लकडाउन डायरीः यस्तो दिन पनि आयो है
ब्राम्हणपुत्र वृृतान्त-५
भरत शर्मा
‘सूचना सार्वजनिक सम्पत्ति हो’, यो नारा पनि मीठो छ । हरेक बर्ष मे तीन तारिखका दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैं आएको छ । विश्वका पत्रकारहरुले यस दिनलाई प्रेस दिवस भनेर सम्झना गर्दछन् । नेपालमा पनि आज विहानै पत्रकारका हक अधिकारका कुरा गरेर मनाइयो ।
विश्व मजदूर दिवस मनाइएको ठीक तीन दिनपछि मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारहरुले आफ्ना हक, अधिकारका बारेमा बहस गर्ने गर्दछन् । त्यसैले आजको दिन हामीजस्ता पत्रकार मजदूरहरुको दिन हो ।
यसपटकको नारा चाहिँ साँच्चै गजबै छ । हामीले संकलन गर्ने सूचना, लेखेका समाचार र लेखेको सबै लेखरचना भनेको सार्वजनिक सम्पत्ति हुन् । यसका सबैको हक र अधिकार लाग्ने गर्दछ । यहाँ मेरो र तेरो भन्ने कुनै भावना छ्रैन । पत्रकारहरुले खोजेको, लेखेको, बोलेका सबै कुरा सार्वजनिक सम्पत्ति र सबैको अधिकार हुन् । समाचार संकलन र लेख्ने संवाददाता, सम्पादन गर्ने सम्पादक र समाचार छनोट गरेर छाप्ने अधिकारसम्पन्न प्रधानसम्पादक सबैले गरेका काम सार्वजनिक सम्पत्ति भएकाले लेख्दा कुनै पक्ष र विपक्षको भन्दा पनि तटस्थ भएर तथ्य के हो त्यही लेख्नु पर्ने चुनौती यो नाराले थपिदिएको छ ।
पत्रकारकामा सबैभन्दा ठूलो कुरा सूचना हो भने तथ्य र तटस्थ भएर जे हो त्यही लेख्नु पर्ने भए पनि नेपाली पत्रकारितामा ‘तथ्य’ र ‘तटस्थता’ दुवैको कमी भएको छ ।
नेपालको राजनीतिक परिवर्तनसँगै पत्रकारितामा पनि सूचना दिने तरिकामा पनि परिवर्तन भएको छ । इतिहासका तथ्य खोज्दै गर्दा लोकतन्त्रको १५ बर्षमा नेपाली पत्रकारितामा सबैभन्दा बढी हावी भएको ‘राजनीतिक पत्रकारिता’ नै हो ।
राजनीतिक दल निकट संगठनाबद्व पत्रकारहरुले आफना नेताका निर्देशनअनुसार सूचना सम्प्रेषण गरी सार्वजनिक सम्पत्तिको दोहन गरेका छन् । कमसेकम दिवसको दिन त आफूले गरेका कामको समीक्षा गर्ने हो भने नेपाली पत्रकारिता थोरै कमबाहेक ठूलो हिस्साले जय–नेपाल, लालसलाम जयमा चलेको सूचना नैं सार्वजनिक सम्पत्ति भएको बेला हामीले गरेका कामको इतिहासले मूल्याङ्कन गरेर हामीलाई दण्ड दिने होला ।
विश्व प्रेस स्वतन्त्रता दिवसको दिन पारेर मुलुकका अभिभावक प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रको नाममा सम्बोधन गर्नुभयो । निकैं भावुक सम्बोधनको शुरु, मध्य वा अन्त भए पनि पत्रकारको दिवस र पत्रकारहरुले महामारीको बीचमा पनि जोखिम खोपेर जनतालाई दिएको सूचनाका बारेमा कही कतै सम्बोधन भएन ।
सायद हाम्रा अभिभावक ‘ओली बा’लाई दिवसको बारेमा थाहा भएन वा अरौटे, भरौटो, चम्चे र धुपौरेहरुले समेत जानकारी दिएनन् । खैर, प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना महामारी भाग–२ को विषयमा केन्द्रित थियो । अहिलेसम्ममा तथ्य तथ्याङ्क, सरकारले कोरोना महामारी अभियानमा चालेका कदम र आगामी दिनमा सरकार के गर्दैछ भनेर लेखिएको सरकारी प्रतिवेदनलाई जनताले सुनेर पास भने पनि महामारी अभियानमा सरकारी कार्यशैली चुकेको छ । सिफारिस गर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलेको केन्द्र र जिम्मेवार स्वास्थ्य मन्त्रालयले उपचारका लागि अस्पताल र बेड छैन भन्ने जारी अपिलले सरकार जिम्मेवारीबाट पन्छिएको अनुभव जनताले गरेका छन् ।
सरकारकै मन्त्री र प्रतिपक्ष दलका प्रवक्तालाई समेत कोरोनाले च्यापेपछि प्रधानमन्त्रीबाट आएको सम्बोधनमा ठोस नीतिगत कुरा आउला र देशमा स्वास्थ्य संकटकाल घोषणा गरेर भए पनि जनताको रक्षाका लागि पहल होला भन्ने आशा राखेका थिए । तर प्रधानमन्त्रीको सम्बोधन स्वास्थ्य मन्त्रालय र सरकारका प्रवक्ताले यसअघि भनिसकेका पुराना कुराको फेरहिस्त संकलन भन्दा थप कुरा केही थिएन ।
प्रधानमन्त्रीले भने झैं लकडाउन कडा गर्ने कुरा त हरेक दिन गृहमन्त्रालय र मातहतका जिल्ला प्रशासनले भन्दै आएका छन् । भोलि झन कडा हुनेछ । अहिलेसम्म ३० जिल्लामा निषेधाज्ञा भइसकेको छ केही जिल्लाहरुले थप गदैछन् ।
अहिलेको अवस्था भनेको विगत बर्षको कोरोना महामारी जस्तो होइन है । अहिले उपचार गर्ने अस्पताल नै छैन, राजधानी काठमाडौं र मुख्य शहरका निजी र सरकारी अस्पतालहरु विरामीले भरिएका छन् ।
यस्तो अवस्थामा सरकारले विशेष र वैकल्पिक अस्पताल तयार गर्ने कुरा गर्नुपर्ने हो । यतातिर ध्यान पुगेको छैन । सोमबार विहान आफैले भागेको दुखान्त कथा लेख्न बाध्य छु ।
सोमबार मेरा भतिजले फोन गरेर भने, ‘काका ! मेरो एकजना मित्रलाई कोरोनाले अलि गा-हो बनाउला जस्तो छ । लौ न ! कतै अस्पतालमा फोन गरेर बेड र आइसियुको प्रबन्ध गर्नुहोस् ।’
भतिजको अनुरोध आउनुअघि अर्का एक मित्रले पनि ‘अस्पताल जान के गर्ने होला’ भनेर सल्लाह मागेका थिए ।
स्वास्थ्य पत्रकारिता विटमा करिव १० बर्ष मैले दैनिकजसो समाचार लेखे । त्यसबीचमा सयौं चिकित्सकसँग परिचित भएको नाताले मेरा मित्र र भतिजले मसँग अनुरोध गरेका हुन् ।
मेरा अनन्य मित्र थापाजी र भतिजको अनुरोधपछि राजधानीका निजी अस्पतालमा कार्यरत मित्र चिकित्सकलाई सम्र्पक गरेँ । सबैको एउटै भनाई आयो, ‘अहिले त केही उपाय नै छैन ।’ एकजना चिकित्सकले लगातार तीन दिन अस्पतालमा काम गरेर बोल्न नसक्ने थकित भएर घरमा आराम गरेको मलिन स्वरमा कुरा गर्दा म झसङ्ग भए ।
स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत विमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले नयाँ किस्सा सुनाए । हिजोमात्र पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी विरामी हुँदा उपचार गर्ने बेड नपाएर केही समय भुँईमा लडेर उपचार गरी केही समयपछि बेडमा बसेर उपचार गरेको समाचार पढ्नु भएन भन्दै नपढ्नु भएको भए समाचार छापिएको अनलाइनको नाम समेत बताइदिए । समाचार खोलेर हेरेको कुरा सत्य रहेछ ।
यस्तो दिन पनि आयो है ।
टेलिभिजनमा गीत हेरेसुनेर मन बहलाउन खोजेको त एक्कासी भारतीय च्यानलले अस्पतालमा उपचार नपाएर मृत्यु भएको खबर दिइरहेको रहेछ । गीत सुनौं भनेर खोलेको टिभीले पनि दुःखद समाचार दियो । बन्द गरिदिएँ टेलिभिजन ।
होइन, एउटा बेड त खोज्नु नै प-यो भनेर मेरो पुराना चिनजानका मित्र डा रोमियो कंसाकारलाई फोन लगाएँ । उनी ग्रीन सिटी अस्पतालका मेडिकल डाइरेक्टर हुन् । कुरा सञ्चो विसन्चोबाट गरेँ । ‘अस्पतालमा बेड छ त डाक्टर साब ?’ भनेर प्रश्न मात्र गरेको थिएँ । उनी चार मिनेट एकोहोरो बोलिमात्र रहे । मैले सुनेँ मात्र ।
‘बिहानदेखि नेता, मन्त्री, व्यापारीका ४० भन्दा बढी फोन आइसक्यो । तपाईंको फोन पनि बेडका लागि थियो भन्ने मेरो अनुमान थियो । अब फोन उठाउन नसक्ने अवस्थामा पुगेको छ । अस्पतालमा बेड छैनन् । नयाँ बेर्ड थपौं भने जनशक्ति र स्वास्थ्य सामग्री छैन । चिकित्सक र नर्स विरामी पर्न थालेका छन् । आफन्त र आफ्ना निकटतम मित्रहरुको अनुरोधलाई समेत अस्वीकार गर्नुपर्ने कठिन अवस्था आयो’, दिल खोलेर कुरा गरे डा. रोमियोले ।
मैले ‘हजुर–हजुर’ मात्र भनेँ । उनी भन्दै थिए, ‘अब त आफू नै विरामी भए पनि उपचार गर्ने बेड अस्पतालमा छैन ।’
उनको कुराले निकै भावुक बनायो मलाई । उनले भने, ‘मेरा सहकर्मी चिकित्सक पनि कोरोना पोजेटिभ भएर उपचार गरिरहेका छन् । खोप लगाएका व्यक्ति र यसअघि पनि केरोना पोजेटिभ भएर ठीक भएका व्यक्तिहरुमा पनि दोस्रो पटक कोरोना पोजेटिभ भएका छन् । केही सोच्नैं सकिएको छैन है भरतजी । अहिले अस्पतालमा छु । आफ्नो कर्तव्य पुरा गर्न र विरामीको उपचार गर्न नपाएकोमा म आफै दुःखी छ ।’
कुराकानीको अन्तमा डा रोमियो भने, ‘अस्पतालमा बेड खाली भयो भने तपाईंलाई खबर दिन्छु । तर, होसियार ! स्वास्थ्य मापदण्ड पालना गरेर सुरक्षित रहनु मित्रको नाताले व्यक्तिगत सल्लाह छ ।’
डा.सँग कुरा भएपछि मेरा मित्र थापाजी र भतिजलाई भनेँ, ‘अस्पतालमा बेड पाउन मुस्किल छ ।’
निजी अस्पतालको यो अवस्था छ भने सरकारी अस्पतालमा के होला हालत ? अब विरामी भए उपचार नपाउने दिन पनि आयो । यो दुःखद कथा लेखिरहँदा सरकारबाट नयाँ अस्पताल बनाउने समाचार कतै छ कि भनेर खोजेको भेटिनँ ।
एउटा अनलाइनमा काठमाडौंबाट हेलिकप्टरबाट झापाको अस्पतालमा विरामी लगेको खबर पो रहेछ । काठमाडौंमा उपचार गर्न नपाएर विरामीलाई हेलिकप्टरमा झापा लगिएको समाचार तीन दिनअघि पनि आएको थियो ।
अस्पतालमा उपचार गर्ने बेड, अक्सिजन छैन । उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मी विरामी छन् । यस्तो विकराल अवस्थामा देशमा एउटा खेल चलिरहेको छ त्यो हो ‘राजनीति’ ।
सोमबार हो आज । धरोधर्म ! ‘देवाधिदेव महादेव’सँग अनुरोध गरेँ, ‘यस्तो बेला राजनीतिक खेलमा रमाउने नेतालाई कारवाही गरिपाऊँ ।’
हाम्रो एउटै प्रश्न हो ? के अहिले राजनीतिक लडाईँ लडने बेला हो ? यस्तो विषम् परिस्थितिमा जनताको पक्षमा राजनीतिक दल एक भएर जनताको स्वास्थ्य सेवा दिने सामूहिक घोषणापत्र जारी गरेको खबर हामीले सुन्न र लेख्न पाउने छौं ।
फेरि पनि प्रेस स्वतन्त्रता दिवसको नारा ‘सूचना सार्वजनिक सम्पत्ति हो ।’
आजलाई यति । बाँकी भोलि ।