३६ बर्षसम्म बर्बराउने ब्यथाबाट सताइएँ

रक्तचाप व्यवस्थित नहुँदा बालककालदेखि ३६ बर्षको उमेरसम्म अज्ञात ब्यथाबाट सताइएँ । आज त्यो समस्या छैन । मेरो प्रेसर भने लो नै छ । पटक्कै रिस उठ्दैन । रिसाउनै पर्ने अवस्था आइपरे बनावटी रिसाइदिन्छु ।

देवशंकर पौडेल ।

आमालाई सोधें, ‘राती बर्बराउने विरामी हुँदा म कति बर्षको थिएँ ?’ आमाले भन्नु भयो, ‘पाँच बर्षको थिइस् ।’ राती सुतेका बखत (बेहोसजस्तो र होसजस्तो पनि) मलाई अज्ञात शक्तिले तर्साउँथ्यो । कानमा आत्तिने गरी कचकच गरिरहन्थ्यो । उसका आवाजहरू म सुन्थें । बाआमाहरू सुन्नु हुन्नथ्यो । मलाई झाँगलझुगल पार्नु हुन्थ्यो । तर, उसले सताइनै रहन्थ्यो । यो दैनिक हुँदैनथ्यो । महिनामा दुई चार पटक हुन्थ्यो । अघिल्लो छोरो मरेको र यो पनि मर्ने रहेछ क्यार ! भन्ने लागेर परिवार चिन्तित रहेछ । यो बर्षौंसम्म भइनै रह्यो ।
हाम्रो बा र कान्छाबाको घर देउसिलीमा थियो । हजुरबा, हजुरआमा भदौरा भन्ने ठाउँमा बेग्लै घर किनेर बस्नु भएको थियो । त्यो माया र प्रेमको भण्डार थियो, ज्ञानको केन्द्र थियो अनि हाम्रो साझा घर थियो । म त्यतै बस्ने गर्थें । एक दिन भदौरा बाटेगराको कान्लामा गोठ थियो । माइली फुपुदिदी अम्बिका घिमिरेले मलाई गोठ सुत्न साथी लानु भएको रहेछ । छाप्रे गोठ थियो । यो २०२३ साल मंसिरको कुरा हो । मैले अघिल्लो कान्लाका घाँस झारेर बाँकि रहेका हरेक छड्केमा चहकीला बत्ती बलेको देखें । दिदीले देख्नु भएन । म बत्ती बलेको छ भन्छु दिदी देख्नु हुन्न । दिदीले बोकेर माथी हजुरबासम्म पुर्याउनु भयो । हजुरबाले तन्त्रमन्त्र गर्नुभयो, त्यसै छाड्यो । बीचबीचमा धेरै पटक सतायो, सबै सम्झने कुरा भएन ।
अर्को एक दिन २०२५ सालमा भानिज दाजु प्रेमप्रसाद भट्टराई र म चनौटे (तल्लाघर हुतराज कान्छाबाका घरबाट उत्तर–पूर्वी कान्ला) को हिउँदे गोठमा सुत्न गएका थियौं । राती मलाई उहि अज्ञात शक्तिले अत्यायो । म आत्तिएर के के भनें । दाजु आपतमा पर्नु भएछ । उहाँले बोकेर चनौटेदेखि भदौरासम्म पुर्याउनु भएछ । त्यस पटक पनि हजुरबाले केके गर्नुभयो । मलाई त्यसै छाड्यो । के भएको हो ! अचम्मै भयो । बाआमा र हाम्रो समाजको विश्वास बमोजिम सानो चण्डीको पुस्तक अभिमन्त्रित गर्दै, चाँदीले मोरेर मेरो घाँटीमा जन्तर पनि लगाइदिनु भएको थियो । त्यो खेल्दाखेल्दै कता हरायो हरायो, थाहा भएन ।
त्यसपछि हिमगङ्गा मावि साँघुटार बजारमा पाँच बर्ष पढियो । ओखलढुङ्गामा जाँच दिइयो । त्यस्तो केहि भएन । कलेज पढ्न काठमाण्डू आएँ । कलेज पढियो । त्यहाँ पनि त्यस्तो भएन । एकदिन कलेज पढ्दापढ्दैको सन्दर्भमा सानोठिमीबाट बागबजारका निम्ती मिनीबस चढेर जाँदै थिएँ । सिट पाएको थिईंन । डण्डीमा झुण्डिएर यात्रा गर्दागर्दै दिउँसै उहि पुरानो चिजले सताउन थाल्यो । अब मलाई चिन्ता भयो । घरमा जस्तो के के भन्दै कराइदिएँ भने के हुन्छ ? यहाँ बसमा धेरै चिनेका साथीहरू छन् । उहाँहरूका सामुन्ने म पागल ठानिन सक्छु, अनर्थ हुन्छ, भन्ने सोचेर म माइतिघरमा ओर्लिएँ । त्यहाँ ओर्लिदा बाटामा पनि सताइनै रह्यो । आर्मीको भित्रबाट भद्रकाली जाने बाटाको छेउको पुरानो खालको घरमा खाजा पसल थियो । (त्यो घर अहिले पनि छ ।) त्यस पसलको एउटा सिटमा बसेर खाजा मागेर खाएँ । केहिबेरपछि त्यसले सताउन छाड्यो । आराम भयो, अनि बाटो लागें ।
राती निन्द्रामा त हुन्थ्यो हुन्थ्यो । अब त दिउँसै सताउन थाल्यो । त्यसले मलाई थप चिन्तित तुल्यायो । त्यसको उपचार विधि थाहा पनि छैन । कसैलाई सोधेको पनि छैन । त्यत्तिकै चल्दै थियो । सानोठिमीको गठ्ठाघर अगाडि भट्टराईजीका घरमा डेरा थियो । कपिलदेव काफ्ले र म संगै बस्थ्यौं । एकदिन विहान उठ्नासाथ म ब्यहोस भएर लडें । कपिलले उठायो । दिउँसो कलेजको क्लिनिकमा जचाएँ ।
प्रेसर लो छ । अलि झोलिलो नुनिलो खाना खानु, भन्ने सुझाव पाएँ र त्यसै गरें ।
त्यस पछि कैयन् बर्ष यो समस्या आएन । रामपुर, प्रिती, बिजुलीकोटमा पढाएँ । त्यसपछि फेरी कलेज पढें । गामनाङमा पढाएँ । गाउँमा आएर चुनाव लडें । दुई बर्ष जनप्रतिनिधि भएर काम गरें । समस्या भएन । यसो गरुञ्जेल २०४६ सालको संयुक्त जनआन्दोलको सुरुवात भैसकेको थियो । आन्दोलनको सफलतापछि राजनीतिक प्रचारको प्रतिस्पर्धा चलिरहेको थियो । मन्थलीमा डेरा नलिएका कारण बस्ने र खानेको ठेगाना थिएन । दिनभरी सदरमुकाम मन्थलीमा काम गर्यो । बेलुका कहिले टेकनपुर नारायण कार्कीजीका घर, कहिले सानीमदौ श्याम सुवेदी, बढिमुहान डिल्ली ढुङ्गेल, मुगिटार पुष्करराज प्रसाईं र अर्जुन प्रसाईं, कुनौरी गणेशप्रसाद घिमिरे र माधवप्रसाद घिमिरे, मच्छेडाँडी गणेशप्रसाद सुवेदी र कृष्णप्रसाद सुवेदी, डुम्रीखर्क पूर्णबहादुर सुवेदी आदिका घरमा अवस्था हेरी पुग्थ्यौं ।
यहि सिलसिलामा एकदिन मन्थलीबाट मच्छेडाँडी गणेशप्रसाद सुवेदीजीका घरतिर जाँदै थिएँ । मन्थली आजको जस्तो विकसित थिएन । त्यसवेला हाल विपी कोइरालाको सालिक भएको ठाउँबाट नवराज पथिकजीको घर भएको ठाउँ भएर रणजोर खोलाको बगरमा रहेको अस्थायी छाप्रे आनन्द बजार कटेर मच्छेडाँडी चढ्ने पैदल बाटो थियो । त्यहाँ सुनसान खेत थियो । म जाँदै थिएँ । झमक्क साँझ परेको थियो । झ्याउँकिरीहरु झउँझ्याउँ गरिरहेका थियो । मलाई उहि पुरानो अज्ञात ब्यथाले हिंड्दा हिंड्दै सतायो । झ्याउँकीरीका झ्याउँझ्याउँ शब्द डरलाग्दा शब्दमा रुपान्तरित भइरहेका थिए । त्यस्तो बेलामा आत्मबल गिरेको हुँदोरहेछ । एक्लै थिएँ । सरासर हिंडे । मनमनै समस्याको कारणको नजिकै पुगेको महशुस गरें ।
मच्छेडाँडीको बरको फेदमा केहि स्थानीयहरू बसिरहनु भएको रहेछ । नमस्कार ! नमस्कार !! चल्यो । ‘मलाई हतार छ है’ भनेर कान्लो उक्लिएँ । गणेजीका घरमा सीतादिदीलाई ‘मलाई आराम छैन । आराम गर्नु पर्यो’ भनें । उहाँले ओछ्यान देखाइदिनुभयो । त्यहाँ आराम गरें । केहि बेरपछि आराम भयो । दिदीले खानाखान बोलाउनु भयो । खाना खाएपछि पनि समस्याको अन्तिम निदान फेला नपरेकाले चिन्ता भने लागि नै रह्यो ।
त्यसैगरी एक दिन मन्थली कटहरको रुखमुनि क।गुणराज श्रेष्ठजीका आँगनमा अखिल नेपाल किसान संघको भेला थियो । म बोल्दै थिएँ । त्यतिबेला एक्कासी ढलें । कैलाशप्रसाद ढुङ्गेल, राधा ढुङ्गेलले घरको पेटीमा हिफाजतपूर्वक सुताएर पानी छेप्ने बोलाउने गरेर होसमा ल्याउनु भयो । स्वास्थ्यकर्मी रामहरि सुवेदीजीले प्रेसर जाँच्नु भयो । प्रेसर निकै नै लो रहेछ । त्यसको केहि समयपछि जिल्ला अधिवेशनमा प्रतिवेदन पढ्दापढ्दै लडेछु । पछि साथीहरूले सुनाउनु भयो । कमरेड कमल चौलागाईंजीले ढल्दाढल्दै समाइदिनु भएछ । अन्यथा कुर्चीमा परेर मेरो ढाड भाँचिन सक्थ्यो । त्यसले केहि समय जिल्ला अधिवेशन नै प्रभावित भयो ।
पछि चिकित्सकसँग सम्पर्क गरेर आफ्नो समस्या बताएँ । चिकित्सकका अनुसार प्रेसर लो भएको समयमा दिमागमा आवश्यक रगत पुगेको हुँदैन । त्यसले गर्दा दिमागले गलत सन्देश दिन्छ । तपाईंलाई त्यस्तै भएको हो । रक्तचाप व्यवस्थित नहुँदा बालककालदेखि ३६ बर्षको उमेरसम्म अज्ञात ब्यथाबाट सताइएँ । आज त्यो समस्या छैन । मेरो प्रेसर भने लो नै छ । पटक्कै रिस उठ्दैन । रिसाउनै पर्ने अवस्था आइपरे बनावटी रिसाइदिन्छु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button