रमणीय मसानघाट र जनकपुरका ‘जरा–जरा’

श्रीरामसिंह बस्नेत
जनकपुरबाट काठमाडौं फर्केपछि

कुनै बेला काठमाडौंको पहिचान ‘मन्दिरै मन्दिरको सहर’ भन्ने थियो । तर, आज काठमाडौंले त्यो पहिचान गुमाईसकेको छ– मन्दिरभन्दा धेरै अग्ला कंक्रिट संरचनाको घना जंगलका कारण । त्यसैले अहिलेको काठमाडौंलाई चिनाउने नकारात्मक पहिचानहरु त धेरै छन् तर सकारात्मक पहिचान के हो त्यो भने सोच्नै पर्ने विषय भएको छ । अहिले मन्दिरै मन्दिरको सहर भन्न सकिने नेपालभरीकै एक मात्र सहर जनकपुरमात्रै हो ।

यो पँक्तिकार पहिलो पटक २०४१ सालको हिउँदमा जनकपुर घुम्न गएको थियो । त्यतिखेरको जनकपुर र आजको जनकपुरमा धेरै अन्तर आईसकेको छ । सबैभन्दा मुख्य कुरो त बिपी राजमार्ग, अत्याधुनिक विमानस्थलमा काठमाडौ–जनकपुर– काठमाडौं दैनिक चार, पाँच वटा हवाई उडान, प्रदेश नं २ को केन्द्र आदि कारणले जनकपुरको व्यस्तता अहिले निकै बढेको देखिन्छ । कर्मचारी आपूर्ति नभएर मात्र अड्किएको नयाँ रेल गुड्न थालेपछि जनकपुरको चहलपहल झन् बढ्ने निश्चित छ । २०२४ सालमा निर्मित जनकपुर विमानस्थलको अहिले पूरै कायापलट भएको छ । केही वर्ष अघिसम्म पानी परेको बेलामा यात्रु प्रतिक्षालयभरी जमेको पानीमा सर्पहरु सल्बलाईरहेका कारण मेचमाथि उभिएर खुट्टा कमाउँदै भगवान पुकारा गर्नु परेको अनुभव भुक्तभोगीहरु अहिले पनि सुनाउँछन् । अहिले त यो विमानस्थलले देशमै स्टिल स्ट्रक्चरको पहिलो टर्मिनल बन्ने सौभाग्य पाएको छ ।

ऐतिहासिक धरोहर
हिन्दु आदर्शमा राम र सीताको के स्थान छ, त्यो वयान गरिरहनुपर्ने विषय होइन । जनकपुरधाम त्यसैसँग जोडिएको छ । नेपालमा राणा शासन र भारतमा अँग्रेज शासन चलिरहेको बेला वि.सं. १९६७ मा भारतको हाल मध्यप्रदेश स्थित टिकमगढ राज्यकी महारानी वृषभानुले आफ्नो खर्चमा धर्तीपुत्री माता जानकीको श्रद्धामा बनाइदिएकी जानकी मन्दिर नेपालको मात्र होइन पूरै दक्षिण एसियाकै एक अत्यन्त महत्वूर्ण दर्शनीय स्थल हो । दरबार शैलीमा निर्मित यो भव्य मन्दिर हिन्दुहरुका लागि त आस्थाको केन्द्र हुने नै भयो गैर हिन्दुहरुका लागि पनि आकर्षणको केन्द्र रहिआएको छ । त्यतिखेर कम्पनी रुपैयाँ नौ लाखको लागतमा निर्माण भएकोले भारततीर यसलाई ‘नौलखा मन्दिर’ पनि भनिन्छ । कतिपय मानिसहरुमा राजा जनकले हलो जोत्दा जुन ठाउँबाट सीताजीको उत्पति भयो त्यहीँ नै यो मन्दिर बनेको हो भन्ने पनि भ्रम पाइन्छ । तर, जानकी मन्दिर सीता उत्पति भएको स्थान नभई राजा जनकको दरबार परिसरभित्र शिव धनु (प्रतिस्पर्धामा रामचन्द्रले भाँचेका) राखिएको विशेष स्थान हो । यहाँ वि.सं. १७१४ मा सन्त सुरकिशोरदासले सीताजीको भव्य मुर्ति फेला पारेकाले त्यो बेला देखि नै यो स्थान पवित्र मानिदै आएको चर्चा इतिहासमा पाइन्छ । त्यसकै आधारमा महारानी वृषभानुले यहाँ जानकी मन्दिर बनाएकी हुन् । मन्दिरसँगै उत्तरतर्फ सीता र रामको विवाह भएको वास्तविक स्थानमै पछि नेपाल सरकारले २०४०–४१ सालतिर विवाह मण्डप निर्माण गरेको हो । सीताजी उत्पत्ति भएको मानिदै आएको स्थान भने विहारको सीतामढीमा रहेको छ, जो नेपाल–भारत सीमाना भिट्टामोडबाट करिब ३५ किलोमिटर पर्दछ ।

रमणीय मसानघाट
मृतकको लास जलाउने मसानघाट भन्ने वित्तिकै मानिसको मनमा एकतमासको उराठता छाउँछ । कोही पनि घुम्ने रहरले मसान घाट जाँदैन । तर यसको ठिक उल्टो जनकपुरको मसानघाट भने यहाँको एक रमणीय दर्शनीय स्थल बनेको छ । प्रसिद्ध गंगासागरको दक्षिण किनारमा अवस्थित ‘स्वर्गद्धार’ नाम दिइएको यो मसानघाटमा सुन्दर बगैंचा, भूतनाथ (शिवजी) र कालभैरवको मन्दिर आदि छन् । साहित्य र जीवन दर्शनप्रति अलिकति पनि रुची राख्नेहरुका लागि भने उद्यानको परखालमा भित्र र बाहिर लेखिएका जीवन र जगत सम्बन्धी रोचक काव्यात्मक पँक्तिहरुले निकै लोभ्याउँछन् । सन्त कविरदेखि कवि हरिवंश राय बच्चनसम्मका पँक्तिहरुले यहाँ स्थान पाएका छन् । यद्यपि मैथिलीका महाकवि विद्यापतिरचित दोहा र कविशिरोमणि लेखनाथरचित मृत्युसम्बन्धी सर्वाधिक चर्चित कविता ‘कालमहिमा’ को पँक्ति नदेख्दा भने अलि अधुरो लाग्छ । जे होस्, श्मसानघाट पनि यति सुन्दर र रमणीय बनाउन सकिन्छ भन्ने अनुपम उदाहरण जनकपुरले प्रस्तुत गरेको छ । वास्तवमा यो उदाहरण नेपालमात्र होइन संसारभरकै मृत्यु संस्कारस्थलका लागि अनुकरणीय बन्न सक्छ ।

गंगा आरती
भारतको बनारस, हरिद्धारलगायतका प्रसिद्ध घाटहरुमा हरेक साँझ भव्य रुपमा गंगा आरती गर्ने चलन चलेपछि त्यसैलाई पछ्याउँदै नेपालमा पनि पशुपतिनाथमा हरेक साँझ वागमती आरती गर्ने चलन केही वर्षदेखि चलिरहेको छ । हिन्दुधर्मप्रति आस्थावानहरु यसप्रति निकै आकर्षित छन् । अझ साउन महिनाको हरेक सोमबार साँझ त निकै आकर्षक कार्यक्रम हुने गरेको छ, प्रत्यक्ष भक्ति संगीतका साथमा । तर, कोरोनाका कारण गत साउनमा भने त्यो आनन्दबाट भक्तजनहरु बञ्चित रहे ।

यस्तै सन्ध्या आरतीलाई पछ्याउँदै जनकपुरको प्रसिद्ध गंगासागरमा पनि हरेक साँझ ७ बजे आरती गर्ने चलन चलाईएको रहेछ । संगीतमय वातावरणमा विधिपूर्वक दीप प्रज्ज्वलन गरी गरिने यो कार्यक्रम करिव आधा घण्टाको हुन्छ । गर्मीको मौसममा साँझ तलाउको शीतल किनारमा बसेर आरती हेर्दा प्राप्त हुने अध्यात्मभावको आनन्द कसलाई मन नपर्ला र ?

ओझेलमा परेका तीन महान व्यक्तित्व
जुनसुकै ठाउँमा पुग्दा पनि आगन्तुकका आँखाले केही अपेक्षा गरेको हुन्छ, केही खोजेको हुन्छ । यसरी हेर्दा जनकपुरमा अपेक्षा गरेअनुसार नपाइने कुरा भनेको राजर्षी जनकको स्मारक हो । जसको सुनाम र सुयशबाट यो स्थानको नाम जनकपुर रहेको छ, उनै महान मिथिला नरेश जनक भने कता कता ओझेलमा परेको जस्तो अनुभूति हुँदो रहेछ । उनको एउटा सामान्य मन्दिर त छ तर त्यसले आगन्तुकका आँखा तान्दैनन् । जनकपुरमा सीता, राम,लक्ष्मण र हनुमानका मन्दिरहरु जताततै छन्, जो स्वभाविकै पनि हो । तर, राजा जनकलाई विश्वसमक्ष चिनाउने एउटा भव्य स्मारक जनकपुरमा कतै देख्न नपाउँदा खल्लो लाग्छ । राजा भएर पनि ऋषिमुनी जस्तो जीवन विताएका दार्शनिक राजा जनकलाई राम्ररी चिनाउने पहिलो कर्तव्य जनकपुरकै हो । राजर्षी जनकका नाममा केही शिक्षण संस्था त रहेछन् तर त्यहाँ पढ्ने र पढाउनेहरुलाई जनकको व्यक्तित्वसँग सुपरिचित गराउने कुनै ठोस गतिविधि हुने गरेको बुझिदैन ।

राजा जनकको दरबारमा आफ्नो प्रतिभाका कारण सम्मानित भएका दार्शनिक अष्टाबक्रको अस्तित्व पनि जनकपुरमा देख्न पाइदैन । अष्टावक्र राजा जनकसँगै जोडिएका महान दार्शनिक व्यक्तित्व हुन् । बिसौं शताब्दीका महान दार्शनिक ओशोले समेत उनको महत्व व्याख्या गर्दै ‘अष्टाबक्र गीता’ पुस्तकनै लेखेका छन् । त्यस्ता महान अष्टाबक्रप्रति न्याय गर्ने दायित्व पनि जनकपुरको काँघमा छ । उनको पनि एउटा स्मारक अपेक्षित छ । किनकि अष्टाबक्रबारे जानकारी राख्ने सामान्य मानिस पनि जनकपुर पुग्दा उसका आँखाले अष्टाबक्रलाई अवश्य खोज्ने छन् ।
जनकपुर भन्ने वित्तिकै मैथिली भाषीको बाहुल्यता भएको मिथिला प्रदेश भन्ने बुझिन्छ । अनि नेपालको दोस्रो व्यापक भाषा बन्ने सौभाग्य पाएको मैथिली भाषाका महाकवि विद्यापतिको सम्झना पनि स्वतः हुन्छ । तर विद्यापतिको जुन विराटता छ, त्यसलाई प्रतिविम्वित गर्ने ठोस स्मारक केही देखिदैन जनकपुर नगरीमा । पहिला मुरलीचौकको नामले परिचित चौकमा अहिले एक स्तम्भ बनाई विद्यापतिको प्रतिमा राखिएको छ र यही चौकलाई विद्यापति चौक भन्ने नयाँ नाम दिइएको छ । तर विद्यापतिको व्यक्तित्व र कृतित्वको दाँजोमा यति मात्र पर्याप्त छैन । यद्यपि सहर देखि बाहिर विद्यापतिको आफ्नै गाउँमा केही योजना प्रक्रियामा रहेको स्थानीय बताउँछन् ।

पुसमै झुलभित्र
नेपालका कुनै पनि सहर अपेक्षित रुपमा सफासुग्घर, हराभरा नहुनु एक साझा समस्या हो । जनकपुर सहरको पनि नियति त्यस्तै छ । यद्यपि विगतको दाँजोमा मुल सडकहरुमा फोहर केही कम देखिन्छन् । तर भित्रीबाटो, ढल, खुला नाली, गंगासागरबाहेकका अरु पोखरीहरु देख्दा दिगमिग् नै लाग्छ । त्यसैले पुस, माघमा पनि झुल नहाली सुत्न नसकिने रहेछ । मन्दिरहरु धेरै छन् तर अपेक्षित सफाईको अभावमा मन्दिर परिसरमा हुनुपर्ने पवित्रताको अनुभूति गर्न पाइदैन । नेपालमा सबैभन्दा धेरै तालभएको जिल्ला कास्की हो भने सबैभन्दा धेरै पोखरी भएको जिल्ला धनुषा हो । तर, नियमित सफाईको अभावमा पोखरीहरुमा सौन्दर्य छाउन सकेको देखिदैन । गंगासागर भने तुलनात्मकरुपमा सफै छ । बाह्रबिघा क्षेत्रफलको सार्वजनिक चौर जनकपुरको महत्वपूर्ण सम्पदा हो । अतिक्रमणको चपेटामा परी बाह्रै विघा जमीन कायम नभएपनि अहिले पनि सबैभन्दा ठूलो चौर यही नै हो । तर यहाँ थुप्रिएका फोहरले यो चौरको सदुपयोगभन्दा दुरुपयोग भईरहेको देखिन्छ ।

सिडीले भड्काएको हिंसा
मधेश आन्दोलनको क्रममा जनकपुर पनि हिंसामा लपेटिएको थियो । त्यस क्रममा कुत्सित मनसाय भएका केही मानिसहरुले एउटा सिडी तयार गरी यहाँका घर घर र पसलहरुमा व्यापक वितरण गरेछन् । सिडी हेर्दा केही पहाडी मुलका मानिसहरुले तराई मुलका मानिसहरुमाथि कुटपिट गरेका दृष्य रहेछन् । त्यो देखेपछि तराई मुलका मानिसहरु उत्तेजित भई पहाडीहरु माथि जाइलाग्न जाँदा बढी हिंसा हुन गएछ । तर धन्न ती दृष्यका अर्को सिडी बनाएर पहाडीलाई भड्काउने दुष्कर्म कसैले गरेन छन् । यदि त्यसो भएको भए अझ झन् बढि हिंसा हुने थियो भन्छन् अहिले जनकपुरबासीहरु । पहाडी र अस्थानीयमाथि जाइलाग्ने क्रम बढेका बेलामा कतिपय स्थानीय तराई मुलका मानिसहरुले नै जोखिम उठाएर भए पनि आफ्नो घरमा पहाडीहरुलाई संरक्षण दिई सकुशल सुरक्षा दिएको सुखद उदाहरण भुक्तभोगीहरु अहिले पनि सम्झन्छन् । दशकौंदेखि घरजम, दुःखजेलो गर्दै बसिआएका कतिपय पहाडीहरुलाई आन्दोलनको निहुँमा चलनचल्तीकोभन्दा आधाभन्दा पनि कम मोलमा घरजग्गा बेचेर पलायन हुन बाध्य पारिएको थियो भने त्यस्तो दवावलाई थेगेर बस्न सक्नेहरु अहिले प्रफुल्ल रहेका पनि यहाँ सुन्न पाइन्छ । मधेश आन्दोलनले धेरै पाठ सिकाएको छ, यदि सिक्ने हो भने ।

समग्रमा हेर्दा अहिले जनकपुर उज्ज्वल भविष्यतर्फ उन्मुख एक गौरवपूर्ण सहरको रुपमा विकसित भइरहेको देखिन्छ । यद्यपि भौतिक विकासका साथसाथै सामाजिक, आर्थिक विकासलाई उच्च प्राथमिकता दिनु जरुरी छ । त्यसका लागि केन्द्रदेखि स्थानीय स्तरसम्मको राजनीति नेताहरुका स्वार्थका लागि मात्र नभएर आमजनताको हितका लागि हुनु अपरिहार्य छ भने कर्मचारीतन्त्रले आफूलाई जनताको शासक होइन सेवक हुँ भन्ने भाव व्यवहारमा देखाउनु पनि त्यत्तिकै जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button