पशुपति सम्झनाः हराइने हो कि भनेर सारै डर लाग्थ्यो

प्रा.डा. वीणा पौड्याल

पशुपतिनाथको मन्दिर दर्शन गर्न, साधुसन्तसँग संगत गर्न र आर्यघाटमा अन्तिम दिन पर्खिरहेका आफन्तसँग भेटन धेरैपल्ट पशुपति क्षेत्र पुगेको सम्झना छ । पहिलोपल्ट पशुपतिनाथ पुगेको दिनको ठ्याक्कै सम्झना छैन, कसैले बोकेर लगेको जस्तो लाग्छ । हरे राम गर्ने कुन्जमा पनि आफन्तसँग जाने गरेको सम्झना आउँछ ।

शिवरात्री आउनु भन्दा २–४ दिन पहिला बुवा रामराज पौड्यालसँग हामी केटाकेटी पशुपति क्षेत्र बुवाको सरकारी गाडीमा गएको रमाइलो सम्झना छ । त्यहाँ अस्थायी रुपमा हालिएका पालहरुमध्ये सूचना विभाग र रेडक्रसको स्वास्थ्यसम्बन्धि सेवा उपलब्ध गराउने पालमा हाम्रो बुवा पसेर शिवरात्रीको बेला गर्नुपर्ने कार्यको निर्देशन दिनु हुन्थ्यो । शिवरात्रीको बेला सूचना विभागले नेपाली र हिन्दी भाषामा पशुपति क्षेत्र र नेपाल परिचयबारे पुस्तिका प्रकाशित गरेको हुन्थ्यो । भारतीय तीर्थयात्रीहरुलाई पशुपति मन्दिर र राजारानीको पोस्टर र पुस्तकहरु निशुल्क बाँड्ने चलन थियो । सानो छँदा ती पुस्तक र पोस्टरभन्दा मन्दिरबाहिर स–साना होटेलमा पकाएको पुरी तरकारी र जुलेबी खान रमाइलो लाग्दथ्यो । शिवरात्रीको बेला बिभिन्न खेलौना, चुरा, टीका, पकाउने र खाने भाडाहरुको अस्थायी पसल खुलेको हुन्थ्यो, त्यहाँ केहि सामान किन्न पाउँदा सारै रमाइलो लाग्दथ्यो ।

कुपण्डोल घरबाट पशुपति जाने दिन आमाले केहि पैसा हामीलाई दिनुहुन्थ्यो । त्यही पैसाले खेल्नेकुरा र चुराहरु किन्न पाउँदा सारै रमाइलो लाग्दथ्यो । आमाले दिएको पैसाले मालताल किन्ने र बुवाले पुरी, तरकारी, जेरी र चिनी मीठाइ खुवाउने भएकोले शिवरात्री पर्व नजिकै आएपछि सारै रमाइलो लाग्दथ्यो ।

केही समयअघि शोधार्थीहरुसँग पौड्याल ।

शिवरात्रिको बेला ठाउँठाउँमा माइक राखेर हराएको र पाइएको मानिसको नामहरु फुकिराखेको हुन्थ्यो । आफू पनि हराइने हो कि भनेर सारै डर लाग्थ्यो, बुवा जता गए पनि पछिपछि लाग्थ्यौं ।

एकपल्ट बुवाको अमेरिकन साथीहरु शिवरात्रीमा नेपाल घूम्न आएका थिए । ५१–५२ बर्ष पहिले बुवाले अमेरिकाको बोष्टनको कलेजबाट पत्रकारिता बिषयमा व्यचलर गर्नुभएको थियो । त्यहि बेलाको साथीहरु आएको बेला पशुपति आर्यघाटपारी बुवा, आमासँग खिचेको फोटो यहाँ सेयर गर्दा रमाइलो लागेको छ ।

बुवा रामराज पौड्याल र आमा मेधादेवीसँग पौड्याल । पशुपति, आर्यघाटपारी, वि. सं. २०२१ ।

बुवाको साथी डक्टर रामभद्र अडिकाका बुवा पशुपतिनाथ मन्दिरको मूल भट्ट हुनुहुन्थ्यो । त्यसैले बेला बेलामा हामी पशुपति मन्दिरको दक्षिणतर्फ रहेको वहाँको निवासमा जान्थ्यौँ । त्यहाँ भट्ट बुवाले सिंगो नरिबल, स्याउ दिनुहुन्थ्यो, त्यो बेला सारै रमाईलो लाग्दथ्यो । डा. रामभद्र अडिका अंकलको घर बत्तिसपुतली पनि हामी जान्थ्यौं ।

यसरी बाल्यकालको पशुपति सम्झना सारै मधुर रह्यो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button