लकडाउन डायरीः मेरो पनि आँखा रसायो

ब्राम्हणपुत्रको लकडाउन डायरी-२

भरत शर्मा

आज लकडाउनको दोस्रो दिन । शुक्रबारदेखि थप कडा गर्ने गृहमन्त्रालयको आदेश आयो । पहिलो दिनको लकडाउन प्रभावकारी नभएर सरकारले कडा गर्ने आदेश दिएको होला ।

लकडाउनको समयमा प्रहरीको मास्क लगाउ अभियानबारेको समाचारभन्दा लकडाउनको पहिलो दिन नै गण्डकी प्रदेशमा युवा तथा खेलकुदमन्त्री बनेका दीपक मनाङेको अन्तर्वार्ता पढ्दा निकै रमाइलो लाग्यो ।

बसोबासस्थल ताहाचलस्थित शुभेच्छा डेरीमा दुधदही जोहो गर्न गएको बेला डेरीका सञ्चालक सुर्दशन तिमिल्सिनाले नयाँ पत्रिका पढ्न दिए । उनी नयाँ पत्रिकाका वितरक व्यवस्थापक पनि हुन् । हरेक दिन उनी आफना दुधदहीका परिकार किन्न आउने ग्राहकलाई पत्रिका पढ्ने सुविधा दिने गर्दछन् ।

डेरीको एक छेउमा सामाजिक दुरी कायम गरेर नवनियुक्ति मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङको अन्तवार्ता एक–एक शब्द र त्यसको अर्थसमेत लाग्ने गरी पढ्दा निकै मजा आयो । त्यो अन्तर्वार्ता हाम्रा सबैजसो राजनीतिक दलका नेताहरुले एक पटक पढ्ने हो भने अलिकति भए पनि मति सुधार्थे कि ?

मनाङेले स्पष्ट भाषामा भनेका छन, ‘म नेताहरुलाई सिकाउन चाहन्छु– मन्त्री भनेको पैसा कमाउन होइन, देशलाई योगदान गर्न बन्ने हो ।’ अन्तर्वार्ताभित्रका कथाहरु धेरै छन् । यदि तपाई पाठकहरुले फूसर्द भएमा रुचि लागेका मनाङेका कुरा सत्य साँचो छन् ।

उनको विगतका पृष्ठभुमि सम्झेर मनिसहरुले सामाजिक सञ्जालमा गिल्ली गरेका छन् । तर, मनाङे राजनीति गरेर जनताको मत पाएर नेपालको कानुनअनुसार मन्त्री भएका हुन् । विगतमा गलत गरे होलान् तर अहिले राम्रो गर्न सक्छन नि । पुरानो कुरा हो, बाल्मिकी डाँकु थिए तर पछि ऋषि भए र समाजमा योगदान दिए । मनाङेले पनि ऋषिमन लिएर काम गरे भने हामीले उनलाई सम्मान दिनु पर्छ ।

लकडाउन–दुई शुरु भएको पहिलो दिन देशमा ४ हजार नौं सय २८ जना नयाँ कोरोना संक्रमित र ३५ जनाको मृत्युको खबरले मन खिन्न भएको थियो । यो महामारीले कयौंका दुःख र कयौंलाई टुहुरो बनाउने होला । मनका अनेक कुरा खेल्दै थिए । शुक्रबारको बिहानको तीनवटा अखबार पल्टाएँ । सुखद कुरा भेट्टाउन मुश्किल भयो । सरकारी मुखपत्र गोरखापत्रदेखि विपक्षीका आवाज बोल्ने निजी अखबारमा कुनै उत्साहजनक खबर नभेटेपछि शनिवारको अखबारमा नयाँ साहित्यका वान्की पढ्न पाइएला भन्ने आशा गरेँ ।

विहान र रात्रीकोे समयमा सकेसम्म राम्रा र सकारात्मक कुरा पढ्नु राम्रो मानिन्छ । त्यसैले त हाम्रा ऋषिमुनिहरुले ब्रम्हमुहूर्तको समयमा उठ्ने, सूर्योदयअघि शास्त्र र ध्यान, योग र जपतप गर्नु भन्नुभएको छ । हाम्रो पुस्ताले यसलाई पुरानो कुरा मानेर लत्तो छाड्दै गयौं । त्यसको परिणाम हामीले अहिले भोग्न बाध्य भएका छौं ।

लकडाउनको बीचमा केही सकारात्मक कुरा छन् कि भनेर दक्षिण छिमेकी भारततिरको समाचार एजेन्सीतिर नजर लगाएको त भारतका एकजना चर्चित टेलिभिजन आजतकमा कार्यरत पत्रकार रोहित सरदानाको निधन भएको खबरले मलाई पनि निकै मर्माहित बनायो । उनी जी न्यूज टेलिभिजनमा कार्यरत भएका बेला दिल्लीमा उनीसँग २०७३ सालमा भेट भएको थियो । जगन्नाथपुरी शंकराचार्यको कायाक्रममा सहभागी हुन आएका बेला म पनि नेपालको तर्फबाट पत्रकार भनेपछि केहीबेर संवाद भएको थियो । त्यतिबेला उनले नेपाल भन्नेवित्तिकै वरिष्ठ पत्रकार युवराज घिमिरेको नाम लिएका थिए । मैले पनि युवराज घिमिरेसँगै काम गरेको पत्रकार भनेपछि उनीसँग नेपाल–भारतसम्बन्धका बारेमा कुरा भएको थियो ।

यसो आजतक टिभी खोलेर हेरेको त एंकरहरु पत्रकार रोहितको मृत्युको खबरले टेलिभिजनको लाइभमा रोइरहेको दृश्य देखेपछि मेरो पनि आँखा रसायो ।

भारतमा कोरोना महामारीले केही दिनअगाडि मात्र प्रधानमन्त्री नरेन्द्र मोदीको काकीको निधन भएको खबर र शुक्रबार पत्रकार रोहितको मृत्युले मोदीको मन पनि पक्कै विचलित भएको होला । दैनिक लाखको संख्यामा थप नयाँ विरामी, हजारौंको संख्यामा मृत्युको भारतीय खबरले हामी छिमेकीलाई दुःखी र सर्तक बनाउनु स्वभाविक पनि हो ।

पत्रकार रोहितको आत्माको शान्तिको लागि श्री पशुपतिनाथसँग प्राथना गरेँ ।

‘यता नेपालतिरको खबर के छ हँ आज’ भनेर अपरान्ह चारबजेतिर नजर लगाउँदै थिएँ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सर्वसाधरणलाई निकै भावपूर्ण अपिल गरेको विज्ञप्ति अक्षरस पढ्न थालेँ । कोरोना महामारीविरुद्धको अभियानमा तालुकदार मन्त्रालयको प्रवक्ताको अपिल निकै कडा र संवेदनशील रहेछ । कोभिड संक्रमितका हिसाबले अति प्रभावित २३ जिल्ला (मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बदिया कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर) मा संक्रमण डरलाग्दो गरी फैलदै गएको छ ।

नेपालको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी विरामीलाई अस्पतालमा राखेर हेरचाह गर्न र अस्पतालमा शैया उपलब्ध गराउन नसक्ने भइसकेको छ । त्यसैले सबै दाजुभाइ र दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ ।

अहो, यो अनुरोध निकै मर्मस्पशी छ । अनावश्यक काममा घरबाहिर निस्कँदा प्रहरीले सवारीसाधन सडकमा होलङिग गरेको साच्चै राम्रो काम गरेको जस्तो लाग्छ है । सरकारले नै अब हामी अस्पतालमा विरामीको उपचार गर्न नसक्ने अवस्थाका भयौं भनेर हात उठाउने अवस्था हुँदा त हामी सबै जन–जनले होसियारी हुनुको विकल्पै छैन । मास्क लगाऔं, भौतिक दुरी कायम गरौं र बेलाबेलामा साबुन पानीले हात धुनु नै उत्तर उपाय हो ।

डा. समिरले अपिल विज्ञप्तिको अन्तमा लेखेको छन, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नैं नसक्ने गरी संक्रमण फैलिएको यो अवस्थामा कृपया सबैजना संवेदशील बनिदिनुहुन हार्दिक अपिल छ ।’

यो अपिललाई हामीले मनन गर्नु पर्छ । त्यसो त यो भाषा भनेको देशका स्वास्थ्य संकटकालको घोषणाको पूर्वतयारी हो भन्दा पनि फरक पर्दैन । भारतमा पनि यही अवस्था छ । सरकारले जनतासँग अपिल गरिरहेको छ । तर, सरकारको अपिल नमान्दा स्थिति आज भयावह भएको छ । हामी पनि यही अवस्थामा अघि बढ्दै छौं ।

यो संवेदशील अवस्थामा नागरिकको कर्तव्य पालना गर्नु सबैको जिम्मेवारी हो । त्यसले आफू, परिवार र समाजलाई बचाउन हरेक नागरिकले जनस्वास्थ्यको मापदण्ड पालना गर्नु जिम्मेवारी र दायित्व दुवै हो ।

आज हिजोको भन्दा बढी संक्रमित भए, जम्मा ५७२७ जना र मृत्युचाहिँ हिजोको भन्दा दुई कम । ३३ जनाको मृत्यु भएछ । संक्रमित र मृत्युको खबरले फेरि अर्को झड्का दियो । यो रफतार घट्ने होइन, बढ्ने देखिन्छ ।

त्यति नै बेला मोवाइलमा समाचार अलर्ट आयो, अमेरिकाले त भारतमा रहेका आफ्ना नागरिकलाई छिटोभन्दा छिटो भारत छोडनका लागि ट्राभल्स एडभाइजरी नै जारी गरेछ ।

‘डायरी लेख्नुपर्ने डेटलाइन जान लागिसक्यो, कति मोवाइल हेरेर बसेको होला’, कान्छो पुत्र शुभमको निर्देशनपछि उही कथा लेख्न थालियो, दोस्रो लकडाउन डायरी । आजको यति नै, भोलि बाँकी लेखौला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button