दशैँ धनीका घरमा बियर-मासु, गरिबका घरमा आँशु नबनोस्

त्यो बेलाको दशैँ

शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ

बाल्यकाल यसै रमाइलो, चाडपर्व झनै रमाइलो । पारिवारिक दायित्व लिन नपर्ने, बाआमाले अह्राएको एक लगनी काम सकेपछि साना भुराभुरीलाई त लगभग फुर्सद नै हुन्छ । यसै पनि परिवारको कान्छो सन्तान, खेलेरै समय बिताउँदा पनि खासै आपत्ति त हुन्थेन तरपनि आमाले अह्राएको जिम्मेवारी राम्रै पूरा गर्थेँ । उबेला अहिले जस्तो ‘होमवर्क’को तनाव पनि खासै हुँदैनथ्यो। न त हिजोआज झैँ कुना पसेर घोत्लिन मोबाइल साथमा थियो । पिङ खेल्न पालो पर्खिनेहरुको भने लामै लाइन हुन्थ्यो। रेडियोमा मालसि धुन बज्नथालेपछि साँच्चै दशैँ आएको आभास हुन्थ्यो।

बारीबाट मकै बाली झिकेपछि टाढासम्म देखिने उघारो/ खुल्ला दृश्यले कम्ति रमाइलो हुँदैनथ्यो गाउँघर। रातो माटोले घर लिपेर चिटिक्क पारिएको हुन्थ्यो। दिउँसोको समय अन्य काममा खर्चिनु पर्नाले होला, रातपरेपछि च्युरा तयार पार्न ढिकी कुटेको आवाजले दशैँ अझै आँगनमै आइपुगे झैँ लाग्थ्यो। अग्रज दाजुहरु लिङ्गे पिङ बनाउन बाँसको खोजीमा हिँड्नुहुन्थ्यो भने कोही खर(बाबियो) व्यवस्थापनका लागि घरघरमा पस्नुहुन्थ्यो ।

अहिलेजस्तो बजारमा छ्यास्छ्यास्ती रेडिमेड लुगा पाइँदैनथ्यो। दोकानमा कपडा किनेर टेलरमा सिउन दिने चलन थियो जसका कारण कपडा किन्ने अनि लुगा सिउने ठाउँमा पनि घुइँचो हुन्थ्यो। कामदारहरुलाई भ्याइनभ्याइ हुन्थ्यो। यो त भयो, बजार छेउछाउका कुरा। हाम्रातिर भने गाउँकै बैजु दाइले लुगा सिउनुहुन्थ्यो , बालीप्रथामा । ती दाइलाई पनि गाउँभरिकाको लुगा सिउन भ्याइनभ्याइ हुन्थ्यो। दशैँको सुन्दर पक्ष नयाँ लुगा पनि हो तर हामीले दशैँमा कहिल्यै नयाँ लुगा लाएनौँ । खाँचो हुँदा किन्ने तर दशैँमा नयाँ लुगा किन्ने चलन थिएन, यसमा दाजुदिदीका मनका कुरा त म के जानूँ र ! तर मलाई भने दशैँमा नयाँ लुगा नपाउँदा कुनै चित्त दुखाइ थिएन । मलाई चैँ दशैँको बेला आलुको पाङ्ग्रा, घ्यु खान र‌ पिङ खेल्नको लोभ लाग्थ्यो ।

त्योबेला, त्यस टोलमा शाकाहारी घर हाम्रो मात्रै थियो। “मासु नखानेलाई के दशैँ ?” व्यङ्ग्यात्मक टिप्पणी गर्नुहुन्थ्यो कसै कसैले कि ,जीवहत्या नगरे त दशैँ दशैँजस्तै हुँदैन । मलाई भने आफू बुझ्ने उमेरदेखि जीवहत्या पटक्कै मन पर्दैनथ्यो। “उनीहरुको पनि ज्यान हो नि! कसरी मारेर खान सकेको होला? मान्छेले पशुपंक्षीमाथि किन यसरी शासन गरेका होलान् ?” बालमस्तिष्कले मनमनै प्रश्न गर्थ्यो । सप्तमीदेखि नवमीसम्म घरबाहिर निस्किनु नपरे हुन्थ्योजस्तो लाग्थ्यो । गाई/ भैँसी चराउन, भैँसीलाई पानी खुवाउन/ आहाल बसाउन ‘त्यस्ता’ ठाउँको छेउछाउ नपुगी सुखै थिएन।

आफ्नै बारीका कान्लामा पसाएको केराको घरीबाट काइँयो छुट्याएर आमाले राजवृक्ष, धुर्सुलको पातले बेरेर बोरामा गुम्स्याएर राख्नुहुन्थ्यो । गाई जङ्गल लैजाँदा राजववृक्षको स्याउला भाँचेर ल्याउने काम प्रायजसो मै गर्थेँ । चार पाँच दिनमा केरा पाकेर पहेँलै भएको देख्दा कम्ति खुशी लाग्दैनथ्यो । त्यसरी पाकेका केरा धेरै दिनसम्म खानयोग्य हुन्थ्यो। बाहिर बोक्रा कालै भइसक्दा पनि भित्र सद्दे हुन्थ्यो। आफ्नै खेतमा फलेका धान ढिकीमा कुटेर बनाइएका च्युरा, दारको ठेकीमा जमाएको दहीसँग मालभोग, झप्री केरा मुछेर खाँदाको स्वादको वर्णन गरिसाध्य छैन। आहा!

घरदेखि अलि पर चौरमा पिङ हालेको हुन्थ्यो। ठूलाले मच्चिएर खेल्थे धेरै बेरसम्म। बसेर खेल्ने साना साना नानीबाबूको खासै पालो नआउने । आएपनि एकैछिन खेलाएर झार्दिनहुन्थ्यो, दाइ दिदीहरुले । घरमा आएर आमासँग गुनासो गर्थेँ, अघाउन्जेल पिङ खेल्न नपाएको कुरा। बिहानै गएर खेल्न भन्नुहुन्थ्यो, एक दुई दिन त बिहानै गएर खेलेँ पनि। तर एक्लै खेल्दा रमाइलो लागेन। खेल्न नपाएपनि मान्छेको भिडभाड हेर्नै रमाइलो लाग्दो रहेछ। अहिले जस्तो हात हातमा मोबाइल हुन्थ्यो भने त्यस बेलाका सबै दृश्य क्यामेरामा कैद गरेर राख्न पाए! भन्ने लाग्छ।

नौ दिनसम्म विभिन्न नामका देवीको पूजाआराधना त सबैले गर्छन् नै । करेसो जोडिएका छिमेकीकोमा देवी पूजास्थललाई वरिपरिबाट मान्द्रोले घेरेको देख्दा अलि अनौठो लाग्थ्यो। पछि बुझ्दा महिलाले हेर्न नमिल्ने बनाएको रहेछ। किन हेर्न नहुने रहेछ भन्ने कुराको उत्तर खोजिनँ ।

दशमीको दिन मामाघर गएर टिका जमरा लाइन्थ्यो। प्राप्त दक्षिणा आमालाई राख्न दिन्थेँ । कुनै सालको दक्षिणाले कापी, चाइनिज कलम किन्थेँ । त्यो बेला सुरुसुरुमा चाइनिज कलम प्रयोगकर्ता सम्पन्न वर्गमा गनिन्थे।

उबेला आफ्नै बारीमा उब्जाएका, रसायनिक मल नहालेका आलुको स्वादै अर्के (मीठो) थियो। अहिले त आलुको पनि खासै चासो लाग्दैन। जथाभावी रसायनिक मलको प्रयोगले खानेकुरा खाइसाध्य छैनन् । पिङ पनि कतैकतै हालेको हुन्छ, आफूलाई मच्चाएर खेल्ने ढङ्ग छैन, बसेर खेल्न अप्ठेरो लाग्छ।”‘दशमीको दिन त भुइँ छोड्नुपर्छ” , भन्नुहुन्थ्यो आमाले त्यसैले टोलमा कता हालेको छ पिङ , खोजी गरेर खेलिन्थ्यो। दुई चार वर्षअघिसम्म। आजकल त त्यो पनि जाँगर चल्न छोड्यो ।

पहिले पहिले दशैँको छुट्टै रौनक थियो। सबैका अनुहारमा खुशी देखिन्थ्यो। दशैँ कहिले आउला भनेर छुट्टै कौतुहलता हुन्थ्यो सबैमा। विडम्बना! हिजोआज चाडपर्वले मानिसलाई खुशी हैन तनाव दिइरहेको छ‌। हुनेखानेले चाडपर्व रहरले मनाएका छन् भने हुँदाखानेले करले मनाउन बाध्य हुनुपरेको छ। देशमा रोजगारीको अवसर छैन। महङ्गी आकाशिएको छ । देशको अर्थतन्त्र ओरालो लाग्दो छ , ब्याप्त भ्रष्टाचार, चरम आर्थिक शोषणका कारण युवायुवतीले देशमा भविष्य देख्न छोडेका छन्। रोजगारीका लागि विदेशिएका सन्तान बाकसमा फर्किने क्रम दिनानुदिन बढिरहेको छ। विश्वमै आतङ्कवाद मौलाउँदो छ ।भर्खरैको इजरायल घटना आँखावरपर झल्झली आइरहेको छ। देशै रोइरहेको अवस्था छ। यस्तोमा के दशैँ ? के तिहार ?? के छठ ???

भलै, अन्यायमाथि न्याय, असत्यमाथि सत्यको विजयको प्रतिक मानिने दशैँ; धनीका घरमा बियर र मासु गरिबका घरमा आँशु नबनोस्। सबैमा शुभकामना !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button