोटा खिच्न लागे । बन्धुहरुका बीचमा अनेकौं कुराहरु चलिरहेका थिए । खयर, सालका बोटहरु भेटियुञ्जेल औलो र सल्लाका बोटहरु भेटिन थालेपछि लेक आउन लाग्यो भन्दै उकालो चढिरहेका थिए । भातडाँडामा पुगपछि हामीले विहानको खाजा खायौं । बिहान साढेबाह्र बजेतिर स्याउली बजारमा बिहानको खाना खायौं । यहींबाट डोटीतिरको बाटो छुट्टिंदो रहेछ । बाटो धेरै लामो रहेछ । डडेल्धुरा र डोटी हुँदै आछाम प्रवेश हुँदोरहेछ ।

धेरै उकालो, ओरालो र फन्फन्ती डाँडाहरु घुम्दै हामी साँफे बगर पुग्यौं । त्यसपछि कच्ची बाटो हुँदै अगाडि बढ्नुपर्ने रहेछ । साँघुरो कच्ची बाटो हाम्रो पर्यटन बस जान सक्छ कि सक्दैन भन्ने बारे अन्योल भयो । गाडी रोकेर छलफल हुन थाल्यो । कसैले जान सक्दैन भन्ने राय दिए भने कसैले खानपिन गरेर विस्तारै जाउँ भन्ने राय पेश गरे । जान सक्दैन भन्नेहरुले साँफेबगरमा नै बास बस्ने कुरा गरे । केहीबेरको छलफल पछि विस्तारै अघि बढौं, गाउँमा खाना तयार छ भनी अगाडि बढ्ने निधो भयो । राति करिब ११ बजे हामी अछामको तिमिल्सैन गाउँ पुग्यौं । तिमिल्सिना बन्धुहरु हाम्रो स्वागतको निम्ति पर्खिरहनु भएको थियो । तुल टाँगेर स्वागतद्वार बनाइएको थियो । भोजन तयार गरेर राखिएको थियो । खानपिन गरी सुत्दा राति करिब साढे एक बजेको थियो ।

माघको १९ गते, बिहानै उठियो, विहानका नित्य कर्महरु सकेपछि चिया खाएर वन्धुहरु मंगलासेनी देवी, त्रिपुरासुन्दरी वरदादेवीको दर्शन गर्न जयगढतर्फ प्रस्थान गरे । स्वास्थ्यका कारणले म जान सकिन । मैले गाउँमै नजिकैको मस्टा देवताको दर्शन गरें र घरमैं बसें । मध्यान्हपछि हामी तल पुरानो गाविस भवन नजिकैको फाँटमा जम्मा भयौं सोही स्थलमा हाम्रो स्वागतार्थ स्वागत गान, देउडा, होरी (होली) नाच आदि प्रदर्शन गरियो । देउडा नाचमा हामी पनि सहभागी भयौं । सभाको अन्त्यमा गाउँमा श्रीमद्भागवत सप्ताह महायज्ञ गर्ने तथा वाचनालय स्थापनार्थ बन्धुहरुबाट यथाशक्य अर्थ संकलन भयो । शान्तिजीले मर्मस्पर्शी ज्ञानोपयोगी प्रवचन गर्नु भयो । सबै बन्धुहरु प्रशन्न हुनुहुन्थ्यो । चिसो सिरेटो चलिरहे पनि राति अबेरसम्म कार्यक्रम सञ्चालन भैरह्यो ।

माघको २० गते चिया खाएर बिहान सात बजेतिर हामी तिमिल्सेन गाउँबाट प्रस्थान ग¥यौैं । विदा गर्ने र विदा हुने दुबै पक्षबीच खुबै रुवाबासी चल्यो । बाटाका छेउमा फूल र अविरले घडा सजाएर चेलीहरुले हार्दिक अभिवादन गर्दै हामीलाई विदा गरे ।

विहानको खाना खान साँफेबगरमा हाम्रो बस रोकियो । त्यहाँ अर्को एउटा तीतो अनुभव भयो । त्यहाँका होटलहरुमा चार–पाँचजनालाई पुग्ने खाना मात्र बन्दो रहेछ । हाम्रो संख्या ठूलो थियो, त्यसैले छरिएर विभिन्न होटलमा खानुपर्नेे अवस्था थियो, तर कहाँ कसरी छरिने कुनै योजना त थिएन । एउटा होटलमा हाम्रा १०।१२ जना बन्धुहरुको एउटा समूहले खाना अर्डर गरेको रहेछ । अरु केही बन्धुहरु आई खाना खाई पैसा तिर्दै जाँदा रहेछन् । त्यस समूहले खाना खाई सकेपछि साहुनीले अरुले पनि पैसा दिएको छैन भनी एकमुष्ठ १६।१७ जनाको पैसा असूल गरिछन् । पैसा दिई सकेको भएता पनि कचिङ्घल हुने डरले दोहोरो पैसा दिएको कुरा बन्धुहरुले भने । एकातिर होटलले ठग्यो भने अर्कोतिर सो समूहका एक मित्रले हामीले बुक गरेको होटलमा अरुले किन खाना खाएको भनेर आफ्नै बन्धुहरुलाई जथाभावी भनेको सुनियो ।

कार्यक्रम अनुसार हामीलाई बास बस्न अत्तरिया पुग्नु थियो, तर बसको अवस्था त्यति ठिक नभएको हुँदा हामीले बीचमै बास बस्ने निधो ग¥यौं । राति ८ बजेतिर डडेल्धुराको स्याउली बजार पुगियो । त्यहाँ लजको खोजी हुन थाल्यो । कोही आफ्नै प्रयासले लज खोजी गर्न थाले भने कोही समूहको निम्ति कोठाहरु हेर्न थाले । म आफैं केही प्रयास गर्नसक्ने अवस्थामा थिइन । स्याङ्जाका गोविन्दले मलाई एकठाउँमा राखी दिए । त्यसवेला होटलमा लोडसेडिङ् थियो । एकतलामुनिको भुँइको एउटा कोठामा दुइटा खाट राखिएको थियो, मोमवत्तीको मधुरो प्रकाश थियो । तकिया, डसना र सिरकका खोल, तन्ना सबै छ महिनादेखि नधोएका प्रष्ट देखिन्थे । ¥याल, सिंगान र अरु फोहोरहरु कपडामा टाँसिएका देखिन्थे । अव्यवस्थित खानपिनले गर्दा बिहानैदेखि डायरियाले ग्रस्त थिएँ, औषधीका भरमा थामिएको थियो । ट्वाइलेट पेपर बोकेको थिएँ । ओछ्यानमा झोला राखें र ट्वाइलेट जाने ठाउँ खोजें । सिंगै लजमा एउटा मात्र ट्वाइलेट थियो, तर त्यहाँ पानी थिएन । हामी १५–१६जना त्यस लजमा थियौं । रातभर ट्वाइलेट पेपरले काम चलाएँ । आफू सुतेको कोठामा कसैले एउटा जगमा १ माना जति पानी छोडेको रहेछ । त्यो पानी लुकाएर राखें र विहान त्यसैबाट सुची भएँ ।

माघ २१ गतेको विहान बसको पछाडिबाट आउने चुरोटको गन्ध निरन्तर सुँघ्दै हामी स्याउली बजारबाट प्रस्थान ग¥यौं । पहाडको बाटोमा ठाउँ–ठाउँमा गाडी रोकियो, बन्धुहरुले पहरा र जङ्गलहरुको फोटो खिच्नु भयो । अरु बन्धुहरुलाई तपाईंहरुले पछि यी दृश्यहरु भिडियोमा हेर्न पाउनु हुन्छ भन्दै लोभ्याउँदै गाडी अगाडि बढी रह्यो । साढेदुईबजेसम्म हाम्रो बस निरन्तर अगाडि बढी रह्यो । भुरे गाउँमा पुगेपछि बस रोकियो र बन्धुहरुले स्थापना गर्नु भएको इष्टदेवको दर्शन गरी कार्यक्रम अनुसार त्यहीं दिउँसोको भोजन गरियो । यो भोजनको व्यवस्था धर्मस्थली, काठमाडौंका बन्धुहरुले सामूहिक रुपमा गरेको भन्ने जानकारी गराइएको थियो । राति १ बजेतिर बुटौल आई बास बसेपछि त्यसदिनको यात्रा टुङ्गियो ।

२२ गते बिहानै बुटौलबाट काठमाडौंको निम्ति प्रस्थान गरियो । हाम्रो बस नारायणघाट हुँदै मुङ्लिङ पुग्यो । सो स्थानमा बिहानको खाना खाई हामी अगाडि बढ्यौं । धादिङका बन्धुहरुले अनुरोध गरे अनुसार हाम्रो बस मलेखुबाट त्रिशुली नदी पारीपट्टि मोडियो । गाउँमा बन्धुहरु बीच परिचयको कार्यक्रम सम्पन्न भैसकेपछि हामी फलफूल र मोही खाई त्यहाँबाट प्रस्थान ग¥यौं । त्यस दिन वेलैमा काठमाडौं ओर्लियौं आ–आफ्ना घर प्रस्थान ग¥यौं ।

अछाम यात्राको महत्व

कुनै नौलो ठाउँको भ्रमणबाट हुने सन्तुष्टी र रमाइलो यसको एउटा पक्ष हो भने यसको अर्को विशेष पक्ष भनेको साँस्कृतिक र ऐतिहासिक महत्व हो । यो भ्रमण नितान्त साँस्कृतिक र ऐतिहासिक भ्रमण हो । यसले तिमिल्सिना बन्धुहरुको रीति–रिवाज, चाड–पर्व र साँस्कृतिक परम्परा बुझ्न र परिस्कृत पार्न ठूलो मद्दत पु¥याएको छ । यस भ्रमणबाट विभिन्न जिल्लाहरुमा बसोबास गर्ने तिमिल्सिना बन्धुहरुको एकता र पारस्परिक सद्भावको विकास भएको छ । यस टोलीमा इतिहास, साहित्य र संस्कृतिका विज्ञ बन्धुहरु पनि समावेश हुनु भएको थियो । आशा गरौैं यस भ्रमणका महत्वपूर्ण उपलब्धिहरु उहाँहरुबाट आउने नै छन् । यस भ्रमणले तिमिल्सिना बन्धुहरुको इतिहास र विस्तारलाई केलाई अझ वैज्ञानिक बनाउने अवसर प्रदान गर्ने छ ।

अछाम यात्राका पाठ

यस यात्रामा शान्ति, एकनाथ र विष्णुहरीलाई समय–समयमा पर्ने गरेको द्वीविधा र असजिलो अवस्थाले के देखाउँछ भने हाम्रो ६ दिनको यात्राको कार्य योजना परिष्कृत थिएन अर्थात् जसो पर्ला त्यस्तै टर्ला भन्ने खालको थियो । हुन पनि हो, धेरै टाढा, नयाँ स्थान र नयाँ बाटो हिंड्नु पर्ने भएकाले आयोजकहरुलाई अमूक स्थलहरुको सम्पूर्ण जानकारी थिएन । वैचारिक परिपक्कता र उमेरका हिसावले पनि सदस्यहरुमा एकरुपता थिएन । समूहका सदस्यहरुको संख्या ठूलो थियो । ठूलो समूहको व्यवस्थापन त्यसै पनि गाह्रो हुन्छ, झन् पहाडका ग्रामीण क्षेत्रमा बस्ने, खाने सबै कुरा एकै ठाउँमा एकैचोटी व्यवस्थापन गर्न झन् गाह्रो हुन्छ । अति कठिन अवस्थामा पनि मितव्ययी ढङ्गले सफलतापूर्वक आयोजक बन्धुहरुले जुन हौसलाका साथ भ्रमण कार्यक्रम पूर्ण गराउनु भयो त्यसका निम्ति उहाँहरुलाई साधुवाद । यस भ्रमणबाट सिकेका केही पाठहरु यसप्रकार छन्ः–

१. समूहका सदस्यहरुले आयोजकहरुले दिएको समयको पालना नगरेका खण्डमा यात्राको योजना चौपट हुन्छ र समूहका सबै सदस्यहरुले दुख पाउँछन् ।

२. समूहका एकजना सदस्यले मात्र पनि अनुशासनको पालना नगरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिणाम सबै सदस्यहरुले समान रुपमा व्यहोर्नु पर्ने हुन्छ ।

३. आयोजकले भ्रमणका नियमहरु, खर्चबर्च, समय आदिका बारेमा सबै सदस्यहरुलाई अगाडि नै राम्रो जानकारी गराउनु पर्दछ । भ्रमणको नियम पालन गर्न नसक्ने सदस्यलाई भ्रमणमा सहभागी गराउनु हुँदैन ।

४. भ्रमण गर्दा खासगरी यातायातका साधनभित्र धुम्रपान र मद्यपान निषेध गर्नु पर्दछ ।

५. समूहका प्रत्येक सदस्यको आचरण र व्यवहार समूहभित्रका सबै सदस्यहरुलाई पच्ने र सर्वमान्य हुनु पर्दछ । अनौठो आनीबानी र अपच हुने व्यवहारले सदस्यहरुको आत्माभिमानमा चोट पु-याउन सक्तछ ।

६. सदस्यहरुले एक–अर्काप्रति आदरभाव र सम्मान देखाउन सके मात्र भ्रमण परिणाममुखी र आनन्ददायक हुन्छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button