‘मेरो माटो’मा भोजपुरको माया विछट्ट

(नेपालनाम्चाको नयाँ स्तम्भ हो 'मेरो माटो', जहाँ तपाई आफ्ना गाउँसँग जोडिएका आफ्ना स्मृति लेख्न सक्नु हुनेछ । त्यहाँका विकास निर्माण र घटनाहरुबारे लेख्न सक्नु हुनेछ । अझ यसो भनौं, आफ्नो गाउँठाउँबारे मन लागेको लेख्नसक्नु हुनेछ । र, फोटोहरु पनि पठाउनसक्नु हुनेछ, nepalnamcha@gmail.com मा । सं)

तेजप्रसाद पराजुली

दशैँमा तराईबाट आफ्नो जन्मभुमि (गाउँ) भोजपुर जान पाउँदा यो मन आतुर र खुसीले मन फुरुङ्ग हुन्थ्यो । घटस्थापनाको भोलिपल्ट हाम्रो स्कुल विदा हुन्थ्यो । दिदीले काम गर्ने कम्पनी पनि फुलपातीको केही दिनअगाडि विदा हुन्थ्यो । गाउँ जाने एक दुई दिनअगाडि लुगाफाटो धोएर सफा राखिथ्ययो । भोलि सबेरै डाँफे बस (गाडी) झापा भद्रपुरबाट धनकुटाको लागि छुट्थ्यो । गाँउ जादा सँधै हामी त्यहि बसमा धनकुटासम्म जान्थ्यौं ।

भोलि जाँदा लगाउने लुगा जुत्ता तयारी गरेर आफु सुत्ने खाट छेउमा राखिन्थ्यो । कति बेला चार बज्ला भनेर खुसीले निन्द्रा पनि लाग्दैन थियो । गाउँ लग्ने कोसेली, आफुलार्इ चाहिने कपडा, नुन तेल बेसार चामल गुन्दु्रक आदि झोलामा प्याक गरिन्थ्यो । किनकि, अहिलेजस्तो सबैतिर गाडीको सुविधा थिएन । धनकुटाको हिले बजारसम्म गाडी जान्थ्यो । त्यँहादेखि पैदल जानुपथ्र्यो । करिब तीन चार दिनको बाटो ।

म त्यति बेला सात बर्षको थिएँ । गाँउमा गुणस्तर शिक्षा नभएर बुबाले हामीलार्इ तरार्इ ल्याउनु भएको थियो । म दाजु दिदीसँग तराई बस्थेँ । बिहान सबेरै उठेर कालो चिया थोरै र गुन्द्रुक भात खाएर गाडी चढ्न हतार गर्थें । हिले बजारमा गाडीबाट उत्रिएपछि हात्ती छाप चप्पल किन्न पसलतिर दिदिले लग्नु हुन्थ्यो ।

ट्रेकिङ्ग सुज भन्ने के थाहा त्यति बेला । त्यहि चप्पल लगाएर हाम्रो यात्रा सुरु हुन्थ्यो । गाउँ पुग्दा नपुग्दा पाइतालापट्टि चप्पल दुलो परिसक्थ्यो । देब्रेको दाहिने र दाहिनेको देब्रे खुट्टामा लगाएर गाउँ पुगिन्थ्यो । अहिलेजस्तो राम्रा राम्रा होटल, लजको सुविधा थिएन । साधारण होटल लजजस्तो घरमा बास बसिन्थ्यो ।

यात्राको क्रममा अन्य गाउँ जाने यात्रीहरुसँग भेट हुन्थ्यो । बेलुका एउटै ठाँउमा बाँस बस्ने साथी बाटोमा मिल्यो भने सँगै जाँउ है भन्दै बाटो काटिन्थ्यो । यात्राको क्रममा ढाकर अर्थात भरियावालासँग भेट हुन्थ्यो । उहाँहरु पनि हामी बास बस्ने ठाउमै जानु भयो भने उहाँहरुको साथ लागेर हिँडिन्थ्यो । ती हामीसँग भेट भएका यात्री र भरियाहरु र हामी सबैको गुन्द्रुक, नुन, तेल, चामल सङ्कलन गरेर खान पकाउनु हुन्थ्यो दाजु दिदिहरुले । कोहि दाउरा ल्याउने, कोहि पानी लिन जाने, कोहि आगो जोर्ने त कोहि भाँडोमा खरानी लगाउने गर्नु हुन्थ्यो । बास बसेको ठाँउमा आफै खाना पकाएर खाने चलन थियो ।

दाउरा र बासको गरी एक जनाले पाँच रुपैया तिर्नु पथ्र्यो । यात्रामा सधै मानिस बस्ने घर भेटिदैन थियो । त्यसैल कहिले गाईवस्तु बाँध्ने, धान पराल राख्ने कटेरो वा गोठमा पनि बास बस्नु पथ्र्यो । दिँउसो हिड्दा उकालोमा घामले पोल्छ भनेर राती एक बजेतिर जुनेली रातमा बेटरीवाला टर्चलाइट र राँकोको भरमा चौध पन्ध्र जान भएर हिँडिन्थ्यो । राती हिँड्दा लामो बाटा काटेको पत्तै हुँदैन थियो ।

बर्षमा एक चोटि त्यति लामा बाटो हिडेकाले होला भोलिपल्ट तिघ्रा सुनिन्थियो र बिहान कहि बेर पाइला चाल्न अलिक कठिनाइ हुन्थ्यो । गलेको बेला खुट्टा खाँदिएर ओरालो बाटो हिड्न त्यसै गाह्रो हुन्थ्यो । धनकुटे बिस्कुट, दालमोठ, पकाएको नुनिलो पिरो काजु र चिउरा खादै हिंडिन्थ्यो । गाँउमा पुगेर बुबाआमालाई भेटेपछि त्यो दुखाइ पनि केहि बेरमै बिर्सिइन्थ्यो ।

टिकाको पर्सिपल्ट तराई फर्किनुपथ्र्यो । जाँदाखेरिका दुखेका खुट्टाहरु निका भएका हुँदैन थिए । तराई आइपुग्दा गाउँघरको न्यास्रो लाग्थ्यो, धेरै दिनसम्म । तराई फर्किंदा बाआमा र आफन्तले बाटोमा चिया खानु भनेर दिएको पैसा चिया नखाई त्यहि पैसा हेरेर मन बुझाउने कोसिस गर्थें ।

म अहिले बाईस-पच्चिसको भएँ । तराई या सहरमा जति नै दुखसुख सहेर बसे पनि गाउँको सम्झना झनै आउँदोरहेछ । गाउँ भनेको गाउँ नै हुँदोरहेछ । गाँउको माया विछट्ट लाग्दोरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button