लकडाउन डायरीः हिँडेर पाइएन, लेखेरै हाइकिङ

ब्राम्हणपुत्रको लकडाउन डायरी–३

भरत शर्मा

शनिवार अल्छी बार हो । विदाको दिन भएर पनि होला, सबैजसोको तालिकामा आराम गर्ने बार भएको हो यो । र, आज लकडाउन भाग–२ को पहिलो शनिवार । कोरोना महामारीले उग्ररुप लिदै गएकोले शनिवार बिहानै पिपलको छहारीमा गएर जल विर्सजन गर्ने तालिकामा पनि अवरोध भयो होला ।

ज्योतिषशास्त्रमा ‘शनि’ ग्रह अलि खराब मानिन्छ । साढेसाती दशा भनेको शनि ग्रहले काममा काममा बाधा, दुःख, कष्ट र यातना दिने हो । त्यसैले त शनिवार शान्तिको कामना र सबैको कल्याणका लागि ‘शनिदेव’सँग प्राथना गर्ने प्रचलन छ । मैले पनि शनिबार बिहान विपत्तिलाई पार होस् भनी ‘शनि’ पिपलको छहारी र शनिदेवको पाठपूजामा समय खर्चें ।

शनि शान्तिपाठ गदै गर्दा शनिको प्रभावले हाम्रो काममा बाधा उत्पन्न शुरु भइसकेको थियो । यो अल्छी बारलाई उर्जाशील बनाउनका लागि हामी दुई टुर गाइड (भरत र अशोक जोडी)ले गत हप्ता शनिवारको शुभ साइतमा काठमाडौं उपत्यकाका फन्को लगाउने हाइकिङ शुभारभ्म गरेका थियौं ।

बैशाख ११ गते शुभसाइत र लोकतन्त्र दिवसको अवसर पारेर यो उपत्यका-खाल्डोको डाँडोलाई फनक्क घुम्ने योजना मुताविक हामीले यात्रा आरम्भ गरेका थियौं । हरेक शनिवार अल्छी नगरिकन यात्रा गर्ने अठोट, वाचा र प्रतिबद्वता थियो । त्यसदिनको शनिवार हामीले चन्द्रागिरी नगरपालिकाको मसिने गाउँस्थित चम्पादेवीबाट यात्रा शुरु गरी चन्द्रागिरीको फेदी हुँदै नागढुँगा निस्केका थियौं ।

आजको शनिवार चन्द्रागिरी केवलकार चढेर डाँडाँबाट यात्रा शुरु गरी कीर्तिपुर निस्कने हाम्रो योजनामा शनिको प्रभाव अर्थात कोरोना महामारीले हामीलाई छेकथुन ग-यो ।

यात्राको योजना रोकिएको छैन । केवल स्थगन मात्र भएको भएको हो । शनिवार बिहान टेलिफोन संवादमा सहयात्री अशोकले भने, ‘आजको हप्ताको यात्रा लेखेर गरौं । यात्रामा जान नपाउनु नै अर्को यात्रा हो । यसलाई शब्दमा उतार्दै यात्रा गरौं ।’

‘हस हजुर’, मैले भनेँ ।

गत हप्ताको शनिवार हामीले करिव १५ किलोमिटर यात्रा ग-यौं होला । यात्रामा निस्कनुअघि हामीले ‘खरिबोट कफीसप अदालत’ का माननीय सदस्य रातोपाटीका सल्लाहकार सम्पादक जिवेन्द्र सिम्खडालाई समेत यात्रा अभियानमा साथ लिने मेरो अडानमा अशोकले ठाडो इन्कार गरिदिएपछि हामी ‘दुई भाइ’ मात्र फेरो मार्ने अभियानका लागि पानी र चिउरा, दालमोट र केही पेय पदार्थ झोलामा कोचेर यात्रा हिड्यौं । हाइकिङ तयारी निकै कम थियो, हामीले साइत र ऐतिहासिक दिन भएकाले कम तयारीमा यात्रा आरम्भ गरेका थियौं ।

मसिने गाउँमा रहेको चम्पादेवी मन्दिरको परिक्रम गरी त्यहाँ रहेका भाइहरुसँग विद्यालय जीवनका रमाइला कुरा गरेर हामी जंगलको बाटो उकालो लाग्दा अलि माथि पुगेपछि ध्यान गरी ओम नमः शिवायः भन्दै आँखा बन्द गदै थिएँ, नजिकै शिवजीको छायाँ दर्शन भयो । हाम्रो यात्रामा शिवको आशीर्वाद प्राप्त भयो । अब यात्रा अघि बढ्यो भनेर अशोकलाई भनेँ । मैले भने, ‘मैले पशुपतिनाथतिर फर्केर हेरेँ, शिवजीले प्रत्यक्ष दर्शन दिनुभयो ।’

त्यतिबेला आकाश सफा र खुल्ला थियो ।

जंगलको यात्रा । बाटो अलि कठिन रहेछ । त्यसबेला अशोकले भने, ‘थाहा पाउनुभयो ? मैले किन जिवेन्द्र दाइलाई नलैजाने भनेको । उहाँलाई लिएर आएको भए आपत्त हुन्थ्यो ।’

भरत शर्मा

हामी रुखको हाँगामा झुण्डिएर बाटो पार लगायौं । धादिङ, नुवाकोट र देशैभर जंगल यात्रा गरेका दुई भाइ टुर गाइडका लागि यो कुनै कठिन काम थिएन । हामीले पार लगायौं । अघि बढ्यौं ।

हाम्रो सूचनामा काठमाडौको डाँडोलाई फेरो लगाउन एकसय ७० किलोमिटर यात्रा गर्नुपर्ने छ । यसको लागि हामीले सबै तयारीमा जुटेका छौं । यात्रा जारी छ । सायद, केही हप्तामा आउने शनिवार पनि यात्रा रोकिन सक्छ । केही छैैन । जुन दिनदेखि सहज हुन्छ, त्यही हप्ताबाट यात्रा शुरु हुन्छ ।

कोरोना महामारीले ‘दिन दुई गुना रात चौ गुना’ विरामीको संख्या बढ्दै छ । महामारीका कारण जनताको उपचार गर्न नसक्ने भनेर सरकारले हात माथि उठाएको अवस्था छ । सरकारको तालुकदार स्वास्थ्य मन्त्रालयले अपिलैैं गरेर २३ जिल्लामा विरामीको उपचार गर्ने अस्पताल र स्वास्थ्य सामग्री छैन भनेर जानकारी दिए पनि जन–जनको मनमा देशमा अभिभावक वा सरकार नभएको महसुस भएको छ ।

सरकारले जनताको उपचार गर्न नसक्ने भए पनि मृतक संख्या बढ्छ होला भनेर मृतकको शव जलाउने काममा पशुपति क्षेत्र विकास कोषलाई जिम्मा दिने निर्णय गरेको छ ।

सरकार र प्रशासन एक आपसमा ‘मिलीभगत’ कुरा गरेर जनतालाई निरास बनाउदै गरेको कुरा लेख्नका लागि सामाजिक सञ्जालमार्फत चितवनबासी अवकासप्राप्त शिक्षक दाजु शंकर शर्माले भने, ‘नेपालनाम्चामार्फत सरकारको जनताप्रतिको दायित्वको बारेमा झक्झक्याउनु प-यो ।’

मैले भने, ‘तपाईको कुरा बुझेँ । म अवश्य आज लेख्छु ।’

सरकार र जिम्मेवार तहमा रहेका देश हाँक्ने नेताहरुले जनतासँग माफी माग्नु पर्ने बेला आएको छ । कति गैरजिम्मेवार सरकार भन्ने कुरा त अस्पतालमा शैया थप्न नक्सने तर पशुपतिनाथमा शव जलाउने ठाउँ नहोला भनेर व्यबस्थातिर लाग्ने सरकारी काम देखेर जो कसैंलाई पनि दया लागेर आउँछ । कठै बरा सरकार ।

कोभिड संकट व्यबस्थापन केन्द्र (सीसीएमसी)ले गरेका सिफारिस ‘लगनपछिको पोते’ जस्तो छ । सरकार सीसीएमसीको सिफारिस कहिले आउला भनेर बस्छ । रामभरोसामा चलेको सरकारको चाला देख्दा जनता पनि भन्न थालेका छन्, सरकार हुनु त यस्तो पो । देशमा न सरकार छ, न त प्रतिपक्ष । जनताको हित गर्छु भन्ने राजनीतिक दल कोही छैन जस्तो अनुभव हुँदैछ जनतालाई । पख्लाउ नि, भोट भाग्न आउने बेला मुखभरीको जवाफ दिउँला भनेर मनको लड्डु घ्यूसँग खाएजस्तो मनमनै मुरमुरिएका छन् जनता ।

नेताहरु चुनाव आएपछि हात जोडेर ‘नमस्कार’ गर्दै गएपछि जय नेपाल र लालसलाम गर्न लुरुक्क आउँछन् भन्ने मनोविज्ञानमा छन् नेताहरु ।

खैर जे होस, कोरोना भेरियन्ट भाग–२ को चपेटामा परेको छ देश । नागरिक आफ्नो चारकुने कोठामा बन्द भएर सरकारको आज्ञा मानेका छन् । सडकमा प्रहरी र प्रशासनले निषेधाज्ञा कडा गरेको छ । शहरबाट तीनदिनको बीचमा पाँच लाख मानिस गाउँघर गएका छन् । उनीहरुमध्ये कति विरामी परेका होलान् । उनीहरुको उपचारका लागि स्थानीय सरकारले पनि केन्द्रीय सरकारको भाकामा हात उठाउने होलान् ।

‘ठूलो बाउको यो चाला कान्छो बाउको झन् के चाला’ भने झैं केन्द्रीय, प्रदेश, स्थानीय सरकारको हुर्मत लियो संघीयताले । जनतालाई टुहुरो बनाउने नेताहरु केन्द्रमा छन् । गुण्डागर्दी गर्ने व्यक्ति मन्त्री भएका छन् । गाउँका पाखा भत्काउने डोजरका साहुहरु स्थानीय नेताका सल्लाहकार भएका छन् ।

रामो–राम, रामो रामेति– रामराम । यो कलियुगमा पनि सत्य, त्रेता, द्वापरको कुरा गरेर हुन्छ । कलियुगमा समय अनुसार कुरा गर्नुपर्छ । अहिले त कलिको मध्यान्तर चलेको छ ।

त्यसैले त राजा (सरकार)को काम समयमा हुँदैन । जनता दुःखी छन् । मृत्युको मूल्य हराउँदै छ । अध्यात्म चेत हराउँदै गएको छ । धर्तीमा यज्ञ, अनुष्ठान हुन छाडेपछि बेलाबेलामा धर्ती काम्न (भूकम्प) जान छोडेको छैन ।

शनिवार विहानैं काशीमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा साथै पढेका मित्रले ह्वाटसपमा म्यासेज गरेर यो कोरोनाकालमा महामृत्युजय जप र गायत्री, दुर्गासाधना गर्नु फलदायी भएको महत्वबारे लामो फेहरिस्त पठाएका थिए । मित्रको ‘शब्द कोशेली’ भनेर सबै पढेँ । निकै मार्मिक रहेछ । सन् १९९९ मा हामी काशीको गंगाघाटमा धोती बेरेर दुर्गाकवचको पाठ गरेको दिन पनि सम्झना गराए । ‘आप और आपके परिवार सब ठीक हैं ना ? लकडाउनका पालना करना, मैं तो घरपर मौन व्रत करकें साधना में हुँ । उनले भने ।

उनले मलाई पनि कोरोनाकालमा घरमा बसेर मौन व्रत र साधना गर्नु भनेर सल्लाह दिए । मित्रको वचन कसरी काटौं ?

शनिवार आरामको दिन भएर होला । घरभित्र बसेर अध्ययन लेखन गरे पनि आराम गरेजस्तो लाग्ने दिन । समाचार र नयाँ कुराको जानकारी लिन सामाजिक सञ्जाल, सञ्चारमाध्यमतिर आँखा डुलाउनु प¥यो ।

विच्याट खोलेर हरेको त चीन सरकारले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने घोषणा गरेको समाचार आएको रहेछ । छिमेकी भएर चीनले समयमा सम्झेछ बरै । यो कहिलेसम्म नेपाल आइपुग्ने रहेछ भनेर समाचार पुरा पढेँ, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले भने, ‘आगामी ७ दिन दिनदेखि १० दिनभित्र नेपाल आउने छ ।’

उत्तर छिमेकी चीनबाट पठाएको अक्सिजन सिलिन्डर आएपछि नेपालमा विरामीले सहज रुपमा अक्सिजन पाउने आशावादी समाचारले अलिकति उत्साह दियो ।

आजको दिन पनि हिजो जस्तै हो, हिजो भारतका पत्रकार रोहितको मृत्युको खबर र शनिवार विहान नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति एवं पशुपतिनाथमा हरेक साता भेट हुने शिवभक्त विदुरप्रसाद पौडेलको निधनको खबर सुन्नु परेको छ । भोलि फेरि अरु संभावित् मृत्युको खबरकोके कुरा गर्नु ? सबैको बैकुन्ठबासको कामना गर्नुको विकल्पै छैन ।

आजलाई यति, बाँकी भोलि ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button