
लकडाउन डायरीः भोलि तरकारी रोप्ने सोचमा छु
शकुन्तला देवकोटा
हामी बाहिर नि, भित्र नि समाल्न पर्ने महिलाहरुका लागि एक हाप्तासम्मको लकडाउन ठिकै लाग्न थाल्यो मलाई ।
लठपत्र घर छोडेर काममा जानुपर्ने । बेलुका फर्कंदा थकाइ । त्यसैले लठपत्र घरलाई यतिकै छोड्यो । यो क्रम जारी नै रहन्छ ।
आज लकडाउनको पहिलो दिन धेरै काम गरेँ । दुई महिनाको लागि पुग्ने दाल पिसें । धेरै दिनदेखि थुप्रो लागेको तरबाट घ्यु निकालें । बच्चालाई मनपर्ने खालको अचार, तरकारी, खाजा बनाएर खुवाएँ ।
यसको मतलब लकडाउनको चिन्ता नभएको चाहिँ होइन । खल्तीमा रहुन्जेल खाने हो । काम गर्न नगए के खाने ? कसरी घर चलाउने ? तनाव छँदै छ । तनाव कम गर्न आजभोलि आएको नयाँ एप् चलाउँछु, समय हुँदा टिकटक ।
मनमा अनेक तरङ आउँछ । लामो समयदेखि बन्द रहेको मेरो पसल बीचमा खुल्दा केही आशा पलाएको थियो । फेरि लकडाउन सुरु हुँदै छ । कहिलेसम्म हो, कसैले भन्न सक्ने अवस्था छैन । समाचार पनि बेलाबेला हेर्दै छु । अघिल्लो बर्षको भन्दा बढी नै खुकुलो लकडाउन भन्ने पनि सुन्दै छु ।
म नेपाल लाइफ इन्स्योरेन्समा पनि अभिकर्ताको काम गर्छु । यो फुर्सदको समय इन्स्योरेन्स खोज्ने काम गर्छु भन्ने पनि लागेको छ । इन्स्योरेन्स कम्पनीले ‘काम गर्नुस्, पास हामी बनाइदिन्छम्’ भन्नू भएको छ । अब कस्सिएर काम गरुँ कि भन्ने लाग्दै छ । हेर्दै जाम्, समयले कता पुराउँछ ।
आफ्नो दिन नआएसम्म कोरोना लागेर मरिन्छ जस्तो लाग्दैन । तर, समाचार हेर्दा, अब घरबाट निस्किन्न् जस्तो पनि लाग्छ । दोधारमा छु ।
दिनभर कमाएर परिवार पाल्नेहरुलाई सम्झन्छु । के खाएका होलान् ? यस्तो बेला काम गर्न पाएका छैनन् । मन भारी भएर आउँछ । सम्झनबाहेक केही गर्न सक्दिनँ ।
विकसित मुलुकहरुमा लकडाउन हुँदा सरकारले रासनपानीको लागि भत्ता दिन्छ भन्ने सुन्छु । व्यवसायीहरुलाई बैंक ब्याज, ब्याबसायिक कर छुट हुन्छ रे भन्ने सुन्छु । हाम्रो देशमा त्यस्तो गर्न सक्ने मुटु भएको देशप्रेमी, जनताप्रेमी को, कहिले निस्कला जस्तो नि लाग्छ ।
आज आकाश पनि खुब गड्बडाएको छ । भोलि तरकारी रोप्ने सोचमा छु ।