कमालको कपिलवस्तु ! तर जे गर्छ ‘तरै’ले गर्छ
इन्दिरा देवकोटा
प्रदेश नम्वर ५ लुम्बिनी प्रदेश, महेन्द्र राजमार्ग वा पूर्व-पश्चिम राजमार्गको बुटवल-नेपालगञ्ज सडकखण्डमा अवस्थित कपिलवस्तु जिल्ला सुगम ठाउँको दुर्गम जिल्ला हो । यसको पूर्वी सीमाना रूपन्देही पश्चिम, दाङ, उत्तर अर्घाखाँची अनि दक्षिण भारतको उत्तर प्रदेशसँग जोडिएको छ । राजा शुद्धोदनको राजधानी समेत रहेको यो जिल्ला विकासका दृष्टिकोमा भने धेरै पछाडि छ । विकासका पूर्वाधार मानिने शिक्षा, स्वास्थ्य, संचार, खानेपानी, यातायात र विद्युत अति आवश्यक सेवा सुविधासमेत सहज रूपमा प्राप्त गर्न सकेका छैनौ ।
६ नगरपालिका,४ गाउँपालिका रहेको यस जिल्लामा २८६३३७ महिला र २८५५९९ पुरूष रहेका छन् । ४ नम्वर तौलिहवा सडकखण्डको २१ किमी दक्षिणमा अवस्थित महामानव गौतमबुद्धको क्रिडास्थल तिलौराकोट कपिलवस्तु नगरपालिकामा पर्दछ । २०३९ सालमा कपिलवस्तु नगरपालिकाको नामाकरण भएको यो ठाउँ जिल्लाको सदरमुकाम तौलिहवा हो । धेरैजसो कार्यालय सदरमुकाम तौलिहवामा छन् । यो पुरानो न पा हुँदाहुदै पनि विकासमा भने निकै पछि रहेको छ । अव्यवस्थित सहरिकरणको कारण भर्खर विकासमा बामे सर्दै छ । यहॉको दक्षिण जति गयो, त्यति नै विकासमा एकदमै पछि छ । तौलिहवा सदरमुकामबाट जिल्ला बाहिर जान र बाहिरबाट आउन यातायातको असुविधा छ । तौलिहवादेखि लुम्बिनी, भैरहवा जोडिएको छ भने उत्तरमा चार नम्बर जितपुर सडकको महेन्द्र राजमार्गमा जोडिएको छ । लामो दुरीका खासै सवारी नचल्ने यस ठाउँमा स्वास्थ्य क्षेत्रको पनि खासै विकास भएको छैन । राम्रो उपचार र उच्च शिक्षाको लागि जिल्ला बाहिर र भारतको बिभिन्न ठाउँमा जानेको संख्या पनि प्रसस्तै छ ।
कपिलवस्तु नगरपालिकाभित्र ऐतिहासिक तथा पुरातात्विक स्थानिय र राष्ट्रिय गौरवको महत्व बोकेका थुप्रै ठाउँहरू छन् । यहॉ बर्षेनि हजारौको संख्यामा पर्यटक आउने र अवलोकन गर्ने गर्दछन् । विडम्बना के छ भने पर्यटक बस्ने राम्रो ब्यवस्था समेत छैन । यदि राष्ट्रिय गौरवका सम्पत्तिको विकास गरेर पर्यटक टिकाउन सके आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ । संघिय संरचनापछिको संरचना अनुसार कपिलवस्तु नगरपालिकाभित्र ७ वटा निकै महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक स्थल छन् ।
१. निग्रोध्रामः यो बुद्धकालिन समयमा महामानव गौतम बुद्धले बुद्धत्व प्राप्त गरेर पिता शुद्धोदनको अनेकौ आग्रहपछि आफ्नो परिवारसँग भेट गरेको ठाउँ हो, जहाँ वरैवरको बगैचा रहेको भनाइ छ । यस ठाउँलाई कुदानको नामले पनि चिन्न सकिन्छ ।
२. तिलौराकोटः राजा शुद्धोदनको राजधानी तथा सिद्धार्थ गौतमले आफ्नो २८ वर्ष बिताएको र छोरा राहुल र धर्म पत्नी यशोधरालाई मात्र होइन, माता पिता र राज सुख समेत त्याग गरी शान्तिको खोजिमा हिडेको ठाउँ ।
३. गोटिहवाः जहाँ कर्कुचान्द बुद्ध जन्मेका थिए । यो ठाउँ तौलिहवादेखि ४ किमी दक्षिण पश्चिममा अवस्थित छ । यहॉ पनि अशोक पिलर रहेको छ ।
४. सगरहवाः यहॉ लामो ताल छ, जसको नाम लम्बुसागर भनेर चिनिन्छ । जहाँ सतहत्तर हजार शाक्यहरु मारिएका थिए भनिन्छ । यसलाई धर्म नासिने डरले शाक्यहरूको हत्या गरेको ठाउँको रूपमा इतिहासमा लेखिएको छ ।
५. निग्लिहवाः कनकमुनी बुद्ध जन्मेको यो ठाउँ पनि निकै महत्वपूर्ण मानिन्छ ।
६. धम्नीहवाः यहॉ जोड़ी स्तुपा छन् । शुद्धोदन र उनकी पत्नी मायादेवीको यो स्तुपा निकै अनौठो छ ।
७. जगदीशपुर तालः यो जखिरा तालको नामले पनि चिनिन्छ । यसको क्षेत्रफल १५७ हेक्टर रहेको छ । यहॉ विभिन्न देशबाट जाडो याममा थुप्रै चराहरू आउने गर्छन् । साइवेरिया, चाइना, रसिया, मंगोलिया, तुर्कमेनिस्तान, आदि ठाउँबाट आएका चराहरू फेब्रुअरीसम्म बस्ने गर्दछन् । यो संरक्षण क्षेत्र भएकोले चरा मार्न निषेध गरिएको छ । गर्मी याममा यहॉ बोटिङको ब्यवस्था समेत रहेको यो ठाउँ अति रमणिय छ ।
कपिलवस्तु जिल्ला विकासमा पछि परे पनि ऐतिहासिक तथा धार्मिक महत्वका क्षेत्रमा भने निकै सम्पन्न छ । तौलिहवामा अवस्थित तौलेश्वरनाथको मन्दिर हिन्दुहरूको आस्थाको केन्द्र हो । यहॉ शिवरात्री श्रावणी मेलामा अति भिड हुन्छ । यस समयमा रातभरी रामघाट र लक्ष्मणघाट तटमा भजन कृतन गरी बिहान गंगास्नान गरेर २र३ बजेबाट यस शिव मन्दिरमा जल चढाउनेको घुइचो हुने गर्दछ । आस्थाको केन्द्र मानिएको यस मन्दिरमा भक्तको मनोकामना पुरा हुने विश्वास समेत रहेको छ ।
यसबाहेक यहॉ तिलौराकोट माता, समयमाता, कालीमाता, राधाकृष्ण मंदिर छन् भने उत्तरमा लक्ष्मणघाट धाम, कपिलधाम, मधुवनधाम, सुपादेउराली मन्दिर रहेका छन् । कपिलवस्तुको पश्चिमी सिमानामा पर्ने शिवगढी मन्दिरले यस जिल्लाको महत्व झनै बढाएको छ । यहॉ प्रत्येक शिवरात्रीमा भव्यमेला र दर्शनार्थीको भिड लाग्ने गर्दछ ।
कपिलवस्तुमा विशेष गरी हिन्दु, मुस्लिम, क्रिस्चियन धर्मावलम्बीको बसोबास रहेको छ भने यहॉ नेपाली, अवधि, थारू, उर्दू भाषाको प्रयोग हुने गर्दछ ।
(देवकोटा स्थानीय शिक्षालयमा जनसँख्या शिक्षक छिन् ।)