लकडाउन डायरीः ‘घर नै मेरो मन्दिर, घर नै अस्पताल’
ब्राम्हणपुत्र वृतान्त-४
भरत शर्मा
‘निषेधाज्ञा कहिलेसम्म ?’, प्रश्न गर्न थालेका छन् जन–जनले अब ? प्रश्नको उत्तर लोकसेवा परीक्षामा सोधिनेभन्दा पनि बढी जटिल भएकोले उत्तर कोही कसैले पनि दिन सक्दैनन् ।
जहिलेसम्म कोरोना महामारी कम हुँदैन, सरकारले पनि के गरोस्, निषेधाज्ञा जारी छ भन्नुको विकल्प छैन । देशभरका २९ जिल्लामा निषेधाज्ञा र २३ जिल्लामा त औषधीमुलो गर्ने अस्पतालमा विरामी भरिभराउ भएको खबरले हामी सबैको मनमा चिसो पसेको छ । अब विरामी भयौं भने उपचार नपाउने हो कि भन्ने चिन्ताले सताउनु स्वभाविक हो ।
चिन्ता नै रोगको कारक हो । त्यसैले चिन्ताभन्दा पनि यस्तो बेला अध्यात्म चिन्तनले व्यक्तिलाई सवल बनाउँछ । सकारात्मक सोच र परिस्थितिलाई बोध गर्नुसक्ने गरी ‘घर नै मेरो मन्दिर हो, घर नै मेरो अस्पताल हो । म बसेको घर नै स्वर्ग हो’ भनेर चिन्तन गरी घरभित्रको लुतेधन्दा, सरसफाई, मौसमी फूलको हेरचाह, करेसाबारीमा तरकारी खेती गर्दै परिवारसँग रमाइलो कुरा गर्दै बिताउनुपर्ने समय हो यो । यस्तो बेलामा एकोहोरो सामाजिक सञ्जाल र मोवाइलमा मात्र नजर राख्ने हो भने शरीरमा भएको इमिन्युटी (शक्ति) कम हुँदै जाने विशेषज्ञहरुको चेतावनी आएको छ ।
अग्रज ऋषिमुनिहरुले भनेका छन् नि, ‘ठीक–ठीक समयमा दैनिक जीवनतालिका बनाउनु पर्छ । रात्रीको समयमा १० बजोअघि आराम र बिहान सबैरै उठेर ध्यान, प्राणायाम र जपतपले पनि मानिसलाई फूर्तिलो बनाउँछ । समयमा भोजन गर्नु, समयमा तोकिएको जिम्मेवारी पुरा गर्नु ।’
शहरबासीको तालिका हराएको छ । न त खाने समय ठीक न त सुत्ने समय । त्यसैले शहरबासी रोगी भएका छन् । गाउँघरतिर बस्नेहरुका भने बिहानको सूर्योदय उदय र अस्तको आधारमा तालिका बन्ने गर्दछ । मीठो परिश्रम गर्ने गाउँले जीवनमा मीठो भोजन र निन्द्रा आउँछ । शहरका मानिस रिस, राग द्वेषभाव बढी हुनाले रोगी छन् । त्यसैले त शहरमा बढी निजी अस्पतालहरु खुलेका छन् । गाउँबाट शहर यात्रामा निस्केको दुई दशकको यात्रामा शहरमा बस्नेहरु रोगी, दुःखी र असन्तोषी मात्र पाएको छु ।
पशुपतिनाथका एकजना पण्डितले धनेश्वर मन्दिरको डिलमा बसेर गजब कुरा गरे, ‘पशुपतिनाथ आउनेहरुमध्ये ९० प्रतिशतभन्दा बढी मानिस दुःख सुनाउन मात्र आउँछन् । शिवजी वास्तवमा सबैको कल्याणकारी देवता हुन् । सुख र खुसी लिएर नाथको शरणमा आउनेहरु निकै कममात्र हुन्छन् । शिवलाई मित्र ठानेर भेट्न आउने शिवभक्तहरु सयको संख्यामा मात्र होलान् ।’
आज कोरोना महामारीका कारण विश्व र छिमेकी देशहरुका सबै बासिन्दा बैचन अवस्थामा बस्न बाध्य छन् । अहिले दोस्रो लहर चल्दै छ । आगामी दिन, बर्ष कस्तो हुने हो अहिले नै अनुमान गर्न मुश्किल छ ।
भूकम्प आएको बेला सबै मानिस सडकमा जम्मा भए । कतै खाली ठाउँ पाइन्छ कि भनेर करौडौं खर्चेर बनाएको घर छोडेर खाली जमिनमा सुते । अहिले फेरि धनी वा गरिव कसैले पनि विरामी हुँदा उपचार नपाउने अवस्था छ ।
आइतवार सूर्यको साधना गर्ने दिन हो । मानव जातिलाई जति विपत परे पनि सूर्यनारायण आफ्नो समयमा उदाउने र समयमा अस्ताउने नियमित चक्रमा कुनै फेरबदल छैन । यतिबेला प्रकृति रिसाए जस्तो गरी बैशाख मध्यतिरबाटै हरेक दिन बर्षा हुन थालेको छ । बर्षा हुँदा कृषकहरु त ताली बजाउँछन् तर समयभन्दा अघि भएको बर्षाले फाइदा भन्दा बढी हानी पु-याउन सक्छ ।
हरेक दिन विहानको नियमित पूजापाठ पछि सूर्यनारायणतर्फ फर्केर जल चढाउनु सनातनी परम्परा हो । सनातनीको प्रमुख देवता सूर्यनारायण भएकाले बिहान सूर्य उदयको दर्शन गर्दा व्यक्तिमा उर्जा प्राप्त हुने शास्त्रमा प्रमाण छ । त्यसमध्ये पनि आइतबार विहान नभुलीकन सूर्य दर्शन गर्नु भन्ने गुरुका वचन मान्दै आएको दुई दशक भयो । आइतवार साँच्चै उर्जाशील बार लाग्छ ।
लकडाउनको आज चौथो दिन । सरकारले हरेक दिन कडा गर्ने भन्ने खबर आउँछ । कडा भन्दै गर्दा जनताको जीवन असहज हुँदै गएको छ । विगत बर्षमा पनि लामो लकडाउन जिन्दगी बिताएका सबैले विगत सम्झदै भनेका छन्, ‘यसपटक चाहिँ अलि अप्ठारो पर्ला जस्तो छ ।’
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री मोदी सरकारले कोरोना महामारीका लागि चालेका कदम गलत भएको भन्दै स्वदेश र विदेशमा पनि विरोधमा स्वर उठ्न थालेका छन् । चुनाव प्रचार, भेला र सरकारी स्पष्ट नीति नहुँदा भारतमा कोरोना महामारीले उग्र लिएको अवस्था छ ।
भारत साँच्चै नै विश्वमा बदनाम र कोरोना महामारीविरुद्वको अभियानमा लड्न नसक्ने सावित भएको छ । कोरोना महामारीका लागि खोप बनाइरको सुेरम कम्पनीको सिइओ परिवारसहित बेलायत भागेको खबर छ । उनीलाई भारतभित्र धम्की आएपछि सरकारले विशेष सुरक्षा दिएको थियो । अचानक आइतवार उनी भारतबाट भागेर बेलायत पुगेको खबरले मोदी सरकारको थप आलोचना भएको छ ।
कोरोना विरामीले उपचार पाएका छैनन् । संक्रमित र मृत्युको संख्या बढ्दै छ । हामी पनि त्यही चपेटामा छौं । केही समयअघि नेपालमा भारतीयहरु नेपाल हुँदै तेस्रो मुलुक जान पाउने भएपछि सयौंको संख्यामा नेपाललाई ट्रान्जिट बनाए । यो कुरा न त सरकारले देख्यो न व्यापारीले । काठमाडौंका ठमेल, गौशाला लगायतका होटल भरिभराउ भए । आज बिहानमात्र ठमेलका व्यापारीले ‘हामीले पनि गल्ती गर्यौं । ठमेल कोरोनाको हटस्पट जस्तो भयो’ भन्दै थिए ।
आर्थिक र पर्यटकीय हिसाबले पाहुनाको स्वागत सत्कार राम्रो हो । तर, समय भुतले खाजा खाने बेला जस्तो भयो । हिजो करिव पाँचहजार सातसय जना कोरोनाका नयाँ विरामी र १९ जनाले महामारीबाट मृत्यु रोजे । आज त झन् बढी ७ हजार २ सय ११ नयाँ संक्रमित २७ जनाको मृत्यु र सक्रिय संक्रमित ४८ हजार भन्दा बढी खाएको खबर सुन्नु परेको छ ।
राजनीति केन्द्रबाट प्रदेशतिर सरेको छ । संसद हराउने, विरामी हुने नयाँ रोग लागेको छ । देशमा अहिले स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने माग उठ्न थालेको छ । देशभरका निजी र सरकारी अस्पतालका संरचना र नयाँ अस्पताल तयार गरी जनताको उपचार गर्ने काममा सबै दल मनभेद र मतभेद त्यागेर जनसेवामा लाग्नु पर्ने यो बेला राजनीति गलत बाटोमा हिड्दै छ ।
आइतवार विहानै आदित्य ह्दयस्तोत्रम् पाठ गर्दै थिएँ । मनमा एकजना मित्रको नाम याद आयो । धेरै दिन भयो मित्रसँग कुराकानी भएको छैन । आज त सम्झनु पर्ला भनेर नाम मनमा टिपोट गरेँ । एक घण्टापछि घण्टी बजायो त उनले भने, म त गुर्जोको रस पिउदै छु । मैले भने किन ? उनले भने हाँसेर, ‘मलाई पनि स्वास्थ्य मन्त्रालयले १५ दिन घरमा बस भनेर छुट्टी दिएको छ ।’
उनी सरकारी तलब भत्ता खाने सेवक मित्र थापाजीलाई सोधेँ, ‘तपाईलाई मात्र कि परिवारमा पनि ?’
‘हामी जोडी र एक छोरी तीन जना संक्रमित । केही छैन’, रसिलो स्वर, कसिलो आत्मबल बनाएका थापा काजीले शरीरमा दुखाई चाहिँ कडै भएको अनुभव सुनाए ।
मैले पनि पहिलो कोरोना महामारीमा कोरोनासँग लडेको अनुभव सुनाएँ । आत्मबल भरिदिएँ ।
‘आज परिवारका अन्य सदस्य छोरा र अर्की छोरीको परीक्षण गरेको छु । हेरौं, के आउँछ रिर्पोट ?’, उनले भने ।
समस्या भन्ने कुरा आफैलाई नपरी थाहा हुँदैन । उनीसँग चिनजान भएको १७ बर्ष भएछ । म विश्वविद्यालय पढ्दा आवश्यक कापी, कलम र केही पुस्तक किन्ने खर्च दिने मेरा मित्रको परिवारमा कोरोनाले गाँजेको छ । तर, उनी कोरोना होइन, परिवार नै ‘करुणामय’ भएको छ भनेर हँसखुस थिए । उनको कुरा सुनेपछि मैले पनि लामो कुरा गर्न सकिनँ । उनले फोन राख्ने बेला भने, ‘लौ है गुरु यसपटक पनि प्राथना गरौं है ।’
मित्रलाई आपत पर्दा सहयोग गर्ने म कसरी उनलाई सहयोग गर्ने होला भनेर सोचमग्न भएँ । पहिले उनी सामान्य विरामी हुँदा दिल्लीको मेदान्त अस्पतालमा लगेर उपचार गराएको थिएँ ।
कोरोनाले अब व्यक्तिमात्र होइन, परिवारलाई आक्रमण गदै छ । परिवारपछि देशलाई आपतमा पार्ने देखिन्छ । त्यसैले त ढिलो भयो है सरकार । हामीले मानेको अभिभावकले हाम्रो कुरा नसुनेपछि के लाग्छ ।
समयमा उचित कदम चाल्नु वेश हुनेछ । ढिलो भयो है, ढिलो सिफारिस गर्ने र निर्णय गर्ने दुवै निकायले एकपटक चिसो पानी पिएर सोच्ने बेला भइसक्यो ।
जति ढिलो उति क्षति र दुःखको कथा लेख्नुपर्ने होला ।
आजलाई यत्ति । बाँकी भोलि ।