चीसो छ लाङटाङ तर हिउँ सौन्दर्य आहा ! छिमेको फोटोग्राफी झनै आहा !
सुरुमै भनिहालौं, फोटोहरु तल छन् है । हेर्न नछुटाउनु होला ।
अशोक सिलवाल
काठमाडौं ।
यता काठमाडौंमा जाडो छ आज । उता लाङटाङतिर झनै जाडो होला । तलैसम्म हिउँ पर्यो होला । स्थानीय लाङटाङी साथी छिमे तामाङलाई हेलो गरें ।
हिउँ पर्यो, त्यता ?
हो, परिरा’छ ।
कति बजेदेखि ?
एक बजेतिर हिउँ पर्न थालेको । अहिले पाँच बज्न लागेको छ र अहिलेसम्म पनि परिरहेकै छ ।
के छ त्यताको अरु खबर ?
हिउँ परेकोले सबैजना आ–आफ्ना घरभित्रै बसिरहेका छौं । एकदम चिसो छ । बाहिरको टेम्प्रेरचर माइनस ८ डिग्री छ होला । हुरी-बतास पनि लागेकोले आकाश पनि डम्मै छ, अहिलेसम्म ।
अनि चौंरीहरु त ?
चौंरीहरु विन्टर सिजनमा त तल रिभरसाइड, घोडातबेलातिर जान्छ । कुनै कुनै यतैतिर छ । म फोटोहरु पनि पठाउँछु नि, तिनीहरुको । तिनीहरु यहीँ बाहिरतिर छन् ।
बुवाआमाको के छ ?
उहाँहरु पनि घरभित्रै आगो तापेर बसिरहनु भएको छ ।
त्यो ठाउँको नाम मुन्डु होइन, जहाँ अहिले तपाईं जहाँ हुनुहुन्छ ?
हो । र, लाङटाङ क्षेत्रका सबै गाउँहरुको हालखबर यही हो ।’
घाम लागेको बेला रमाइलो कि हिउँ परेको बेला ?
दुईटै आ–आफ्नै पाराको रमाइलो छ ।
जस्तो ?
जस्तै, कहिलेकहिले हिउँ पर्दा आनन्दै हुन्छ । हिउँमा रमाइन्छ । हैन ? तर, सधैं पर्दा चाहिँ गाह्रो नै हुन्छ, लाइफस्टाइल नै । किनभने, काम पनि गर्न पर्ने हुन्छ, त्यही भएर दाई ।
आज रमाइलो छ ?
सबै जना हिउँको पर्खाइमा थियो । सबैले हिउँ पर्न पर्छ भनिरा’छ किनभने समय अनुसार पानी पर्नुपर्ने बेला पानी परिदियो, हिउँ पर्नुपर्ने बेला हिउँ परिदियो, घाम लाग्नुपर्ने बेला घाम लागिदियो भने वातावरण पनि एकदम राम्रो हुन्छ ।
ठिक कुरो ।
घाम लागेर बाटोतिर धुलैधुलो थियो । त्यसले मान्छेलाई रुघाखोकी लाग्छ । हिउँ परेपछि धुलो हट्छ र रुघाखोकी लाग्दैन भन्ने भनाई पनि छ । अर्को के छ भने, क्रिसमस र न्यु इयरहरुमा हिउँ पर्नु पर्छ, त्यो बिना क्रिसमस अधुरो हुन्छ । त्यस्तो भन्छन् विदेशीहरु । हाम्रो पनि एक हप्तापछि ल्होसार छ । त्यो भन्दा अगाडि चाहिँ हिउँ पर्नैपर्छ भन्ने कुरै छ के । ल्होसारअघि हिउँ परेन भने सुख र शान्ति पनि हुँदैन भन्ने भनाई पनि छ । र, हिउँ पर्दियो । राम्रो भो ।
साथी छिमेले यति मात्र भनेनन्, असाध्यैै मोहक तस्विरहरु पनि पठाए । चीसो छ लाङटाङ तर उसको हिउँ सौन्दर्य आहा ! छिमेको फोटोग्राफी झनै आहा !