नेपालनाम्चाको ‘राजनीति’मा प्रकाशचन्द्र परियार

विगत परिचय पत्रकार प्रकाशचन्द्र परियार । अहिले विवेकशील साझा पार्टीका नेता । उनको यो फड्को उनकै शब्दमा सुसंस्कृत राजनीतिका लागि हो र वास्तविक अर्थमा जनताको लागि हो । नेपालनाम्चाको विशेष स्तम्भ राजनीतिमा उनै प्रकाशचन्द्र परियार

राजनीतिमा कहिलेदेखि र किन ?
प्रत्यक्ष राजनीतिमा जोडिएको आधा दशक पूरा भयो । नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएसँगै औपचारिक रुपमा राजनीतिमा प्रवेश भन्न मिल्छ । सानैदेखि समाजपयोगी भावना थियो, राजनीतिक चेत र अन्तरबोधको समिश्रण थियो । सामाजिक भावनालाई संघ, संस्था र परोपकारी गतिविधिमार्फत अभ्यास गदै आएको थिएँ । सामाजिक र परोपकारी गतिविधिसँगै पेशामा सक्रिय रहेँ । पेशागत महासंघमा जिम्मेवारी र नेतृत्व लिने उत्कट चाहना राजनीतिक आकांक्षाकै एउटा रुपको अभिव्यक्ति थियो । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा रहेर काम गर्दा व्यवसायिक श्रीवृद्धिभन्दा पनि राजनीतिक लाईनले जित्ने संरचनामा हुर्कन पाएँ ।
व्यवसायिक रुपमा अनौपचारिक राजनीति गरेर पेशागत खोलमा बदनाम राजनीति गर्नुभन्दा खास राजनीति गर्नु नै सबैभन्दा उत्तम हो भन्ने अन्तरआत्मावाटै जागेको सोचलाई अभ्यासमा ल्याउन नेपाली कांग्रेसको राजनीतिमा होमिएँ ।

राजनीतिक जीवनमा तपार्ईंले सुरुदेखि अहिलेसम्म के कस्तो जिम्मेवारीमा रहेर काम गर्नुभयो ?
मैलै नेपाली कांग्रेसको महाधिवेशन–महासमिति सदस्यको पदभार लिएँ । साझा पार्टीको संस्थापक हुने अवसर पाएँ । साझा पार्टीको केन्द्रीय समिति सदस्य बनेँ । विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य, सामाजिक न्याय तथा समावेशिता विभाग प्रमुख भएर नेतृत्वदायी भूमिका निर्वाह गरेँ । साझा पार्टीको सचिवालय सदस्यको रुपमा पनि जिम्मेवारी बहन गरेँ । साझा पार्टी र विवेकशील नेपाली दलको एकीकरणपछि बनेको केन्द्रीय सचिवालय समितिमा रहेर काम गरिरहेको छु । पार्टीले हालै गठन गरेको विभागहरुमध्येको संचार तथा सूचना प्रविधि विभागको प्रमुख भएर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छु । आगामी महाधिवेशनमा जिम्मेवार पदाधिकारीको रुपमा प्रस्तुत हुने सोचलाई नकार्न सकिन्न ।

जे सोचेर राजनीतिमा लाग्नु भयो, त्यस अनुसारको प्राप्ति भएजस्तो लाग्छ ?
राजनीति, त्यसमा पनि सुसंस्कृत राजनीति गर्न नेपाल सजिलो भूमि होइन । परम्परागत दलहरुले राजनीतिलाई अत्यन्त विकृत बनाएर राजनीति भनेकै फटाई हो, धुत्याईं हो, ठगी हो, राज्यदोहन हो, भ्रष्टाचार हो, माफियाको संरक्षण हो, हत्याराको अभिभावक हो जस्तो बनाइएको छ । त्यसलाई चिरेर राजनीति नै विकास, समृद्धि, सुशासन, सामाजिक न्याय, र स्वाभिमानको अभ्यास गर्ने सबैभन्दा सशक्त माध्यम हो, असल राजकाज गरेर जनातको मुहार फेर्न सक्ने सबैभन्दा उच्च मञ्च हो, विभेद विसंगति र विकृतिलाई मास्ने सबैभन्दा विशिष्ट क्षेत्र हो भन्ने न्यारेशन स्थापित गर्न हामी सफल बन्दै गएका छौ । मैले जब लाभ, फाइदा र पदको आशक्तिकेन्द्रीत राजनीतिभन्दा योगदान, कर्तव्य र क्षमताको राजनीतिलाई गौरवसँग रोजेपछि ठ्याक ठ्याक सबै मिल्नु पर्ने, सबै मैले सोचजस्तै हुनुपर्ने भन्ने कुरै भएन नि त ।

राजनीतिमा लागेर के पाउनभयो ? गुमाउनुभयो ?
मेरालागि सार्वजनिक जिम्मेवारी सबैभन्दा महत्वपूर्ण उपलब्धी हो । सुसंस्कृत राजनीतिको एउटा संस्थापक योद्धा बन्न विरलै पाइने अवसर मैले ग्रहण गरेँ । हामी इतिहास राखेरै छोडछौँ । राजनीतिक रुपमा यति धेरै खराब प्रवृति, राज्य दोहनको अत्यन्त निकृष्ट अभ्यास केलाउँदै अग्रगामी, सुसंस्कृत, समतामूलक संवृद्धिको यात्रामा लाग्दा आनन्द लिइरहेको छु र राजनीतिमा लाग्न सुमन भएकाहरुलाई पनि प्रेरित गर्न पाउँदा बढो खुशीको स्वाद लिइरहेको छु । अँ, अलि केही लामो यात्रा भएकाले घर परिवारलाई पूरा समयचाहिँ दिन सकिरहेको छैन । धेरै पैसा कमाउने, भौतिक सुख सुविधाको उपयोग गर्ने र मनोरन्जनका दुनियाँमा हराउने कुरै भएन । कतिपयलाई चाहिँ यो इमान, जमान, त्याग र सेवाको क्षेत्रमा एकोहोरो किन लागिरहेको होला भन्ने लाग्दो रहेछ । त्यसमा मेरो किन्चित दुखमनाउ छैन । आफूले रोजेर आनन्दका साथ रमाउँदै योगदान गर्न पाउनु चानचुने कुरा होइन नि ।

अहिलेको राजनीतिक स्थितिबाट सन्तुष्ट, असन्तुष्ट के हुनुहुन्छ ?
ओली राजले वाक्क भएका बेला झन् ओली महाराज शैलीले चाहिँ साँच्चै निराश बनाउँदो रहेछ । राजनीतिक विकृतिले असन्तुष्ट बनेर सुसंस्कृत राजनीतिमा होमिएका हामीजस्ता युवालाई अहिलेको खराब राजनीतिले अझ जिम्मेवार बन्न, मेहनत गर्न, प्रतिवद्ध र कटिवद्ध भएर निरन्तर फोहोरी राजनीति सफाई महाअभियानमा लाग्न जाँगर बढेर गएको छ । हाम्रो औचित्य झन् पुष्टी भएको छ । मैदान खाली छ । छिटो हामीले राजकाज सम्हाल्नु पर्ने अवस्था आएको छ ।

राजनीतिमा लाग्दाका रमाइला सम्झनु हुन्छ ? अनि नरमाइला त ?
हिजो क्षमता, इमान, आदर्श भए पनि परम्परागत राजनीतिको चंगुलले उनीहरुको हलीभन्दा माथि नसोच्ने स्तरबाट आफै नेता, सेवक र इमानदार राजनीतिज्ञ हुने बाटो खोलेको देख्दा गजब अनुभुति हुँदोरहेछ । अझ पत्रकारको नेतामा मात्र सिमित म जनताको नेता हुने यात्राले त गजबै भा’छ । बडो चाखलाग्दा घटनाहरु पनि छन् । कतिपय बौद्धिक, प्राज्ञिक भेलादेखि चिया–चमेनासम्म मेरा प्रस्तुती, हिम्मत र राजनीतिक यात्रालाई चर्चा–परिचर्चा र बहसको विषय पनि बनाएइको छ । मलाई हिजोको प्रिय टेलिभिजन पत्रकारकै रुपमा अझै सम्मान गर्ने समूह पनि छँदैछ । अझ वैकल्पिक राजनीतिको प्रवद्र्धन गरिरहेको, परम्परागत दलहरुको विकृति–विसंगति र ओरालो यात्राबारे विश्लेषण गरिरहँदा कतिपयले पत्रकार भएर विवेकशील साझा पार्टीको प्रचार गरेकोसम्म भन्न भ्याए । जब मैले आफ्नो राजनीतिक जीवनको विस्तृत पाटोबारे खुलेर बताइदिन्थेँ र त्यही पत्रकार भएर अमुक पार्टीका अमुक गुटको कार्यकर्ता हुनुभन्दा दलको नेता भएरै आफ्नो करियर अघि बढाउनु उपयुक्त हुने र आफूले सोही गरिरहेको भन्दा सही निर्णय भन्नेहरुको बाहुल्यता पाएको छु । पेशागत आवरणमा खराब राजनीति गरिरहेकाहरुलाई नागरिकले मन पाराएका छैनन् । अझ हामीले त दलैपिच्छेको पेशागत भातृ संगठन खारेज गर्ने, एउटै महासंघमा स्वतन्त्र अभ्यासको ढाँचा बनाउने र सरकारी वेतनधारी कर्मचारी, शिक्षक, प्राध्यापकलाई साधारण सदस्यसमेत नदिने बडो दुरगामी महत्वको अभ्यास गरेका छौं । इतिहासले मुल्यांकन गर्ने नै छ ।

तपाईंको आदर्श को हुन् ?
वुद्ध नै हुन् । वुद्ध भगवानभन्दा पनि युगनायक/युगनेता हुन् । त्यसो त योगमायादेखि वखतवीर वुढापृथीसम्म, विपी, गणेशमानदेखि किसुनजीसम्म । अम्बेडकरदेखि मण्डेलासम्म मार्टिन लुथरदेखि लोहीयासम्मलाई आदर्श मान्छु ।

तपाईं राजनीतिलाई कसरी व्याख्या गर्नु हुन्छ ?
जनता, जनता र जनता । नागरिक, नागरिक र नागरिक । कसका लागि राजनीति ? सबैभन्दा गरिबको उत्थानका लागि राजनीति । कसका लागि राजनीति ? विभेदमा पारिएका, हेपिएका थिचिएका र मिचिएका मानवहरुको मर्यादा अभिवृद्धिका लागि । सामाजिक न्यायका लागि राजनीति । कसका लागि सामाजिक न्याय ? सबैभन्दा सिमान्तकृत, विभेद, गरिबी र अपमानको त्रिकोणात्मक चपेटमा परेका जाति समुदाय र वर्गको उत्थानको लागि । राजनीतिक क्षेत्र नै सबैभन्दा अन्तिम सत्य हो, यो जर्जरबाट मुक्ति दिलाउँदै मुलुकको संवृद्धिको यात्रा तय गर्न सक्ने माध्यम ।

राजनीतिबाहेक तपाईंको रुचिकोे क्षेत्र के हो ?
संगीत र साहित्य हो । चित्रकलाको सौखिन छु । किताबजस्तै चित्रकला किन्न मन लाग्छ ।

राजनीतिमा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
म प्राध्यापन र पत्रकारितामै हुन्थेँ । प्रिय पत्रकार, लोकप्रिय प्राध्यापक मेरो परिचय हुन्थ्यो । लेखन र सामाजिक परोपकारी गतिविधिमा हुन्थेँ । सामाजिक न्याय वकालतकर्ता र अधिकारकर्मीको विशिष्ट परिचय त हुन्थ्यो हुन्थ्यो ।

राजनीतिमा लाग्ने मानिसमा नभई नहुने ३ वटा गुण के हुन् जस्तो लाग्छ ?
जनस्तरको वास्तविक बुझाइलाई भेउ पाउने एउटा सुझबुझ भएको इमानदार सेवक । र, गरिब, पिडित, सिमान्तकृतको अधिकार र समउत्थानका लागि नै जन्मिएको भन्ने बडो विशिष्ट आत्मविश्वास जस्तो लाग्छ । अर्थात पशुपंक्षी, चराचुरुङ्गी, डाँडाकाँडाभन्दा पनि जनतालाई एक नम्बरमा शिरमा राखेर हिँडनु पर्छ जस्तो लाग्छ । पहिले जनता, त्यसपछि एक सिंगे गैडा, ओखटेपोहार, ट्याम्के डाँडा, शालिग्राम, कुश, वेलपातीको कुरा गर्नुपर्छ जस्तो लाग्छ । यो कुरा भोटसँग मात्रै जोडिएको होइन । मानवमर्यादा, स्वतन्त्रता, समानता, आत्मसम्मान र समतामूलक सम्बृद्धिका लागि हो नि त राजनीति । नागरिक केन्द्रीत धेरै काम गरेर विकास र सम्बृद्धिको फडको मारेपछि शालिग्रामलाई अन्तराष्ट्रियकरण गर्न राजनीतिमा छिरौंला । अहिलेको राजनीति त नवराज विश्वकर्मा नमारिने राजनीति, निर्मला पन्तले न्याय पाउने राजनीति र मलर सदाहरुको एक छाक खान नपाई देहान्त हुने बिडम्वनाको अन्त्य हुने राजनीति नै हो नि । दुरा भाषाको संरक्षण गर्ने राजनीति । चेपाङ मुसहरले सम्बृृद्धिको स्वाद चाख्न पाउने राजनीति पो राजनीति त । राणाकालमै राणा शासकको आदेश शिरोपर गरेर मान्छेलाई गाडी बोकाएर काठमाडौ झार्ने राणाजीहरुले गरेको सौखको राजनीतिक युग अन्त्य भए पनि त्यसका असङ्ख्य अवशेष अहिले पनि ज्युँका त्युँ रहनु कति बिडम्वना ! राज्य कमजोर, निकम्मा र दलालको पञ्जामा भएपछि मुसहर वस्तीमा एक बोरा चामल पठाएर गरिने राजनीति, चेपाङ उत्थान अभियानमा एक सरो कपडा दिएर परोपकार गर्ने राजनीति त निर्लज्ज नै हो नि । नांगै हिँडिरहेका चेपांगले एकसरो कपडा पाउँदा पनि खुशी हुनुपर्ने, मुसहर वस्तीमा झाडापखाला लागेर टोलै सखाप भएका बेला चाउचाउ लगेर नेता हुने राजनीति त खै के को राजनीति र ? यसको मतलब राज्य कमजोर हुँदा, गैरजिम्मेवार हुँदा, विचौलिया र दलालको सहयात्री भएर अकुत सम्पति कुम्ल्याउने खेलमा लिप्त । ओहो ! अरुको हत्या गरेर, सम्पति लुटेर गर्ने राजनीतिभन्दा त धेरै गुणा राम्रो राजनीति हुन सक्छ । तर, यस्तै चानचुने, टापटिपे राजनीतिले कहिले समृद्ध नेपालको खाका कोर्ने र खै ?

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button