हजुरआमाः विकट गाउँ, सुगम भावना

सरिता पराजुली

हाम्रो गाउँ राजधानीबाट नजिकै भए पनि धेरै विकट । सहर जानु पर्यो भने पनि दुइ घण्टा लाग्थ्यो हिँडेर । मोटर बाटो नभएकोले गर्दा यो गाँउको विकास भएको थिएन । त्यहीं गाँउमा जन्म भएको थियो मेरो ।

मेरो बूवाको चार दाजुभाइ । आमाहरु, छोराछोरी सबै जना एउटै घरमा बस्ने । त्यही भएर हाम्रो परिवार ठूलो थियो । मैले हजुरबुबा देखिन । उहाँ म जन्मनुभन्दा पहिला बितिसक्नु भएको रहेछ । हजुर बुवा बितेपछि हजुर आमालाइ सबै परिवारको जिम्मवारी थपियो । हाम्रो हजुरआमा एकदम फुर्तिलो बलियो पनि हुनुहुन्थ्यो ।घरका परिवार मिलाएर राख्नु भयको थियो । हाम्रो परिवार मिलेको देखेर गाउँका मानिसहरू रिस गर्थे ।

हजुरआमाले नै कामको भागबण्डा गरिदिनु हुन्थ्यो । सबै जना आफ्नो आफ्नो भागमा परेको काम गर्नु हुन्थ्यो । हाम्रो खेतीपाती ठूलो थियो । सधैंजसो खेतीपातीमै बिजि । आमाहरु र बुवाहरुको समय खेतीमै बित्थ्यो । त्यति मात्र कहाँ हो र, बेलुकी घर आएपछि पनि आमाहरुले ढिकीमा धान कुट्नु पर्नी । बुवाहरूले गाईबस्तुको काम गर्नु पर्नी ।

बेलुकीको खाना हजुरआमाले बाइदिनु हुन्थ्यो । हजुर आमाले बनाएको खाना धेरै मिठो हुन्थ्यो । कहिल्यै फुर्सद नहुने आमाहरुलाई । अनुहारको पसिना पुछ्दै बाहिर दलनको ढिकीमा धान कुत्न थाल्नुहुन्थ्यो । कहिलेकाहीँ आधा रात पनि हुन्थ्यो । मलाई आमालेयता नआउ लाग्छ, आगनमा खेल भन्नु हुन्थ्यो । मलाई भने आमाहरुको नजिकै गएर बस्न मन लाग्ने । दिउसो आमासंग बस्न नपाउने भएर होला ।

आमाले भनेको कुरा मान्दै म आगनमा उफ्री उफ्री एक्लै खेल्थेँ । घरमा सानो म मात्र थिएँ । आमाहरु रमाइला कुराहरू गर्नु हुन्थ्यो । उहाँहरुले गरेको कुरा मलाई मन पर्थ्यो । ढीकीमा धान कुटेको पनि हेर्न मज्जा लाग्थ्यो । अर्को कुरा मलाई रमाइलो लाग्ने भनेको आमाहरुले करुवाको टुप्पोबाट आँ गरेर कलकल पनि पिएको । म त्यो दृश्य हेरिरहन्थेँ ।

श्रावण महिना थियो । एक दिनको कुरा हो, आमाहरु ढिकिमा धान कुट्दै हुनुहुन्थ्यो । अपरिचित मानिस हाम्रो घरको पिडिमा आएर बस्नु हुन्छ । म त्यो मानिस हेरिरहन्छु । म आफ्नै तालमा खेलिरहेँ । म सानो हुनाले केही सोच्न सकिनँ । मेरो ठूलो आमाले त्यो मानिसलार्इ सोध्नु भयो, तिमी कहाँबाट आएको भनेर । उसले भन्यो, मेरो नाम कान्छा हो, म तपाइँकी छोरीले मलाई यहाँ पठाउन भएको । फेरि साइँली आमाले सोध्नु भयो, किन रहेछ ?

त्यो मानिसले जवाफ दियो, मलाई आँप लिन पठाउन भएको ।

फेरि मेरो कान्छी आमाले भन्नुभयो, यहाँ आपको बोट छरे भन्दै आमाहरु एकैचोटि हाँस्नु भयो ।

भित्र हजुरआमा खाना बनाउँदै हुनुहुन्थ्यो । सबै कुरा सुनेर बस्नु भएको रहेछ । सुन्नेबितिकै बाहिर आउनु भयो र आमाहरुको अगाडि उभिएर हेर त यता आँपको बोट, आफ्नो हात छातीमा ठोक्दै भन्नुभयो । म नै हुँ, मेरी छोरीको लागि आँपको बोट ।

हजुरआमाको कुरा सुनेर आमाहरुको अनुहार रातो रातो भयो । एकअर्काप्रति चुपचाप लागेर मुख हेरा हेर गर्नुभयो । मेरो सानो उमेर भए पनि हजुरआमाको कुरा सुनेर मलाई धेरै खुसी लाग्यो । मैले हजुर आमालाइ हेरिरहेँ । मनमनै सोचेँ, यो समयमा पनि हजुरआमाको कस्तो राम्रो सोच ।

छोराछोरी बराबरी भन्ने भावना । छोरीप्रति देखाउनु भएको सहानभुति । कति असल कति प्यारो मेरो हजुरआमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button